२ कार्तिक २०७८, मंगलवार

आधुनिक औद्योगिक क्रान्तिको शुरुवात: नेपालमै पहिलो पटक सञ्चालनमा आयो डिजिटल फ्याक्ट्री



२३ असोज, काठमाडौं । समान्यतया नेपालमा उत्पादन व्यवसाय/उद्योग भन्दा ठुलो आवाज आउने, खिया लागेजस्तो र कष्टकर मानव श्रममा आधारित उत्पादन विधिको झल्को आउँछ । तर गत साताको सोमबार (अर्थात् २०७८ साल, असोज १८ गते) ललितपुरको सानोखोकाना स्थित एक उद्योग भित्र कम्प्युटरको माध्यमबाट स्वचालित आधुनिक प्रकारका उत्पादन सम्बन्धि उपकरणहरूको अवलोकन भइरहेको थियो ।

जिनर टेक्नोलोजिज् प्रा.लि. र प्रो माइण्ड्स होल्डिङ्सको संयुक्त सझेदारिमा सञ्चालनमा आएको उक्त उद्योगको नाम DigiFactory रहेको छ । जिनर टेक्नोलोजिज्का संस्थापक तथा डि.जी फ्याक्ट्रिका प्राविधिक सल्लाहकार ईन्जिनियर रामचन्द्र थापाका अनुसार DigiFactory यस्तो उद्योगको अवधारणा हो जहाँ वस्तु उत्पादन सम्बन्धी नविनतम् सोच लिएर हिँडेका जो कोहिको सोचलाई लिएर कम्प्युटर डिजाइनका माध्यमबाट वस्तुमा परिणत गर्न सकिन्छ । डिजी फ्याक्ट्री भित्र जडान गरिएका आधुनिक 3D Printers – जसले कम्प्युटरमा भएको 3D डिजाइनबाट प्लास्टिक, रबर तथा रेजिनसम्बन्धी वस्तुहरू दुरूस्तै उत्पादन गर्न सक्दछ ।

3D Scanner – जसको प्रयोगबाट अत्यन्तै कठिन आकार र बनावटका इन्जिनियरिङ, स्वास्थ्य तथा मुर्तिकला सम्बन्धी बस्तुहरुको डिजिटल डिजाइन निकाल्न र यसपश्चात् 3D Printer बाट सहजै उत्पादन समेत गर्न सकिन्छ ।

LASER CUTTER– लेजर विकिरणको विधिबाट Acryllic, MDF, काठ, छाला, रेक्जिन् तथा पातला प्लास्टिक सिटमा डिजाइन अनुसारको बुट्टा अथवा पूर्णकटिङ्ग गरी कला, विज्ञापन तथा अन्य वस्तुहरु समेतको उत्पादन गर्न सकिन्छ ।

CNC Plasma Cutter- तातो हावा र विजुलीको झिल्काको मिश्रणबाट विद्युत प्रवाह हुने जुनसुकै धातुहरुमा (फलामका पाता, आलुमीनियम, पित्तलका पातला तथा मोटा पाताहरु) कम्प्यूटरमा गरिएको डिजान अनुरूप काट्न सकिन्छ । यस कार्यशाला भित्र अन्य विविध औजार उपकरणहरु जस्तै Vaccum Forming, कटर, ग्राइण्डर, वेल्डिङ्ग आदी रहेका छन् ।

विगतमा यी प्रविधिको प्रयोगबाट यस कम्पनीले कोभिड–१९ रोकथामका निम्ति पि.पि.ई, फेस शिल्ड, गगल्स् चस्मा, फ्रन्ट डेस्क शिल्ड तथा सेनिटाइजर डिस्पेनसरहरु उत्पादन गरी आवश्यकता अनुरुप वितरण गरिसकेको छ ।

इन्जिनियर थापाले आगामी दिनहरुमा केवल व्यवसायिक प्रयोजनका लागि मात्र नभई सामाजिक उत्तरदायित्वमार्फत् आपाङ्गमैत्री प्रविधिको विकाश गर्न यहाँको सिप तथा स्रोत साधन प्रयोगमा ल्याउने उदेश्य रहेको बताए । उनले भने, ‘नेपालजस्तो मूलुकमा औद्योगिक परिवर्तन ल्याउन यस्ता प्रविधिले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् ।’ इन्जिनियर थापाले इच्छुक उद्योग व्यवसाय, युवा सञ्जाल तथा अनुसन्धानमा लागेका अन्वेशकहरुलाई उचित प्रयोगका निम्ति कार्यशालाको भ्रमण गरी सहकार्यमा जुट्न आग्रह समेत गरे ।

यस समूहले सन् २०१८ मा यूएनडिपी नेपालको विश्व वातावरण कोष, साना अनुदान कार्यक्रम (GEF/SGP/UNDP) मार्फत् केहि सुरुवाती सहयोग र सन् २०२०-२१ मा UK AID अन्तर्गतको विश्वव्यापी कोभिड एक्शन अवार्ड (COVIDaction) समेत प्राप्त गर्न सफल भएको थियो ।

वास्तवमै यस्ता नविनतम् सोच र देशभित्रै आधुनिक औद्योगिक क्रान्तिको जोश लिएर हिँडेका हजारौं युवा र उनीहरुका उदाउँदा व्यावसायिक यात्रालाई राज्यबाट उचित पहिचान र संरक्षण हुनु जरुरी छ । यसो गर्न सकिए मात्रै स्थानीय उत्पादनमार्फत् समग्र मूलुकको अर्थतन्त्र सुदृढ भई स्वदेशमै लाखौँ रोजगारीका अवसरहरु सिर्जना हुने अवस्था बन्नसक्छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको