३१ आश्विन २०७८, आईतवार

समग्रमा कर्णाली



मानव विकासको सुचकाङ्कमा
एकदमै तल झरेर पनि
सदैव अभाव र गरिवीको मारमा
बाँच्न विवश
मुगाली नागरिकहरूका बाध्यता अहिले
पिना गाउँको झ्यारी खोला भीरसँगै
कहिल्यै नमेटिने दाग बनेर
छायाँनाथको ग्रामीण वस्तीबाट
शिक्षाको दियो खोज्दै हिँडेका
लालाबालाहरूको वस्तीमा
खुसियाली त दिन सकेन
बरु तुषारापातको थप उपहार दिएर
चेतनाशुन्य वस्ती बनाउन पुगेको छ !

मुगु जस्ता दुर्गम वस्तीहरूमा
कहाली लाग्दा अनकन्टार
भीर पाखाहरू त
कति छन कति
ति भीर पाखा र
कडा चट्टानहरूलार्इ
सडक मार्गको नाउँमा
बिस्फोटक पदार्थ र
डोजरे विकासले
छिचोल्दै जाँदा
पहाडका जगहरू
हल्लिएका छन्
थर्किएका छन्
अनगन्ति ठाउँहरूमा
जमीनहरूमा चिरा परेका छन्
पानी बर्षातले गर्दा
सडकका सतह
भास्सिएका छन्
खोला नदी तथा खहरेहरूमा
आउने विपत्तिका शृङ्खलाहरू र
सुख्खा पहिराहरूले
सडकको नामोनिसान मिटेका पनि छन् !

पानी बर्षात नसकिंदै
ति पहाडहरूमा
गाडी चल्न सक्ने नसक्ने अवस्थाको
अध्ययन अनुगमन र अवलोकन नगरी
गाडीका घारघुर आवाजहरू
जन सुविधाका नाउँमा
प्रकृतिसित पौँठेजोरी खेले झैं
जबर्जस्ती चलाउन खोज्ने
पैसा सङ्कलक मालिकहरू र
रोजगारीका नाउँमा
मापसेको सहारा र
लापरवाही गर्ने चालकहरूको गठजोड
थाह पाएर पनि
वैकल्पिक मार्गको अभाव झेल्दै
गन्तव्यको खोजीमा
गाडीमा कोच्चिन बाध्य छ्न् नागरिकहरू !

कर्णाली त्यसै पनि
अभाव र गरिवीमा बाँच्न विवश छ
शिक्षा र ओखतीमुलोको लागि
सहर बजार खोज्दै जानु पर्ने
विधिको बिडम्बना जस्तै
बेहोर्नु परेकै त छ
उसै माथि
यातायात दिन खोज्नेहरूले अनि
सागुँरो सडक बनाउनेहरूले
त्यो सडक भन्दा चौडा
बस र ट्रकहरू
ओहोर दोहोर गर्लान् भन्ने
कल्पना गरेनन कि क्या हो ?
सायद !
उकालो ओह्रालो र
कडा चट्टानहरुको बीचबाट
असङ्ख्य साना घुम्ती र मोडहरू
खोला खोल्सा र कहाली लाग्दा
नाङ्गा र काला डाँडा पखेराहरूबाट
साना सवारीहरू त
मुश्किलले पार गर्न सक्ने
वास्तविकताको धरातल च्यात्दै
ठुला सवारी सञ्चालनका लागि
कसले र कसरी अनुमति दिएको होला ?
अहिलेको आम प्रश्न हो यो !

मलामी, काज किरिया र
आफन्तको विवाह र भोज भतेरमा पनि
हेलिकोप्टर चढेर जानेहरू
कर्णालीको माटोमा जन्मिएर पनि
सत्तालाइ मोजमस्ती ठान्नेहरू हो
अब यी यावत प्रश्नहरूको
जवाफ देउ
हैन भने, बाटो छोड
हामी बनाउँछौं अब
भन्ने बेला आइ सक्यो है !

कवि माझी कर्णालीका लोक सर्जक हुन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको