गौतमबुद्ध विमानस्थलको ९२.५ प्रतिशत काम पुरा, लकडाउनमा ४.५ प्रतिशत भौतिक प्रगति
२६ भाद्र, काठमाडौं । भैरहवास्थित गौतमबुद्ध विमानस्थलको ९२.५ प्रतिशत काम सकिएको छ । कोरोना महामारीको कारण लकडाउन सुरू भएको ६ महिनामा ४.५ प्रतिशत भौतिक प्रगति भएको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताए ।
बाँकी काम चिनियाँ दक्ष जनशक्ति र प्राविधिकहरूको पर्खाइका कारण रोकिएको छ । अयोजना प्रमुख अधिकारीले भने, ‘विमानस्थल निर्माण क्षेत्रमा आवश्यक सम्पूर्ण उपकरणहरू आइसकेकाले चिनायाँ दक्ष प्राविधिकको पर्खाइमा छौं ।’ तर कोरोना महामारीका कारण विदेशी नागरिकहरूलाई नेपालमा प्रतिबन्ध लागेका कारण प्राविधिकहरू आउन नसकेको उनले बताए ।
‘लगभग निर्माण सम्पन्न भइसकेको विमानस्थलको काम लामो समय रोकिने देखिएपछि ति ३५ जना दक्ष कामदार तथा इन्जिनियरहरूलाई तत्काल नेपाल ल्याउन आवश्यक कागजातसहित सम्बन्धित निकायमा पत्राचार भइसकेको छ ।’ अधिकारीले भने । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले पनि रोकिएका दक्ष कामदार ल्याउन सङ्कट व्यवस्थापन केन्द्रको सिफारीसका लागि प्रस्ताव गरिसकेका छन् ।
‘अन्तिम चरणमा पुगेको विमानस्थल निर्माण कार्य विदेशी कामदार उतै रोकिँदा अवरूद्ध भइरहेको छ ।’ मन्त्री भट्टराइने भने, ‘अब उनीहरूलाई नेपाल आउने अनुमति दिने तयारी थालिएको छ ।’
के–के निर्माण सम्पन्न भयो ?
आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको मूख्य संरचना धावन मार्ग, ट्याक्सी मार्ग तथा एप्रोनको सिभिलतर्फको काम सम्पन्न भएको छ । यि संरचनाहरूमा विद्युत जडान कार्य भने अहिले पनि जारी छ ।
अन्तर्राष्ट्रिय टर्मिनल भवन, प्रशासनिक भवन, अग्नि निवारण भवन तथा कन्ट्रोल टावर निर्माण कार्य पनि पुरा भइसकेको छ । यी संरचनाहरूमा अहिले आन्तरिक उपकरण जडान र फिनिसिङ कार्य जारी छ ।
विमानस्थलको सुरक्षाका लागि तारबार गर्ने, घेर्ने तथा नाला व्यवस्थित गर्ने काम अहिले भइरहेको छ । यस हिसाबले ९२.२ प्रतिशत भौतिक संरचना निर्माण कार्य सम्पन्न भएको छ ।
वित्तिय प्रगति भने ६३ प्रतिशत पुगेको आयोजना प्रमुख अधिकारीले बताएका छन् ।
लकडाउन अवधिमा ४.५ प्रतिशत भौतिक प्रगति
लगडाउनको अवधिमा २९ चिनियाँ नागरिकसहित २७५ जना कामदारले निरन्तर काम गर्दा भाद्र २२ सम्म ४.५ प्रतिशत भौतिक प्रगति भएको छ । पेरिमिटर सडक, फेन्सिङ निर्माण, नाला बनाउने र धावनमार्ग वरपरको खाली स्थानमा माटो भर्ने काम लकडाउन अवधिमै सम्पन्न भएको हो ।
अधिकारीका अनुसार टर्मिनल भवनमा इन्टेरियरको काम पनि लकडाउनको अवधिमै सुरू भएको हो । अब कन्भेयर बेल्ट जडान, विद्युतीय सामग्री र सूचना प्रविधिसँग सम्बन्धित उपकरणहरू जडान कार्य विदेशी प्राविधिकहरू आइसकेपछि सुरू हुने भएको छ ।
सन् २०१४ बाट सुरू भएको यस आयोजनाले २०१७ मै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो । तर त्यो समयमा टेकेदारबीचको झगडा, नदिजन्य निर्माण सामग्रीको अभाव, भूकम्प र नाकाबन्दीका कारण म्याद थप गर्नुपर्ने अवस्था आएको आयोजना निर्माण पक्षले बताउदै आएको छ । हालसम्म आयोजनाका लागि पाँच पटकसम्म म्याद थप भइसकेको छ ।
चिनियाँ नर्थवेस्ट सिभिल एभियसन कन्सट्रक्शन ग्रुपले गौतमबुद्ध विमानस्थलको निर्माण गरिरहको छ । उपकरण जडानसहित दोस्रो चरणको काम भने एरोनेटिकल रेडियो अफ थाइल्याण्डबाट भइरहेको छ ।
राष्ट्रिय गौरवका आयोजनामध्यको एक यो विमानस्थल निर्माणका लागि एसियाली विकास बैंकले सहूलीयतपूर्ण ऋण सहयोग गरेको छ । यो विमानस्थल ६ अर्ब २२ करोड ५१ लाख २० हजार रूपैयाँ लागतमा निर्माण भइरहको छ ।
यो पनि पढ्नुहोस् :