३१ आश्विन २०७८, आईतवार

सात दिन नाघ्दा पनि वडा तहको मतपरिणाम सार्वजनिक भएन




असोज १२, काठमाडौं । ५ असोजमा भएको काठमाडौं महानगरपालिकाको वडा अधिवेशनको नतिजा अझै सार्वजनिक भएको छैन ।

मतगणनामा ढिलाइ भएपछि परिणाम सार्वजनिक हुन नसकेको हो । काठमाडौंको ३२ नम्बर वडाको गणना गएराति एक बजेतिर मात्रै सकिएको छ ।
अन्य वडाको यसअघि नै सकिएको हो । तर, मतगणनाको परिणाम निर्वाचन समितिले सार्वजनिक गरेको छैन ।

काठमाडौं जिल्ला सभापति कृष्ण (सबुज) बानियाँले निर्वाचन समितिले आज बेलुकीसम्ममा विवरण आउने जनाएको बताए ।

‘आज बेलुकीसम्ममा मतगणनाको विवरण सार्वजनिक हुने कुरा छ, निर्वाचन समितिले गएराति एक बजेतिर मतगणना सकेको हो र एउटा मतपत्र गणना गर्न मात्रै १५÷२० मिनेट लाग्दोरहेछ त्यही भएर ढिला भयो’, बानियाँ भन्छन् ।

काठमाडौं महानगरपालिकामा सर्वाधिक ३२ वडा छन् । यी वडाहरूमा भएको अधिवेशनको मतपरिणाम सार्वजनिक भएपछि मात्रै पालिकास्तरको अधिवेशन हुने भएको छ ।

पालिका अधिवेशन यही १६ असोजमा हुने भएको छ ।

केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले वडा र पालिका अविधेशनको अवधि कम भएको बल्ल महसुस भएको बताए ।

‘जुन अन्तर निर्धारण गर्यौं हामीले वडा र पालिकाको, अहिले कम भएको महसुस भयो’, सचिव रिजालको भनाइ छ ।

प्रदेश १ को मोरङको पनि वडा तहको मतपरिणाम सार्वजनिक भएको छैन । त्यहाँ विराटनगर महानरपालिकाको वडामा मतगणना ढिलाइ भएको निर्वाचन समितिले जनाएको छ ।

अन्य केही जिल्लाको पनि वडा तहकै विवरण सार्वजनिक हुन बाँकी छ । जबकि, शनिबार भएको ५६ जिल्लामध्ये अधिकांश पालिकाको मतपरिणाम आइसकेको छ ।

आठ जिल्लाको क्रियाशील सार्वजनिक आज हुने

सदस्यता विवाद टुंगिए पनि अझै आठ जिल्लाको सार्वजनिक हुन बाँकी छ । सार्वजनिक हुन बाँकी जिल्लाहरू पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, रसुवा र कैलाली हुन् ।

रसुवा बागमती र कैलाली सुदूरपश्चिम प्रदेशको जिल्ला हो । बाँकी छ वटा जिल्ला प्रदेश २ को हो ।

क्रियाशील सदस्यता विवाद टुंग्याउन गठित रमेश लेखक, कृष्णप्रसाद सिटौला र डा।मिनेन्द्र रिजाल सम्मिलित समितिले आठवटै जिल्लाको विवाद टुंग्याएको जनाएको छ ।

टुंग्याएसँगै समितिले सदस्यता विवरण प्रकाशन गरेर बुझाएपछि निर्वाचन समितिले सार्वजनिक गर्ने भएको छ ।

निर्वाचन समिति सचिव तथा अधिवक्ता केशव रिजालका अनुसार क्रियाशील सदस्यता आजसम्ममा सार्वजनिक हुने बताए ।

यदि, आज प्राविधिक कारणले सार्वजनिक गर्न नसकिए ढिलोमा भोलिसम्ममा विवरण सार्वजनिक गरिने बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको