१४ मंसिर २०७८, मंगलवार

‘अन्तिम समयसम्म सम्हालिन नसक्दा ऐतिहासिक पदकबाट चुक्यौं’




१ कार्तिक, काठमाडौं । नेपाली टोलीका कप्तान किरण कुमार चेम्जोङले अन्तिमसम्म टिम सम्हालिन नसक्दा पराजित हुन पुगेको बताएका छन् । उनले पहिलो हाफमा आफूहरुले उत्कृष्ट प्रदर्शन गरेको र सोही अनुसार अन्तिम समयसम्म टिक्न नसक्दा ऐतिहासिक पदकबाट चुकेको बताए ।

“पहिलो हाफमा हामीले उत्कृष्ट प्रदर्शन गरेका थियौं । सोही अनुसार अन्तिम समयसम्म पुग्न सकेनौं । पाँच मिनेटभित्र नै हाम्रो खेल उल्टियो । लगातार दुई गोल हुँदा खेलाडीको मनोबल पनि कमजोर भयो,” किरणले भने ।

किरणले साफमा पहिलोपटक उपाधि जित्नबाट बञ्चित भए पनि अहिलेको प्रदर्शनका आधारमा खेलाडीहरुलाई आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न थप हौसला मिलेको बताए । नयाँ खेलाडीहरुलाई पनि अहिलेको अनुभवले आगामी दिनमा सहज हुने उनको भनाइ छ ।

“उपाधि जित्न नसक्दा दुःख लागेको छ । तर, अहिलेको कमजोरीले अघिल्लो प्रतियोगितामा सुधार गर्दै उत्कृष्ट प्रदर्शन गर्ने आँट भने पलाएको छ । उपविजेता बन्नु पनि हाम्रो लागि एक हौसलाको बाटो हो । यसले युवा खेलाडीलाई पनि आगामी दिनमा सहज हुनेछ,” किरणले भने ।

माल्दिभ्समा आयोजना भएको साफ फुटबल उपविजेता बनेको टोली सोमबार स्वदेश फर्केको हो । नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा स्वागत गरे ।
नेपाल फाइनलमा भारतसँग ३–० ले पराजित भएको थियो । नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको