मुगुमा बस दुर्घटना: २२ को मृत्यु, १४ जना घाइतेलाई हेलिकप्टरमार्फत् नेपालगञ्ज ल्याइँदै
२६ असोज, काठमाडौं । मुगुको पिनाटपने खोला भन्ने ठाउँमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २२ जनाको मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।
मंगलबार दिउँसो अन्दाजी साढे १ बजे छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोला भन्ने ठाउँमा बस दुर्घटना भएको हो । सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
निरीक्षक जीवन लामिछानेका अनुसार बस सडकबाट दुई सय मिटर तल खसेको बस क्षतविक्षत अवस्थामा छ । उनका अनुसार गाडीमा ३९ जना सवार थिए ।
उनले भने ‘दुर्घटनास्थलबाट अहिले घाइतेको उद्दार गर्दै अस्पताल लिने काम भइरहेको छ । जिल्लाबाट प्रहरी टोली जाँदैछ ।’
दुर्घटनामा घाइते १४ जनालाई जहाज र हेलिकप्टरमार्फत् नेपालगञ्ज ल्याउन लागिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उद्दारको लागि सशस्त्र, नेपाल प्रहरी, स्थानीयबासी खटिएका छन् ।