५ कार्तिक २०७८, शुक्रबार

मलिकालाई फिल्म अफरको ओइरो




असोज १५, काठमाडौं । म्यूजिक भिडियोले यदी कसैको करिअर चम्काएको छ भने त्यो मलिका महतको हो । लकडाउनमा सार्वजनिक भएको ‘फुलबुट्टे साडी र टाढा भए पनि’ बोलको म्यूजिक भिडियोले उनलाई फिल्मले पनि दिन नसकेको लोकप्रियता दिलायो । अहिले उनी म्यूजिक भिडियोमा सर्वाधिक माग भएकी मोडलमा पर्छिन् । उनले पारिश्रमिकमा समेत अभिनेता पल शाहलाई भेट्न थालिसकेकी छन् ।

सलिनमान बनियाँ स्टारर फिल्म ‘यात्रा’ बाट उनले अभिनेत्रीको रुपमा डेब्यू गर्ने अवसर पाएकी थिइन् । बक्सअफिसमा अनमोल केसी अभिनीत फिल्म ‘ए मेरो हजुर ३’ सँग भिड्नु परेकाले मलिकाको डेब्यू फिल्मले सुखद नतिजा हात पार्न सकेन । यद्यपि, फिल्म हेर्ने जतिले उनको अभिनय र सुन्दरताको प्रशंसा गरेका थिए । तर, फिल्म फ्लप हुँदा उनको काम पनि ओझेलमा पर्‍यो ।

पहिलो फिल्म रिलिजको एक वर्षपछि उनले दोस्रो फिल्मको रुपमा ‘पानीफोटो’ मा काम गरिन् । यो फिल्म प्रदर्शनमा आउन बाँकी छ । यसमा काम गरेपछि उनलाई नयाँ फिल्मबाट अफर नै आउन छाडेको थियो । तर, कोरोनाकाल उनका लागि ‘लक्की’ सावित भयो । लकडाउनको समयमा अभिनय गरेका म्यूजिक भिडियो लगालग हिट भएपछि उनलाई फिल्म अफरको ओइरै लागेको छ ।

पहिलो लकडाउनपछि उनलाई गोपीकृष्ण मुभिजको हिट फिल्म ‘पर्खि बसेँ’ को सिक्वेलबाट अफर भएको थियो । यसपछि निर्देशक विकासराज आचार्यले ‘नाईं नभन्नू ल ६’ को प्रस्ताव गरे । अहिले उनलाई साइन गराउन फिल्म ‘सत्यम्’ को टिम प्रयास गरिरहेको छ । उनलाई अरु पनि प्रतिष्ठित ब्यानरबाट फिल्म अफर भएको जानकारीमा छ । तर, उनले भने कुनै फिल्म साइन गरेकी छैनन् ।

स्रोतका अनुसार, मलिकालाई फिल्म ‘नाईं नभन्नू ल ६’ बाट अफर भए पनि अब निर्माण टिमले उनलाई नलिने निधो गरिसकेको छ । ‘पर्खि बसेँ २’ र ‘सत्यम्’ मा भने उनले काम गर्ने सम्भावना प्रवल छ । उनी यी दुई फिल्ममा काम गर्न तयार भएको खण्डमा पल शाहसँग उनको जोडी बाँधिन सक्छ । ‘सत्यम्’ मा पल पक्का भइसकेका छन् भने ‘पर्खि बसेँ २’ को अफर पनि उनलाई पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको