३१ आश्विन २०७८, आईतवार

जन्मथलोमै तीन चेलीको स्वास्थ्यकर्म




असोज २२, कालिकोट । नेपालका आमडाक्टर हत्तपत्त दुर्गम क्षेत्रमा जान मन पराउँदैनन् । उनीहरूको पहिलो रोजाइ सुगम क्षेत्र नै हुन्छ । तर, डा। किरण शाही, डा। अप्सरा हमाल र डा। रमिता नाथ योगी भने अपवादका पात्र हुन् ।

यी तीनै जना कालिकोटमै जन्मे हुर्केका हुन् । उनीहरूले कालिकोट जिल्ला अस्पताललाई आफ्नो कर्मथलो बनाउनुमा आफू जन्मेको जिल्लाको माया, विकट पहाडी क्षेत्र र कालिकोटको स्वास्थ्य अवस्थाबारे जानकारी भएर नै हो ।

यी तीन जना डाक्टरले आफू जन्मेको भूमिलाई कर्मथलो छान्नुमा आआफ्नै कथा छन् । व्यथा छन् । त्यही कथा र व्यथाले उनीहरूलाई दुर्गममै बसेर दीनदुःखीको उपचार गर्ने आत्मबल मिलेको हो ।

डा। किरण शाहीले कालिकोट जिल्ला अस्पतालमा रहेर सेवा गर्न चाहनुमा उनको आफ्नै भोगाइ छ । १४ वर्षको छँदा उनको खुट्टामा गम्भीर समस्या आयो । त्यतिबेला कालिकोटबाट सहरबजार जान बाटोघाटो, सञ्चारकोे कुनै सुविधा थिएन । गाउँमा सामान्य स्वास्थ्यचौकी र जिल्लामा दक्ष चिकित्सकको अभाव थियो ।

सामान्य खालका बिरामीको उपचार हुने गरे पनि जटिल खालका बिरामीको उपचार हुँदैनथ्यो । फलस्वरूप उनले उचित उपचार पाउन सकिनन् । बाबुआमाले उनलाई उपचारका लागि नेपालगन्जस्थित हाडजोर्नी तथा नसारोग अस्पतालमा पु¥याए । तर, त्यहाँ पनि उनको हुन सकेन । त्यसपछि उनलाई काठमाडौं लगियो । काठमाडौंमा मात्रै उनको उपचार सम्भव भयो ।

जिल्लाको खाँडाचक्र नगरपालिकास्थित मान्ममा जन्मिएकी उनी पछि आफैं डाक्टर बनिन् । विगतमा आफूले भोगेको पीडालाई उनले गम्भीरतापूर्वक लिइन् । त्यसैले त उनले आफ्नै जन्मथलोलाई कर्मथलो बनाइन् ।

‘मैले सानोमा जे घटना बेहोरें, यसले मलाई चिकित्सक बन्न प्रेरित ग¥यो, चिकित्सक बनेपछि गाउँमै सेवा गर्न मनले चाह्यो, अहिले गाउँघरमा सेवा गर्न पाउँदा म ज्यादै खुसी छु,’ डा। किरणले भनिन् ।

‘अब मेरो कर्म मजस्तै दुःखी, गरिब, असहायको सेवामा बित्नेछ,’ उनले गर्वका साथ भनिन् ।

डा। रमिता नाथ योगी भने जिल्लाको नरहरिनाथ गाउँपालिका–९ लालुकी हुन् । उनको पीडा झनै मार्मिक छ । उनले ८ कक्षा पढ्दा पढ्दै १४ वर्षको उमेरमा पाठेघर क्यान्सरबाट आमा गुमाएकी थिइन् ।

सामान्य परिवारमा जन्मिएकी रमिताको आर्थिक अवस्था निकै कमजोर थियो । उतिबेलाको समयमा सामान्य व्यथा बिमार लागेमा सिटामोलसमेत नपाउने गाउँमा उपचार सम्भव थिएन । ज्यान जोगाउन ऋण सापटी गरेर भए पनि उपचारका लागि सुर्खेत, नेपालगन्जलगायतका सहरमा जानुपर्ने बाध्यता थियो ।

डा। रमिताको परिवार गाउँको खेतबारी बेचेर आमाको उपचारमा जुट्यो । तर, पनि बचाउन सकिएन । सानै उमेरमा आमाको मृत्यु भएपछि टुहुरी बनेकी रमितालाई कञ्चन नेपाल भन्ने संस्थाले निःशुल्क पढायो । उनले कक्षा ११ र १२ पूर्ण छात्रवृत्तिमा निःशुल्क पढ्न पाइन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनले नाम निकालेकी थिइन् ।

‘अहिले आफ्नै जन्मथलोमा सेवा गर्न पाएकी छु, औषधि उपचार नपाएर मैले जन्मदिने आमा गुमाउन बाध्य भए पनि अब मेरी आमाजस्तै कसैको ज्यान नजाओस् भन्ने हेतुले दुर्गममै आएर आफ्नो जन्मथलोमा सेवा गरेकी छु,’ उनले भनिन् ।

डा। अप्सरा भने तिलागुफा नगरपालिका–३ फोईमा जन्मिएकी हुन् । पढ्नमा सधैं अब्बल अप्सरा कक्षामा सानैदेखि प्रथम हुन्थिन् । उनले कालिकोटस्थित गाउँकै स्कुलबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेकी थिइन् । त्यतिबेला जिल्लामा एसएलसीसम्म पढ्ने विद्यार्थी नै कम हुन्थे । त्यसमा पनि प्रथम श्रेणीमा उत्तीर्ण गर्नु चानचुने कुरा थिएन ।

दुर्गमका नागरिकको दयनीय अवस्थाको भुक्तभोगी अप्सराले पनि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाटै एमबीबीएस गरेकी हुन् । ‘गाउँमै जन्में, गाउँमै हुर्कें, अहिले गाउँमै सेवा गर्न पाउँदा अति नै खुसी छु,’ उनले भनिन् ।

विगतमा डाक्टरले त्यति भाउ नदिने कालिकोट जिल्ला अहिले स्थानीय डाक्टरले सेवा दिन थालेपछि सेवाप्रवाहमा सहज बन्दै गएको स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर रत्नवीर सुनारले बताए ।

दक्ष, विषय विज्ञ र दरबन्दीअनुसारका डाक्टरको त कुरै छोडौं, एमबीबीएस डाक्टरसमेत पाउन नसकेको जिल्ला अस्पतालले अहिले स्थानीय डाक्टर पाएपछि अस्पतालले निरन्तर सेवा दिन थालेको स्वास्थ्य सेवा व्यवस्थापक डा। रत्नवीर सुनारले बताए ।

व्यवस्थापक सुनारले भने, ‘जिल्ला अस्पतालमा मात्र होइन, जिल्लाका नौवटै स्थानीय तहमा डाक्टरसहितको सेवा सुचारु गरिएको छ । दरबन्दी नभएको ठाउँमा अहिले एक हप्ताका लागि डाक्टर पठाउने गरेका छौं’ । राजधानी दैनिकबाट


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको