२ कार्तिक २०७८, मंगलवार

बुद्ध एयरका पाइलट शेर्पालाई ७२ घण्टासम्म उडान भर्न रोक




असोज १४, काठमाडौं । बुद्ध एयरका पाइलट आङ्गेलु शेर्पालाई नेपाल नागरिक उडड्यन प्राधिकरणले ७२ घण्टाका लागि उडानमा रोक लगाएको छ । अन्तर्राष्टिय नागरिक उडड्यन संगठन (आइकाओ)को मापदण्डअनुसार उनलाई उडान भर्न रोक लगाइएको हो ।

उनले उडान भरेको जहाज भने प्राविधिक जाँचपछि मंगलबार बिहानदेखि नै सञ्चालनमा आएको छ । तर, दुर्घटनाको नजिक पुगेपछि पाइलटलाई हुनसक्ने मानसिक तनावलाई ख्याल गरेर उनलाई केही दिन विदामा बस्न भनिएको प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले बताए । उनले आइकाओको नियम पनि त्यस्तै रहेकोले सोहिअनुसार नै पाइलट शेर्पालाई केही दिन आराम गर्न भनिएको जानकारी दिए ।

उनका अनुसार बुद्ध एयरले पनि पाइलट शेर्पालाई उडान गर्न रोक लगाएको छ । शेर्पाको उडान क्षमतामा भने प्राधिकरण र बुद्ध एयरले कुनै कमी कमजोरी देखाएका छैनन् । कहिलेकाही जोखिमपूर्ण उडान भर्दा आराम चाहिने भएकोले शेर्पालाई आराम गर्न भनिएको प्राधिकरणका निमित्त महानिर्देशक क्षेत्रीले बताए । उनले भने, ‘उहाँको उडान क्षमतामा प्रश्न उठाइएको होइन । त्यस्तो प्रकारको उडानपछि स्वभाविकै आराम चाहिन्छ । यो आइकाओ मापदण्ड नै ।’

सोमबार विहान विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेर बुद्ध एयरको ९–एनएएनआई एटिआर जहाज काठमाडौं फकिएको थियो । जहाजको चक्का (ल्याण्डिङ गेअर) डाउन नभएको र थ्रि ग्रिन सिग्नल नबलेपछि पाइलटले विराटनगर विमानस्थलमा अवतरण गर्न सकेका थिएनन् । त्यसपछि काठमाडौंको आकाशमा केही फन्को मारेर पाइलट शेर्पाले त्रिभुवन अन्तर्राट्रिय विमान स्थलमा सहज अवतरण गराएका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको