३ कार्तिक २०७८, बुधबार

मुगु बस दुर्घटना अपडेट: मृतकको संख्या ३२ पुग्यो



२६ असोज, काठमाडौं । मुगुको पिनाटपाने खोलामा मंगलबार दिउँसो भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार छायाँनाथ रारा नगरपालिका–७ पिनाटपाने खोलामा भएको बस दुर्घटनामा चालकसहित मृतकको संख्या ३२ पुगेको छ ।

उनका अनुसार २४ जना घटनास्थलमा र अरू थप चार जनालाई एयरपोर्ट पुर्याउँदै मृत्यु भयो । उनले भने, ‘बाँकी घाइते १६ जनालाई हामीले नेपालगञ्ज र कोहलपुर पठाएका थियौं । बाँकेमा अहिले भर्खरै बुझ्दा थप चार जनाको उपचारको क्रममा मृत्यु भएको खबर आएको छ । अब कुल मृत्यु हुनेको संख्या ३२ पुग्यो ।’

घटनास्थलमा मृत्यु भएकामध्ये १६ जना पुरूष, ७ जना महिला र १ जना बालक छन् नेपालगञ्जमा अहिले १२ जनाको उपचार भइरहेको छ ।

समिट एअर र नेपाली सेनाको हेलिकप्टरमार्फत् घाइतेहरुलाई उपचारका लागि नेपालगञ्ज लगिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सुर्खेतबाट मुगुका लागि गएको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पौने २ बजेतिर मुगुमा दुर्घटनामा परेको थियो । बसको टायर पञ्चर भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

जिल्ला अस्पताल मुगुमै उपचाररत एक जना बालिकाको अवस्था भने सामान्य रहेको छ ।

३ जना गाडीबाट हाम फालेको र २ जना दुर्घटना हुनुभन्दा केही समय अघि ओर्लिएको बुझिएको छायानाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले बताएका छन् ।

मेयर शाहीका अनुसार मृतक, घाइते र गाडीबाट हाम फालेर वा ओर्लिएर बचेकाहरूको संख्या हेर्ने हो भने गाडीमा ४९ जना सवार रहेको देखिएको छ । यद्यपि घटनास्थलको भिरमा प्रहरीले मानिसको खोजी गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको