जागिर र गायनसँगै नर्सरी फार्म
सुर्खेत । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१ का रामबहादुर बुढाको पहिचान फरक–फरक रहेको छ । उनी एक सरकारी कर्मचारीका साथै कलाकार पनि हुन् । त्योसँगै बुढाले कृषि कर्म पनि संगालेका छन् ।
लोक तथा दोहोरी गित प्रतिष्ठान कर्णाली प्रदेशका अध्यक्ष रहेका बुढाले कृषि फार्मबाट लाखौ आम्दानी गर्दै आएका छन् ।
बुढाले जग्गा भाडामा लिएर नर्सरी फर्म संचालन गरि आम्दानी गरिरहेका छन् । जिल्ला वन कार्यालय सुर्खेतमा स्थायी जागिरे बुढाले साँझ र विहानको समय आफ्नो फार्ममा बिताउने गरेका छन् ।
विभिन्न दुईवटा बैंकबाट ऋण गरेर २०७६ सालबाट रारा नर्सरी फार्म दर्ता गरि व्यवसायिक रुपमा कृषि पेसामा लागेका बुढाले २ वर्षको अवधिमा लाखौको आम्दानी गरेको सुनाए । ३२ लाखको लागतमा सुरु गरेको नसरी फर्मले आफु सहित ४ जनाले रोजगारीसमेत दिएका छन् ।
मासिक ५२ हजार कर्मचारीमा तलव जाने गरेको बुढाले बताए । ‘मासिक ५२ हजार तलव दिनुपर्छ, ६२ हजार जग्गाको भाडा तिर्नुपर्छ,’ उनले भने ।
आफुसँग जग्गा नभएकाले जग्गा भाडामा लिएर नसरी फार्म सञ्चालनमा ल्याएको बुढाको भनाई छ । उनले आफुले कुनै पनि निकायबाट सहयोग नपाएको गुनासो गरे । नर्सरीमा पानीको व्यवस्थापनको लागि विभिन्न निकायसँग माग गरेपनि कतैबाट सहयोग नपाएको उनको भनाई छ । २ सय ५० मिटर टाढाबाट पानीको व्यवस्था गरि नर्सरी बनाएको उनले सुनाए ।
‘जागिरे जीवनभन्दा पनि नर्सरी फार्ममा काम गर्दा आनन्द आउँछ,’ उनले भने,‘लामो समयदेखि सरकारी जागिर गरि रहेकाले पनि छोड्न सकिएको छैन ।’
सरकारी कर्मचारीदेखि कृषि फार्म र गायन पेसा पनि लागेको उनले बताए । ‘स्थायी जागिरे भएको पनि वर्षौ बित्यो ।’ उनले भने,‘सरकारी जागिरसहित गायन पेसा पनि अगालेको छु । समय निकालेर गित गाउने पनि गरेको छु ।’
जिल्ला कृषि विकास कार्यालयबाट अनुदान लिनुपर्ने कुरा आफुलाई थाहा भएको भएपनि आफुले कुनै पनि अनुदान नलिएको उनको भनाई छ ।
जागिर छोडेर नर्सरी फार्म संचालन गर्न कठिन भएको बुढाले बताए । आफ्नो जागिरबाट आएका तलवले नर्सरी फार्ममा काम गर्ने कर्मचारीलाई तलव दिने गरेकाले जागिर नछोडेको बताए ।
बुढाको नर्सरीमा विभिन्न प्रजातिका विरुवा र फलफुलहरु राखिएका छन् । उनको नर्सरीमा किभि, टिमुर, ओखर, कागति, ड्राइगन फुड, धुपी, अलैची, टमाटर, प्याजलगायतका मौसमी तथा वेमौसमी तरकारी उत्पादन गर्दै आएका छन् ।
तलव खुवाउनकै लागि जागिर छोड्न गाह्रो
बुढाले आफ्नो फर्ममा रहेको ४ जना कर्मचारीलाई मासिक तलव खुवाउनकै लागि जागिर छोड्न गाह्रो भएको बताएका छन् ।
उनले आफु पुरै समय फार्ममा दिन नसक्ने भएकाले कर्मचारीलाई तलव खुवाउनका लागि सरकारी जागिर नछोडेको बताए । वर्षमा एक दुई पटक मात्र आफुले उत्पादन गरेका बेर्ना विक्रि हुन्छन् । कर्मचारीलाई महिनामा तलव खुवाउनुपर्छ त्यसैले पनि आफुले जागिर छोडन नसकेको उनले बताए । मासिक ५२ हजार कर्मचारीलाई तलव खुवाउनुपर्ने भएकाले पनि जागिर छोडेको छैन् ।
अहिले कर्मचारीलाई आफ्नो तलवबाट तलव दिनुपर्ने भएकाले आफुलाई जागिर प्यारो भएको बुढाको भनाई छ ।