३ कार्तिक २०७८, बुधबार

२०२२ मा ठूलो टक्कर : अक्षय र प्रभासको फिल्म भिड्ने




जेन्सी । निर्माण पूरा भएर बसेका बलिउडका कयौं फिल्म कोभिडका कारण रिलिज हुन पाएका छैनन् । शनिवार भारतको महाराष्ट्र सरकारले अक्टोबर २२ बाट सिनेमा हल खोल्न अनुमति दिएपछि निर्माताबीच फिल्मको रिलिज डेट घोषणा गर्न हानाथाप भएको छ । शनिवार र आइतवारसम्म बलिउडका झन्डै ३० बढी फिल्मले रिलिज डेट लक गरेका छन् । यो क्रम अझै रोकिएको छैन ।

फिल्मको प्रदर्शन मिति घोषणा गर्न निर्माताबीच चलेको हानाथापले केही फिल्मको रिलिज डेट जुधेको छ । शनिवार अक्षय कुमार अभिनीत फिल्म ‘सूर्यवंशी’ ले तिहारलाई रिलिज डेट तय गर्‍यो । आइतवार उनी अभिनीत अर्को दुई फिल्म ‘रक्षाबन्धन’ र ‘बच्चन पान्डे’ ले पनि प्रदर्शन मिति तोकेको छ । जसमध्ये ‘रक्षाबन्धन’ को भिडन्त साउथ सुपरस्टार प्रभासको फिल्मसँग हुने भएको छ ।

प्रभास अभिनीत प्रतिक्षीत फिल्म ‘आदिपुरुष’ भारतको स्वतन्त्रता दिवसको अवसर पारेर ११ अगस्ट २०२२ बाट प्रदर्शनमा आउने तयारीमा छ भने अक्षयको ‘रक्षाबन्धन’ ले पनि रिलिजका लागि यही डेट लक गरेको छ । स्वतन्त्रता दिवसमा विदा हुने भएकाले यी दुई फिल्मले रिलिजका लागि यो मिति रोजेका हुन् । तर, एकै मितिमा दुई ठूला फिल्म रिलिज हुँदा घाटा दुवैलाई हुने निश्चित छ ।

ओम राउत निर्देशक रहेको ‘आदिपुरुष’ मा प्रभासका अलावा सैफ अली खान, कृति सेनन र सनी सिंह मुख्य भूमिकामा छन् । हिन्दी, तेलुगु, तमिल, कन्नड र मलयालम भाषामा बन्ने यो फिल्म पौराणिक ग्रन्थ रामायणमा आधारित छ । फिल्मको बजेट ४ सय करोड बताइएको छ । त्यस्तै, आनन्द एल। राय निर्देशित ‘रक्षाबन्धन’ मा अक्षय कुमारसँगै भूमि पेडनेकर मुख्य भूमिकामा छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको