१९ फाल्गुन २०७७, बुधबार

चिनियाँ जनता जस्तोसुकै कठिनाइलाई पराजित गर्न सक्षम छन् : राष्ट्रपति सी



रोहित लामिछाने मगर

२३ भाद्र, काठमाडौं । चीनका राष्ट्रपति सी चिङफिङले चिनियाँ जनता हरेक कठिनाइलाई पराजित गर्न सक्षम रहेको बताएका छन् । कोभिड–१९ प्रतिरोध सम्मान समारोहमा बोल्दै मंगलबार राष्ट्रपति सीले यस्तो धारणा राखेका हुन् ।

कोरोना महामारी प्रतिरोधमा खटिएर राष्ट्रिय पदकका लागि मनोनित विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई बेइजिङको जनवृहत् सभामा राष्ट्रिपति सीले पदकसहित सम्मान गरेका छन् ।

चिनियाँ जनता कोरोना महामारीसँग लडिरहेका बेला शुभेच्छा प्रकट गर्ने विभिन्न मुलुक, नेतागण, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संघ संस्थाप्रति राष्ट्रपति सीले आभार प्रकट गरे । उनले भने, ‘कोरोना महामारीका कारण चिनियाँ जनता र विश्वका सबै जनताले भोगेको दुःख, कष्ट एउटै हो । उपचारको क्रममा रहेका विश्वभरका जनताको स्वास्थ्य लाभको कामना गर्छु ।’

राष्ट्रपति सीले कोभिड–१९ प्रतिरोधको क्रममा ज्यान गुमाएका सहिद र भाइरसबाट ज्यान गुमाएका जनताप्रति गहिरो श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

‘पछिल्ला दशकमा उत्पन्न भएका महामारी मध्ये कोभिड–१९ सबैभन्दा गम्भिर महामारी हो ।’ राष्ट्रपति सीले भने, ‘नयाँ चीनको स्थापना यता सङ्क्रमण गति सबैभन्दा द्रूत, सङ्क्रमित परिमाण सबैभन्दा व्यापक र रोकथाम तथा नियन्त्रणमा सबैभन्दा बढी चुनौती देखिएको यो आकस्मिक स्वास्थ्य घटना हो ।’ उनले जनताको स्वास्थ्य र ज्यानलाई पहिलो प्राथमिकतामा राखेर चीन सरकार कोरोना भाइरस विरूद्धको युद्ध लडिरहेको बताए ।

उहान सहरबाट फैलिएको कोरोना भाइरसलाई चीनले १ महिनाभित्रै नियन्त्रण गर्न सकेको थियो । सम्बोधनका क्रममा राष्ट्रपति सीले २ महिनामा दैनिक नयाँ थपिने सङ्क्रमित संख्या दश जनाभन्दा कममा झारिएको र ३ महिनामा उहान र हुवे प्रान्तमा महामारी नियन्त्रण गरिएको बताए ।

अहिले चीनले स्थायी रूपमा कोरोना प्रतिरोध कार्यलाई अघि बढाउदै आर्थिक, सामाजिक विकासका कार्यलाई सुचारू गरिसकेको छ । उनले भने, ‘उत्पादनसँगै जनजीवनसँग सम्बन्धित सबै कामहरू स्थिर रूपमा पुनः सुचारू भएका छन् ।’ राष्ट्रपति सीका अनुसार महामारी रोकथाम तथा नियन्त्रण गर्दै अर्थतन्त्र पुनः सुध्रिएको अवस्थामा पुर्याउने मुलुकमा चीन विश्वमै अग्रस्थानमा छ ।

चीनले महामारीबाट आफु मात्रै जोगिन होइन अरू देशहरूलाई पनि जोगाउन निरन्तर सहयोग गरिरहेको छ । विभिन्न देशहरूसँग महामारीको रोकथाम तथा नियन्त्रणसम्बन्धी अनुभव, विचार आदान–प्रदान गर्न ७० पटक भन्दा बढी कार्यक्रम गरिसकेको छ । त्यस्तै चीनले ३२ वटा मुलुकमा ३४ वटा चिकित्सा विशेषज्ञ टोली पठाएको, २०० वटाभन्दा बढी मुलुक र क्षेत्रलाई महामारी सामग्री उपलब्ध र निर्यात गरेको राष्ट्रपति सीले जानकारी गराए । चीनले यो क्रमलाई अझै निरन्तरता दिइरहेको छ ।

स्रोत : चाइना न्यूजको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु