७ जेष्ठ २०७९, शनिबार

अदुवा खेती टन्न फल्यो, बिक्रि भएन




रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका– १२ का विभिन्न टोलका कृषकहरु अदुवा बिक्रि नभएपछि चिन्तित बनेका छन् । पुर्खौदेखि मकै बाली लगाउँदै आएका किसान पहिलो पटक अदुवा खेती गर्न थालेका थिए । उक्त वडाका टुनिगैरा, गर्छेनी र जाटटाकुरा टोलमा यो वर्ष राम्रो अदुवा उत्पादन भएपनि बजार नपाएको कृषकहरुले गुनासो गरेका छन् । पहिलो पटक ठुलो मात्रामा अदुवा खेति गरेका कृषकहरु अदुवाले बजार नपाएपछि चिन्तित बनेका हुन् ।
अहिले गाउँमा करिब दुई सय क्विन्टल अदुवा रहेको कृषकहरुको भनाई छ । एउटै घरमा कम्तिमा १० क्विन्टल अदुवा बिक्रि हुन बाँकी रहेको चौरजहारी नगरपालिका– १२ का दलजित ओलीले जानकारी दिए । ‘मेरो घरमा १५ क्विटल बढी अदुवा थन्किएको छ ।’ उनले भने, ‘प्रत्यक घरमा कम्तिमा पनि १० क्विन्टल बढी अदुवा बिक्रि नभएर थन्किएको छ ।’
तीन वटा टोलका कम्तिमा पनि २० घरले ठुलो मात्रामा अदुवा लगाएका थिए ।
राम्रो अदुवा फलेपनि बिक्रि नहुँदा आफुहरु चिन्तित बनेको वडा सदस्य समेत रहेका अर्का कृषक शान्तबहादुर ओलीले बताए । ‘पहिलो पटक ठुलो मात्रामा अदुवा खेति गरेका थियौं, राम्रो अदुवा फल्यो यसबाट सबै खुशि थियौँ ।’ उनले भने ‘तर अहिले बिक्रि गर्ने बेलामा भने झन्झट आइलाग्यो, अव फेरि अदुवा लगाउने कि नलगाउने भन्ने भएको छ ।’
अलि अलि बिक्रि हुने अदुवाले पनि बजार नपाएको कृषकहरुको भनाई छ ।
क्विन्टलमा १५÷१६ सय मुल्य पाउन पनि मुश्किल रहेको कृषकहरुले बताएका छन् । बोकेर चौरजहारी लैजादा पनि खपत हुने अवस्था नरहेको र मुल्य पनि एकदमै कम रहेको कृषकहरु बताउँछन् । त्यस्तै ट्याक्टरमा राखेर झुल्नेटा बजार लैजादा पनि ट्याक्टर भाडा नै उठ्न मुश्किल रहेको कृषकहरुको गुनासो छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको