१४ मंसिर २०७८, मंगलवार

सुडीगाउँका प्रत्येक घरमा खानेपानी धारा




जुम्ला । जुम्लाको तिला गाउँपालिका–६ सुडीगाउँमा प्रत्येक घरमा खानेपानी धारा जडान गरिएको छ। खानेपानी आयोजना निर्माणका लागि प्रत्येक घरले ७९ दिन काम गरेका थिए ।

कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्वारा सिर्जित चुनौती अनुकूलनसम्बन्धी कार्यक्रम (क्याप्स कर्णाली परियोजना) अन्तर्गत धारा जडान गरिएको हो ।

अहिले प्रत्येक घरमा खानेपानी धारा जडान गरिएको सुडीगाउँकी स्थानीय गौरीकला रावलले बताइन् । उनले भनिन्, ‘नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको साझेदारी तथा साझेदारी सहयोग केन्द्र (पेस–नेपाल) जुम्ला एवं अनुकूलन कोषको आर्थिक सहयोगले धारा जडान गरिएको हो ।’

स्थानीय धनबहादुर रावतले खानेपानी आयोजना निर्माण गरेबापत (क) र (ख) वर्गका ९७ घरले प्रतिघरले ५७ हजार ६३२ रुपैयाँ पाएको बताए । आयोजना सम्पन्न गर्न ८४ लाख ८५ हजार ५१७ रुपैयाँ खर्च भएको पेस नेपाल जुम्लाले जनाएको छ ।

सुडीगाउँ अहिले पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन । यहाँका बासिन्दाले दैनिक उपभोग्य वस्तु‚ विकास निर्माणका सामग्रीका साथै आफ्ना उत्पादन बोकेर वा खच्चरबाटै ओसारपसार गर्ने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको