३१ आश्विन २०७८, आईतवार

नेपाली ‘गोल्डस्टार जुत्ता’ अब अमेरिकी बजारमा



२७ असोज, काठमाडौं । गोल्डस्टार जुत्ता हरेक नेपाली पैतालाको नजिकको साथि हो । नेपाली जुत्ताहरुमा निक्कै रुचाइएको, निकै पुरानो र चर्चित ब्राण्ड गोल्डस्टारका जुत्ताहरु अब अमेरिकी बजारमा पाइने भएका छन् ।

गोल्डस्टार जुत्ताको निर्माता तथा उत्पादक–वितरक कम्पनि किरण सुज म्यानुफ्याक्चर्सले संयुक्त राज्य अमेरिकामा आधिकारिक वितरक नियुक्त गरी अमेरिकी बजारमा आफ्नो विक्री–वितरण सुरू गर्ने भएको छ ।

सोमबार विशेष कार्यक्रमको आयोजना गरी अमरिकाको न्यूयोर्कमा गोल्डस्टारको बिक्री वितरण उद्घाटन गरिएको छ । कार्यक्रममा कम्पनीका अध्यक्ष आमिर प्रताप ज.ब.राणाले गोल्डस्टार जुत्ता संयुक्त राज्यभरका निर्दिष्ट स्थानहरूबाट उपलब्ध हुने घोषणा गरे ।

नेपाली नागरिकले धेरै टिकाउ, किफायती, सहज र आकर्षक जुत्ताका रूपमा लिने गरेको गोल्डस्टार अमेरिकी बजारमा समेत ल्याउन पाउँदा खुसी लागेको अध्यक्ष राणाले बताए । गोल्डस्टारको प्रमुख मोडल ०३२ भेरियन्टले नेपालमा ठूलो चर्चा पाएको थियो ।

त्यसपछि पनि गोल्डस्टारले समयअनुकुल आकर्षक डिजाइनहरु बजारमा पठाउने गरेको छ । अध्यक्ष राणाले भने, ‘हाम्रो अनुभवको तीन दशकको समयमा दुई महाद्वीपहरू पार गरी हामी अब संयुक्त राज्य अमेरिकामा आइपुगेका छौं, यो सबैभन्दा गर्वको कुरा हो र हामी अमेरिकामा पनि आकर्षक जुत्ताहरू ल्याउने कुरामा प्रतिबद्ध भएर लागिपर्नेछौं ।’

कार्यक्रममा उपस्थित अमेरिकाका लागि नेपालका कार्यवाहक महावाणिज्य दूत बिष्णुप्रसाद गौतमले गोल्डस्टारले अमेरिकामा व्यापार विस्तार गर्नु सबै उद्यमीहरुका लागि खुसीको कुरा भएको बताए । नेपाली उत्पादनहरु विश्वव्यापी उचाईमा पुर्याउन गोल्डस्टारले महत्वपूर्ण भूमिकामा खेल्नेमा आफू विस्वस्त रहेको उनले बताए ।

सुरुमा धेरै डिजाइनका गोल्डस्टारका जुत्ताहरु नपाईएपनि अहिले विभिन्न डिजाइनमा आकर्षक जुत्ताहरु उपलब्ध छन् । यसकारण पनि युवा पुस्ताले समेत गोल्डस्टार ब्राण्डका जुत्ताहरु लगाएर हिँडिरहेको हामी देख्न सक्छौँ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको