३१ आश्विन २०७८, आईतवार

डोल्पामा त्रिपुरकोट गाउँमा आफ्नै प्रकार दसैँ, टिका साइतभन्दा फरक समयमा टिका जमरा




२८ असोज, सुर्खेत । देशभरी दसैँमा टिका लगाउने एकै नियम भएपनि डोल्पाको त्रिपुराकोटमा दसैँको टिका लगाउने फरक रहेको छ । त्यहाँको देवताका नियम अनुसार परापूर्वकालदेखि नै त्रिपुराकोटबासीको आफ्नै चलन रहेकको छ ।

त्रिपुराकोटमा बसोबास गदै आएका न्यौपाने, देवकोटा, पाण्डे, विष्ट, कठायत, दमाई, कुलाल र सार्की लगायतले परापूर्वकालदेखि नै आफ्नै साइतमा दसैँको टीकाजमरा लगाउँदै आएका छन् ।

घटस्थापनाको दिन सुरु भएको पूजा प्रायः दशैँको दिन दिउँसो ३ बजेतिर मात्रै सकिने भएकोले त्यसअघि दसैँको टीका लगाए गाउँमा अनिष्ट हुने विश्वास रहेको पुजारी लक्ष्मीरुद्र उपाध्याय बताए । ‘पूजा सकेर भगवती माईलाई मूल मन्दिरमा भित्र्याएपछि मात्रै गाउँलेले टीकाजमरा लगाउँनु पर्छ,’ उनले भने,‘अरु अर्धपीठ हुन् । त्रिपुरासुन्दरी पूर्णपीठ हो । त्यसैले त्रिपुरासुन्दरीको नियम अनुसार काम गर्नुपर्छ ।’

दसैँको टिकाको साइत बिहान हुने भएपनि त्रिपुराकोट गाउँमा भने बेलुकादेखि टिका ग्रहण जमरामा लगाउने चलन रहेको पुजारी उपाध्यायले बताए । ‘हाम्रो पुजाआजा बेलुका मात्र सकिन्छ,’ उनले भने,‘टिका जमारा बेलुकाबाट सुरु भएर मध्यरातसम्म लगाउने चलन रहेको छ ।’

घरको काम सकेर साँझको समयमा परिवारका सबै सदस्य र आफन्तजनहरू एकै ठाउँमा भेला भएर त्रिपुराकोटवासीले अग्रजको हातबाट टीका थाप्ने र आशीर्वाद लिने गर्छन् ।

दुई सयभन्दा धेरै घरपरिवारको बस्ती रहेको त्रिपुराकोटबाहेक डोल्पा जिल्लाका अरु गाउँमा भने पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको साइतमै दसैँको टीकाजमरा लगाउने चलन रहेको छ ।
फोटोः रामचन्द्र न्यौपाने


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको