३१ आश्विन २०७८, आईतवार

पूर्व फुटबल खेलाडी गुरुङको सम्झनामा अक्षयकोष स्थापना गरिने




सुर्खेत, २१ असोज । सुर्खेत जिल्ला खेलकद् विकास समितिका भूतपूर्व अध्यक्ष एवम् फुटबल खेलाडी स्वर्गीय यज्ञ गुरुङको सम्झनामा अक्षकोष स्थापना हुने भएको छ । वीरेन्द्रनगर नगरपालिकामा प्रमुख देवकुमार सुवेदी, जिल्ला फुटबल संघ सुर्खेत र संघका अध्यक्ष जनकबहादुर रावलले संयुक्त रुपमा अक्षकोष स्थापना गर्ने भएका हुन् ।

संघले बुधबार विजया दशमी, शुभदीपावली तथा छडपर्व र नेपाल सम्मवतको असरमा पारी आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा अक्षकोष स्थापन गर्ने घोषणा गरिएको हो ।
खेलाडीको सम्मान र गुरुङको सम्झनामा स्थापना गरिने अक्षकोषमा नगरप्रमुख सुवेदीले व्यक्तिगत रुपमा एक लाख, फुटबल संघले ५१ हजार र संघका अध्यक्ष रावलले २५ हजार पाँचसय रुपैयाँ सहयोग गर्ने घोषणा गरे । कोषको प्राप्त हुने ब्याजबाट हरेक बर्ष उत्कृष्ठ फुटबल खेलाडीलाई छात्रबृत्ति एवम् सम्मान गरिने छ ।

कार्यक्रममा बोल्दै नगरप्रमुख सुवेदीले खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले वीरेन्द्रनगरको खेलकुद क्षेत्रमा फ्रि–वाईफाईको व्यस्थापन र प्रदेश रंगशाला निर्माण नहुँदासम्मका लागि कालुन्चौक मैदानलाई बैकल्पिक खेलकुद मैदान बनाउने प्रतिबद्धता जनाए ।

कर्णाली खेलकुद् परिषद्का उपाध्यक्ष प्रमोद हमालले प्रदेशको खेलकद्को विकासका लागि परिषद्ले भौतिक संरचना निर्माणलाई तीब्रता दिएको जनाए । उनले वीरेन्द्रनगरमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको प्रदेश रंगशाला निर्माण प्रक्रिया सुरु हुनु खेलकुद क्षेत्रको ठूलो उपलब्ध भएको तर्क गरे । आउँदो मंसिरदेखि निर्माण थालिने रंगशाला ३० महिनाभित्र सम्पन्न हुने जानकारी दिए ।

त्यस्तै संघका अध्यक्ष रावलले कोरोना महामारीको संक्रमण घट्दै गएका कारण दशै लगत्तै खेलकुद् गतिविधिहरु हुने बताए । कात्तिक २४ गतेदेखि जिल्ला लिंक र मंसिर दोस्रोसातादेखि मेयर र उपमेयर कप फुटबल प्रतियोगिता हुने जानकारी दिए । मंसिरमा सुरु हुने पुरुषतर्फको मेयरकप र महिलातर्फको उपमेयरकपको तयारीका लागि वीरेन्द्रनगरमा क्रियाशिल फुटबल क्लवलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा खेलकुद पत्रकार मञ्चका अध्यक्ष भानुभक्त अधिकारीले सुर्खेतका खेलकुद क्षेत्रको विकासका लागि सहकार्य गर्न तयारी रहेको प्रतिबद्धता जनाए । उनले सुर्खेतलाई खेलकुद्को क्षेत्रबाट चिनाउन पत्रकारिताका क्षेत्रले सधै सहयोग गर्ने बताए ।

एथलेटिक्स संघ सुर्खेतका अध्यक्ष हर्षविक्रम खड्काले कर्णालीमा खेलकुद क्षेत्र विकासको भौतिक संरचना अभाव रहेको भन्दै यसको विकासका लागि स्थानीय तहले पहल गर्नुपर्ने बताए । वीरेन्द्रनगर प्रदेशको राजधानी भएपछि खेलकुद भौतिक संरचना निर्माण थालेको भन्दै संरचना निर्माण नहुदासम्म बैकल्पिक खेलकुद् मैदान उपलब्ध गराउन नगरपालिकालाई आग्रह गरे ।

फुलबल संघ सुर्खेतका महासचिव गणेशकुमार कार्कीले प्रदेश र स्थानीय तहले सहयोग गरेमात्रै कर्णाली प्रदेशमा समग्र खेलकुद क्षेत्रको विकास हुने बताए ।

कार्यक्रममा राष्ट्रिय महिला फुटबल टिममा छनौट भई २०२१ मा उज्वेकिस्तानमा सम्पन्न एसियाली महिला क्वालिफियु राउन्ड (Asian Womens Qualifiying Round)मा सहभागी भई सुर्खेत जिल्ला फुटबल संघ र देशकै नाम उच्च राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सुर्खेतका फुटबल खेलाडी सृजनासिंह ठकुरीलाई सम्मान गरिएको थियो । कार्यक्रममा खेलकुद्का विभिन्न विधामा क्रियाशिल प्रशिक्षक र खेलाडीहरु शुभकामना दिएका दिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको