२१ मंसिर २०७९, बुधबार

पुस्तान्तरणको मार्ग कोर्दै रूपान्तरित कांग्रेस


एकराज पाठक/रासस
११ पुष २०७८, आईतवार


बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनलाई अमेरिकी एबिसी टेलिभिजनसँगको अन्तर्वार्तामा पत्रकार डेभिड मुइरले सोधे, अर्को कार्यकालको राष्ट्रपति पदमा उठ्ने यहाँको योजना छ ? बाइडेनको जवाफ थियो, उठ्छु, किन नउठ्नुरु म अहिले जत्तिकै सक्रिय रहेँ भने अर्थात् स्वास्थ्यले साथ दियो भने उठ्छु। राष्ट्रपति बाइडेन अबका केही महिनामा ८० वर्षमा उक्लिने तयारीमा छन्। त्यहाँको अर्को निर्वाचन सन् २०२४ मा हुन्छ र त्यतिबेला उनले ८४ वर्ष लाग्ने तरखर गर्दै हुन्छन् ।

उता गत वर्ष मात्र राजनीतिक जीवनबाट विश्राम लिएका मलेसियाका निवर्तमान प्रधानमन्त्री ९६ वर्षीय महाथीर मोहम्मदले ९४ वर्षको उमेरमा प्रधानमन्त्रीको सपथ लिएका थिए । महाथीर मोहम्मद एक सामान्य राजनीतिकर्मी नभएर अहिलेको मलेसिया बनाउने व्यक्तिको नाम हो । त्यसबेला मेलेसिया र बाहिरी विश्वमा बहस नै भयो कि ९४ वर्षमा पनि किन मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा जानुपर्‍यो ? राजनीतिमा उमेरको बहस यसैगरी समयसमयमा देश विशेषमा उठ्छ र हराउँछ । पाँच वर्षअघिको १३औं महाधिवेशनमा नेपाली कांग्रेसका एक तिहाइ जति महाधिवेशन प्रतिनिधि आएका थिए ३० वर्ष हाराहारीका । त्यसकारण थियो कांग्रेसका भ्रातृ संगठनको महाधिवेशन लामो समयदेखि रोकिनु । नेपाल विद्यार्थी संघ, नेपाल तरुण दललगायत सबैजसो भ्रातृ संगठनका सम्मेलन, महाधिवेशन ठप्प भएपछि कांग्रेसका युवा कहाँ जाने ? पार्टीको महाधिवेशन सुरु भयो, उनीहरू पनि त्यतै लागे । चुनावमा उठे, निर्वाचित भएर आए । यसरी अघिल्लो महाधिवेशनमा इतिहासमै सबैभन्दा बढी युवा चुनिएर आए भनिएको थियो । यता नेपाली कांग्रेसमा सशक्त र युवा छविका नेता गगन थापाको महामन्त्री उठ्ने तयारी थियो । त्यस बेलाको नारा नै थियो–युवाले युवालाई छान्नुपर्छ, बुढापाकाको मात्र भनिएको कांग्रेसलाई अब युवा वर्गमा पुस्तान्तरण गर्दै लैजानुपर्छ । यही आशामा रहेका थापाको परिणाम भने त्यस्तो आएन । महामन्त्रीमा थापाले ६ सयभन्दा केही बढी मत मात्र पाए ।

अघिल्लो जस्तो रहेन कांग्रेसको १४औं महाधिवेशन । अहिले भने यसले छानीछानी युवा रोजेको छ । अघिल्लोमा पार्टीका महाधिवेशन प्रतिनिधि मात्र युवा छनोट गरेको कांग्रेसले अहिले केन्द्रीय समिति र पदाधिकारीमै युवाको मूल फुटायो । काठमाडौंमा कुन्दनराज काफ्ले तथा अजयबाबु शिवाकोटीदेखि उता कर्णालीमा बद्री पाण्डेसम्म छुटेका छैनन् । यता जीवन परियारदेखि मधेसमा मुक्ताकुमारी सम्मलाई यो महाधिवेशनले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म चुनेको छ । अघिल्लो महाधिवेशनमा युवा प्रतिनिधिले नै युवा छान्न नसकेको भनिएको बेजो अहिलेका युवाले उठाएका छन् भन्दा हुन्छ । बुढापाकाको भनिएको नेपालको पुरानो प्रजातान्त्रिक पार्टी कांग्रेस अब भने युवामय बनेको छ ।

बुढापाकाको पार्टी भनिएको कांग्रेसमा युवापुस्ताको रूपान्तरणको बहस हिजो निकै चल्यो । यो पछिल्लो महाधिवेशनको परिणाम हेर्दा अब पार्टी लगभग युवाको पोल्टामा रूपान्तरित भएको देखिएको छ । त्यसैले अब यो बहस सुरु भएको छ, के युवावर्गको उपस्थिति मात्रले कांग्रेस रूपान्तरित हुन्छ ? या यो रूपान्तरणले अबको कांग्रसलाई पुस्तान्तरणसम्म पुर्‍याउन मद्दत गर्छ ? अथवा कांग्रेस या अरू कुनै पनि पार्टी या देशको निर्माण र रूपान्तरण युवाबाट मात्र सम्भव छ ? अथवा युवाको प्रतिनिधित्व मात्र पार्टीको जीवन या पुनर्जीवन हो ?

कुनै पनि पार्टीलाई जीवन्त राख्ने ‘अक्सिजन’ विचार हो । अनि त्यो विचारलाई क्रियाशील बनाएर जनजनमा पुर्‍याउन क्रियाशील नेतृत्वको आवश्यकता त पर्छ नै । विचार आफैंमा विचरण गर्ने वस्तु होइन । त्यसलाई चलायमान बनाउन चलायनमान हुनसक्ने नेतृत्व नै आवश्यक रहन्छ । त्यसैले युवाको उपस्थिति मात्र पार्टीको क्रियाशील जीवन होइन । ती युवाको क्रियाशीलताले विचार बोकोस र पार्टीका कार्यकर्ता उत्पादन गर्ने नर्सरीका स्वरूपमा रहने भ्रातृ संगठन र समग्र कार्यकर्तासम्म त्यो विचार र कार्यक्रमलाई कुशल रूपमा लैजान सकून् । पार्टीमा युवाको प्रतिनिधित्वको बहस जुनसुकै पार्टीमा हिजो पनि थियो । तर अहिले यो बहस कांग्रेसको नेतृत्वमा आएका गगन थापा, विश्वप्रकाश शर्मा र अरू युवाको प्रतिनिधित्वले सतहमा ल्याएको मात्र हो ।

त्यसो त उनीहरूको उपस्थितिलाई मात्र नभएर आजसम्मको क्रियाशीलता र विचारलाई नै आवश्यक ठानेर महाधिवेशनले उनीहरूलाई चुनेको हो । तापनि अबका उनीहरूका कार्यक्रमले मात्र पार्टीको भविष्य निर्धारण गर्ने हो । यसैले नै पार्टीमा पुस्तान्तरणको मार्ग कोर्ने हो । माथि प्रस्तुत दुई विदेशी पाका राजनीतिज्ञको दृष्टान्तबाट राजनीतिमा उमेरको बार त्यति आवश्यक नपर्न पनि सक्छ । तर यी दृष्टान्तबाट पार्टीमा युवावर्गको आवश्यकतामाथि प्रश्न गर्नु यो आलेखको आशय भने होइन । बाइडेन र डोनाल्ड ट्रम्पका तुलनामा ४६ र ४७ वर्षमा राष्ट्रपति बनेका बिल क्लिन्टन र बाराक ओबामाका कार्यकाल राम्रा पक्कै थिए होलान् । अनि ९४ वर्षमा प्रधानमन्त्री हुँदा भन्दा सन् १९८० को दशकमा देशको कार्यकारी प्रमुख बनेर मलेसिया बनाएको महाथिर मोहम्मदको जाँगर पक्कै जोसिलै हुँदो हो । तापनि वास्तविकता के हो भने उनीहरूका फरक उमेरमा पनि उचित विचार बोकेकैले ती देश र कार्यकालले कोल्टे फेरेको भने पक्कै हो ।

कांग्रेसको भर्खरै सकिएको महाधिवेशनले यो दुवै सन्देश राम्रोसँग दिएको छ । किनभने कांग्रेसमा विचारका साथै परिपक्व र युवा उमेरलाई महाधिवेशनले नेतृत्वमा पुर्‍याइदिएको छ । पार्टीमा पाको उमेरका अनुभवी र परिपक्व शेरबहादुर देउवालाई मूल नेतृत्वमा पुर्‍याएको छ भने ठूलो संख्यामा युवा वर्गलाई पनि पदाधिकारीदेखि केन्द्रीय समितिसम्म पुर्‍याएको छ । यो हेर्दा लाग्छ समय समयमा माओवादी अध्यक्ष प्रचण्डले भन्ने गरेजस्तै ‘फ्युजन’ वास्तवमा कांग्रेस पार्टीभित्र भएको देखिएको छ । अर्कातर्फ पार्टीमा आफूनिकट एक सक्रिय र अनुभवी नेता डा. प्रकाशशरण महतबाहेक सभापतिमा पुनर्निर्वाचित शेरबहादुर देउवालाई अपेक्षित नै परिणाम हात लागेको छ ।

केन्द्रीय समितिमा उनको ८० प्रतिशतभन्दा पनि बढी बहुमत प्रारम्भिक रूपमा देखिएको छ । यो सुविधाले पनि उनलाई आगामी दिनमा पार्टी र यसमार्फत देशलाई नै लाभ दिलाउन थप सजिलो बनाइदिएको छ । फेरि पार्टीमा युवा वर्गले मात्र नभएर रूपान्तरणको मुद्दा सभापति देउवाले पनि उठाएका हुन् । सभापतिका आकांक्षी देउवाले नै उत्साह, एकता र रूपान्तरणलाई आफ्नो नारा बनाएका थियो। सायद अब यही पुस्ताको कार्यक्षमता र कार्यकुशलताले अब पार्टीमा पुस्तान्तरणको मार्ग कोर्नेछ र आगामी दिनमा अहिलेको रूपान्तरणको जस्तै युवालाई पार्टीको पुस्तान्तरणका लागि पनि तयार पार्नेछ ।

सभापति र प्रधानमन्त्रीका अवसर र चुनौती

नेकपा बनेको तीन वर्षमै अन्तरपार्टी विरोध उत्पन्न भयो। विरोधमा मात्र सीमित रहेन, यसले विग्रह र अन्ततः विभाजन नै निम्त्यायो । जसको रिस दुर्ई पटकसम्म संसद्सामु पोखियो र विघटन गरियो । यद्यपि, दुवैपटक संसद्लाई पुनर्जीवन दिलाउने कार्यको नेतृत्व प्रमुख विपक्षी दलको नेताको हैसियतमा शेरबहादुर देउवाले गरे ।

त्यसपछि नेकपाकै एक घटकको साथ र सहयोगमा देशले नयाँ सरकार पायो र त्यसको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गरे । यहाँ यो दृष्टान्त पेश गर्नुको कारण के हो भने नेकपा, मधेसी र अरू पार्टीमा पनि यसबीच टुटफुट आयो तर कांग्रेस भने एकताबद्ध रह्यो । यसको अर्थ कांग्रेसमा अन्तरपार्टी कलह नरहेको भने होइन । पार्टीभित्र साठी र चालिसको घेरा १३औं महाधिवेशनदेखि नै कोरिएको थियो र यसले अन्तरपार्टी कलह बढाएकै थियो ।

अर्को कुरा अघिल्लो संसदीय चुनावमा नेकपा एक भएर जाँदा कांग्रेसले चुनाव हारेपछि त्यसको अपजस पनि सभापति देउवाकै थाप्लोमा परेको हो । यी सबै अपजसलाई उनले थेग्दै पार्टीलाई १४औं महाधिवेशनसम्म ल्याए । पार्टीभित्रै पनि भ्रातृ संगठन र विभाग गठन गर्न नसकेको अपजस पनि उनमा थियो नै । यी सब विरोधका बाबजुद पनि उनले धैर्य गरे र पार्टीलाई एकताबद्ध बनाएरै ल्याए । हरेक निर्णयमा सभापति देउवाले आफूलाई पार्टीमा उपलब्ध बहुमतको सहारा लिन चाहेनन् । पार्टीले गर्ने हरेक निर्णयमा बहुमतको निर्णय नभएर सहमतिका आधारमा गर्नुपर्छ भन्ने उनको अडान थियो । अहिले सबैको धारणा यही छ कि उनको यही क्षमताकै कारण पार्टी एकता कायम भएको हो ।

प्रधानमन्त्री देउवाका काँधमा सभापतिका रूपमा पार्टी हाँक्नुपर्ने चुनौती त छँदै छ, देशको विशिष्ठ राजनीतिक परिवेशको निकासमा पनि उनको कुशलता अझै आवश्यक छ । झन्डै दुई तिहाइको नेकपाको सरकारले देशलाई निकास दिन नसकेपछि यो विशिष्ठ परिस्थितिमा बनेको सरकारको नेतृत्व अहिले उनले गरिरहेका छन् । अब स्थानीयदेखि संघीय संसद्सम्मको निर्वाचन गर्नुपर्नेछ । पक्कै पनि निर्वाचन भनेको चुनौतीपूर्ण काम हो नै । त्यसमा पनि स्थानीय तहदेखि प्रदेश संसद् हुँदै संघीय संसद्को निर्वाचन गर्नुपर्नेछ । ती काम सन्निकटमै रहेकाले अब सरकारले गृहकार्य थाल्नुपर्ने अवस्था छ ।

यसका अतिरिक्त देउवाले कांग्रेसको सभापतिका रूपमा दोस्रो पटक आफूलाई अघि सार्दा सबै तहका निर्वाचनमा पार्टीलाई ठूलो पार्टी बनाउँछु भनेका छन् । त्यसका लागि पनि उनलाई पार्टीका ६० प्रतिशत महाधिवेशन प्रतिनिधिले अवसर दिएका हुन् र सभापतिमा निर्वाचित गरेका हुन् । आफ्नो यो प्रतिबद्धता पूरा गर्न पनि सभापति देउवा लाग्नुर्पेछ । उनले पार्टीलाई पहिलेकै अवस्थामा ल्याउनेगरी लाग्ने प्रण पनि गरेका छन् । यसका अतिरिक्त उनले पार्टीका सबै भ्रातृ संगठनको महाधिवेशन गर्ने तथा यथोचित रूपमा विभाग गठन गर्ने पनि प्रण गरेकाले यसलाई पनि उनको यो नयाँ कार्यकालले अवसरका रूपमा लिन सक्दछ । यी दुवै काम प्रधानमन्त्रीका रूपमा र पार्टी सभापतिका रूपमा सम्पन्न गर्नका लागि देउवालाई अवसरका रूपमा रहनेछन् ।

पार्टीको १४औं महाधिवेशनले पार्टीमा लामो समयसम्म काम गरेको परिपक्व तथा अनुभवी नेताका रूपमा देउवालाई सभापतिका रूपमा चयन गरेको छ भने उता ऊर्जाशील युवालाई पनि कार्यकारी पदमा ल्याएको छ । यसरी पुरानो र नयाँ पुस्तालाई महाधिवेशनले संयोजन गरिदिएको छ । यो संयोजनले चाहेमा पार्टी र देशका लागि पनि राम्रो परिणाम दिनसक्छ । कुनै पनि पार्टी सञ्चालन गर्नका लागि त्यहाँ अनुभवी व्यक्ति र नयाँ पुस्ताका ऊर्जाशील एवं सशक्त युवा शक्ति हुनु नितान्त जरुरी छ । त्यही संयोजनकारी भूमिकाको काम महाधिवेशन प्रतिनिधिले गरेका छन् । पुरानो भनिएको यो पार्टीमा नयाँ पुस्ताको उपस्थिति खोजिरहेका बेला त्यो पनि दिएको छ र पार्टी सञ्चालनका लागि पाका नेता पनि उपलब्ध गराएको छ ।

नीति महाधिवेशनको सान्दर्भिकता

नेपाली कांग्रेसले यसपटक नीति महाधिवेशन अलग्गै गर्ने भएको छ । पहिलो पटक कांग्रेसले नीति र नेतृत्व महाधिवेशन छुट्टाछुट्टै गर्न लागेको हो । पहिलोदेखि १३औं महाधिवेशनसम्म नेतृत्वसँगसँगै नीति महाधिवेशन गर्दै आएको कांग्रेसले यसपटक महाधिवेशनले नेतृत्व मात्रै चुन्ने र ६ महिनाभित्र नीति अधिवेशन गर्ने निर्णय गरेको छ ।

त्यसो त विगतमा पनि महाधिवेशनमा नीतिबारे खासै छलफल हुँदैनथ्यो । बढी ध्यान त नेतृत्व चयन प्रक्रियामै जाने गर्दथ्यो। त्यसैले नीति, कार्यक्रम तथा विचारमाथि बहस र छलफलका लागि अलग्गै महाधिवेशन हुनु राम्रो हो । यसले पार्टीको आगामी नीति, सिद्धान्त कार्यक्रममा छलफलका लागि प्रशस्त समय र वातावरण पनि उपलब्ध हुनेछ । त्यसैले नीति महाधिवेशन गरेर कांग्रेसको नीति, सिद्धान्त विचार कार्यक्रमबारे स्पष्ट मार्गचित्र बनाउनसकेमा यसले पार्टीलाई रूपान्तरण तथा पुस्तान्तरणको एजेन्डालाई साकार बनाउन थप सहयोग गर्नेछ । यस्तो मार्गचित्र निर्माण गरेर यसैका आधारमा पार्टीको घोषणापत्रसमेत निर्माण गरेर अघि बढ्न सकेमा कांग्रेसलाई आगामी निर्वाचनमा जनताका बीचमा आफ्नो मुद्दा लिएर जान सजिलो हुनेछ ।

यसरी युवाको उपस्थिति खोजेको कांग्रेसमा अहिलेको सहभागिताले युवामा रूपान्तरण भएको छ भन्न सकिन्छ । अब यो रूपान्तरित कांग्रेसले आगामी दिनमा लिने नीति तथा कार्यक्रम अनि अहिले आएका युवा वर्गको कार्यकुशलता र क्षमताका आधारमा आगामी दिनमा पुस्तान्तरण पनि गर्दै जाने अपेक्षा गर्न सकिन्छ। नत्र उपस्थिति मात्रले न पुस्तान्तरण र नत रूपान्तरण नै सम्भव छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको