७ आश्विन २०८०, आईतवार

बाल संसार



मेरो बाल मानसपटलमा

एक हुल प्रश्नहरु

लहरै ताती बनेर लहरिन्छन ।

म अनभिज्ञ छु ,

किन रात पर्छ ?

किन उज्यालो हुन्छ ?

केले रात र दिन बनाउछ ?

घाम दिउँसो मात्र किन आउछ ?

जुन किन रातीमा मात्र आउँछ ?

जुन सधैं किन देखिदैन ?

त्यति राम्रा ताराहरु किन त्यति टाढा छन ?

यी र यस्तै जिज्ञासाहरु

अबोध मानसपटलमा घुमिरहन्छन ।

मेरी आमालाई औंलाले

घाम देखाउछु ।

जुन देखाउछु।

तारा देखाउछु ।

खै आमा के बुझ्नुहुन्छ ?

यिनिसङ्ग नाता लाउनुहुन्छ ।

जुनि मामालाई

नमस्कार गराउनुहुन्छ ।

तारा बाजि लै लै भन्न लगाउनुहुन्छ ।

यी सब उत्तर हुन कि के हुन ?

म केही बुझ्दिन ।

।।१।।

म ढुङ्गा बटुल्छु,

छेस्काछेस्की बटुल्छु,

र घर बनाउछु ।

बाजेको जस्तै घर बनाउछु ।

तर कोहि किन बस्न आउदैनन ?

म बुझ्दिन ।

ढुङ्गालाई बोलाउछु, तर बोल्दैन ।

टालाटुली बटुल्छु,

बेहुला बेहुली बनाउछु,

बिहे गर्छु ,

जन्ती जान्छु,

भोजभतेर खान्छु,

तर यी सब के हुन ?

म केही बुझ्दिन ।

रुख चढ्न खोज्छु, तर सक्दिन ।

खोला तर्न खोज्छु, तर सक्दिन ।

डाडा पाखा कुद्न खोज्छु, तर सक्दिन ।

चरा जस्तै उड्न खोज्छु, तर सक्दिन ।

किन चरा उड्न सक्छ,म किन सक्दिन ?

म बुझ्दिन ।

बाजे, ठूलो भएपछि खोलामा

माछा मार्न जाउला भन्नुहुन्छ ,

म कौतुहल भएर

हर खोलामा माछा होलान् ठान्छु ।

खोलामा मात्र माछा किन हुन्छन ?

म केही बुझ्दिन ।

माछा पानीमा किन बस्न सक्छ?

म किन सक्दिन ?

म केही बुझ्दिन ।

।।२।।

म चाडपर्व बुझ्दिन ।

दशै तिहार तिज आदि

म केही जान्दिन ।

म टीका जमारा बुझ्छु ।

माला र पैसा बुझ्छु ।

देउसी भैलो खेलेको बुझ्छु ।

नाचागानमा रमाइलो मान्छु ।

मेरा बा मलाई काधमा बोकेर

दशैमा मात्र किन गाउँमा लिनुहुन्छ ?

म बुझ्दिन ।

सधैं दौरा सुरुवाल किन लगाइदिनुहुन्न ?

म जान्दिन ।

किन हामी मामाघर दशैमा मात्र जान्छौ ?

म जान्दिन ।

मेरा बाजे, मलाई किन गित सुनाउनु हुन्छ ?

म बुझ्दिन ।

गाउँ जादा मात्र डाडा पाखा किन देखिन्छन् ?

म जान्दिन ।

किन गाउँको घरमा मकैको सुलि हुन्छ ? म जान्दिन ।

किन सिस्नोले पोल्छ ? म बुझ्दिन ।

किन आगोले पोल्छ ? म बुझ्दिन ।

।।३।।

मेरो ड्याडीको ममिलाई किन ड्याडी “आमा” भन्नू हुन्छ ?

तर म किन “ममि” भन्छु ?

म बुझ्दिन ।

मेरो ड्याडीको ड्याडीलाई किन ड्याडी “बाबा” भन्नुहुन्छ ?

तर म किन “ड्याडी” भन्छु ?

म जान्दिन ।

मलाई स्कुलमा मेडमले ए फर एप्पल सिकाउनु हुन्छ ।

म किताबको अप्पल चिन्छु,

रुखको स्याउ चिन्दिन ।

म किताबको बनना चिन्छु,

घारीको केरा चिन्दिन ।

म किताबको क्याट चिन्छु,

घरको बिरालो चिन्दिन ।

म किताबको डग चिन्छु,

भुक्ने कुकुर चिन्दिन ।

किन, ममि गुड मर्निङ भन भन्नुहुन्छ ?

म बुझ्दिन ।

कसलाई नमस्कार गर्ने ?

कसलाई ढोग गर्ने ?

कसलाई के गर्ने ,

किन गर्ने ? म केही बुझ्दिन ।

किन मलाई मान्छेपिच्छे,

घरी ढोग गर ,

घरी नमस्कार गर,

घरी के गर , घरी के नगर ,

घरी के बोल , घरी के नबोल ,

आमा किन सिकाइरहनु हुन्छ ?

म केही बुझ्दिन ।

के गर्नु हुन्छ ? के गर्नु हुन्न ?

के गरे के हुन्छ ? के नगरे के हुन्छ ?

म केही जान्दिन ।

।।४।।

यो गर, त्यो नगर ,

मलाई मन पर्दैन ।

यसरी गर, त्यसरी नगर ,

मलाई मन पर्दैन ।

यो यस्तो हुन्छ, त्यस्तो हुदैन ,

मलाई मन पर्दैन ।

त्यसैले, यसैले, म केही जान्दिन ।

म जुनसङ्ग खेल्न चाहान्छु ।

तारा टिपेर अङ्गालोभरी राख्न चाहान्छु ।

आगो समाउन खोज्छु ।

सिस्नो उखेल्न खोज्छु ।

माछासङ्गै पौडिन चाहान्छु ।

डाडापाखामा कुद्न चाहान्छु ।

रुख चढ्न चाहान्छु ।

गाउँ घरमा रमाउन चाहान्छु ।

मलाई केरा, स्याउ, सुन्तला आदि,

पढेर होइन, चाखेर चिन्नुछ ।

बिरालो, कुकुर, कुखुरा आदि,

किताबमा होइन, आफैले देख्नुछ ।

बाबा, आमा, ढोग, नमस्कार आदि,

आफ्नै परिवेशमा सिक्नुछ ।

म आफ्नो घर आफै बनाउछु ।

म मेरै संसारमा रमाउछु ।।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको