५ कार्तिक २०७८, शुक्रबार

दशैँको मुखैमा भयाँनक दुर्घटना: घान्द्रुक घुम्न गएका ७ जना विद्यार्थी र ड्राइभरको मृत्यु



२५ असोज, पोखरा । नेपालीको महान चाड वडादशैँको मुखैमा कास्कीको नयाँ पुलमा जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ ।

ज्यान गुमाउनेमध्ये ७ जना काठमाडौंबाट घान्द्रुक घुम्न आएका विद्यार्थी र १ जना जीप चालक (कास्की अन्नपूर्ण गाउँपालिकाका वासिन्दा) रहेको खुलेको छ ।

दशैं विदामा पोखरा घुम्न आएका काठमाडौं महानगरपालिका–३ गोंगबुका विद्यार्थी र उनीहरुलाई लिएर घान्द्रुक जाँदै गरेका जिपचालक दुर्घटनामा परेका हुन् । नयाँपुलबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको जीप अन्नपूर्ण गाउँपालिका–१० हुदु कलडाँडा भीरमा दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

दुर्घटनामा मृत्यु हुने जीप चालक अन्नपूर्ण गाउँपालिका–५ का ४२ वर्षीय खुसीमान क्षेत्री छन् । यस्तै काठमाडौंबाट घुम्न जाँदै गरेका गोंगबुका १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउँका २४ वर्षीय अछुतम् काफ्ले, १८ वर्षीय आशिष आले, सोही ठाउँ बस्ने गोरखाका २७ वर्षीय विनय क्षेत्री र एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते २० वर्षीया देविका घिसिङको सकुशल उद्धार गरिएको प्रदेश प्रहरी कार्यालयका डीएसपी श्रवणकुमार विकले जानकारी दिए । ‘गोंगबुबाट मिलेर घुम्न निस्केको र दिउँसो नयाँ पुलबाट घान्द्रुक जाँदै गर्दा जीप दुर्घटना भएर चालकसहित ८ को मृत्यु भएको खुलेको छ,’ विकले भने, ‘उनीहरुको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ल्याइँदै छ ।’

घान्द्रुक जाने सडक हुदु कलडाँडा भीरमा निकै बिग्रेको छ । उकालो र घुम्ती कटाउन लाग्दा जीप ब्याक भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको घटनास्थल पुगेका कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए । डिएसपी हमालका अनुसार सडकको माथिल्लो घुम्तीबाट २ सय मिटर तल सोही सडकमा जीप आइपुगेको छ ।

कच्ची र अप्ठेरो बाटोमा जीप ब्याक भएर ब्रेक पनि नलागेका कारण दुर्घटना भएको स्थानीयले पनि बताएको हमालले जानकारी दिए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको