एसिड आक्रमणविरूद्ध प्रधानमन्त्रीको कडा निर्देशन : ‘१५ दिनभित्र कानुनको नयाँ मस्यौदा तयार गर्नुस्’
२५ भाद्र, काठमाडौं । प्रधानमन्त्रीको केपी शर्मा ओलीले एसिड आक्रमण गर्नेहरूलाई नयाँ कानुनको कठघरामा उभ्याइने बताएका छन् । अमानवीय र जघन्य अपराधका दोषिहरूलाई कुनै पनि हालतमा छुट दिन नहुने भन्दै प्रधानमन्त्री ओलीले १५ दिनभित्र नयाँ कानुनको मस्यौदा तयार गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओली अध्यादेशमार्फत तत्काल नयाँ कानुन निर्माण गर्न अग्रसर भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । थापाका अनुसार प्रधानमन्त्रीले आजै १५ दिनभित्र कानूनको मस्यौदा तयार गरिसक्न कानुनमन्त्री र सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् ।
प्रेस सल्लाहकार थापाले भने, ‘प्रधानमन्त्रीको निर्देशनमा एसिड आक्रमण गर्ने अपराधिको सम्पत्ति रोक्का गरी पीडितको उचपचार र क्षतिपूर्ति भराउने गरी कानुनमा व्यवस्था गर्न लागिएको छ ।’
बिहीबार १२ जना एसिड आक्रमणका पीडितहरूसँग संवाद गरेपछि प्रधानमन्त्रीले पीडितको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पीडितलाई बचन दिदै प्रधानमन्त्रीले भनेका छन्, ‘विर र शिक्षण अस्पपतालमा उपचारको प्रवन्ध मिलाउछु ।’
यतिमात्र होइन प्रधानमन्त्रीले एसिड आक्रमणमा परेकाहरूले पढ्न चाहेमा सरकारले निशुल्क पढ्ने व्यवस्था मिलाउने बताएका छन् । नेपालका विभिन्न जिल्लामा भएका एसिड आक्रमणका १७ घटनामा परि १९ जना पीडित छन् ।