८ माघ २०७८, शनिबार

नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि



२० मंसिर, काठमाडौं । पहिलो पटक दक्षिण अफ्रिकामा देखापरेको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण नेपालमा पनि पुष्टि भएको छ । सोमबार पत्रकार सम्मेलन गरी स्वास्थ्य मन्त्रालयका सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले नेपालमा पनि ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

एक जना ६६ वर्षीय विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका ७१ वर्षीय अर्का नेपाली नागरिकमा यही मंसिर १९ गते ओमिक्रोन संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो ।

दुवै जनाले कोरोना भाइरस विरूद्धको खोप पनि लगाएका थिए । गत मंसिर ३ गते नयाँ भेरियन्ट पुष्टि भएको देश हुँदै ६६ वर्षीय विदेशी नागरिक त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गरेका थिए । नेपाल आउँदा नियमानुसार पीसीआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पूरा गरेको पाइएको थियो ।

तर कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षणहरु देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ विधिबाट परीक्षण गर्दा मंसिर १९ गते ओमिक्रोन नेपालमा पहिलो पटक पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

६६ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दा नतिजा नेगेटिभ
हाल सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेसनमा बसिरहेका दुवैजनामा कुनै लक्षणहरु नदेखिएको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ । ती दुई व्यक्तिहरुसँग सम्पर्कमा आएका ६६ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दा सबैको नतिजा नेगेटिभ आएको र सबै स्वस्थ रहेको पाइएको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिः


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको