३ कार्तिक २०७८, बुधबार

गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय प्रमुखलाई नै कार्यालय पुग्न तुइनको भर




असोज १०, सिमकोट । दोस्रोपटक प्रधानमन्त्री बनेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तुइन हटाउने पहिलो निर्णय प्रमाणीकरण गरे ।

उनीभन्दा अघिका सरकारले पनि तुइन विस्थापन गरी झोलुङ्गे पुल बनाउने निर्णय भने नगरेका होइनन् तर केपी शर्मा ओली सरकारकोे पालामा यसले बढी चर्चा पायो । तर चर्चा पाएअनुसार काम नभएको देशभर अझै सञ्चालनमा रहेका सयौं तुइनले पुष्टि गर्छ ।

हुम्लामा पनि तुइन विस्थापन भई झोलुङ्गे पुलमा स्तरोन्नति हुन बाँकी रहेको छ । जसले गर्दा जोखिमपूर्ण तुइनकै भरमा नदी तर्न स्थानीय बाध्य हुँदै आएका छन् ।

यहाँका स्थानीयमात्रै होइन गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत नै तुइनमा यात्रा गर्न बाध्य छन् । सदरमुकाम सिमकोटसँग जोडिएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत कर्णाली नदीमाथिको तुइनकै भरमा कार्यालयमा आउजाउ गर्दै आएका हुन् ।

गाउँपालिका केन्द्र याङ्चु बजार जान तुइन नै तर्नुपर्छ । अधिकृत विष्णुबहादुर शाहीले पुल नभएपछि कार्यालय जान र घर फर्कन तुइन तर्नुपर्ने बाध्यता रहेको बताए ।

खार्पुनाथ गाउँपालिका–४ स्थायी घर भएका उनी एक महिना अगाडि सरुवा भएर गाउँपालिकामा आएका हुन् । उनी माझा गाउँमा रहेको घरबाट एक घण्टाको पैदल हिँडेपछि कर्णाली नदीमाथिको तुइन चढेर कार्यालय पुग्नुपर्ने बाध्यता रहेको सुनाए ।

उनलाई वर्षाको बढेको कर्णाली नदीमाथिको तुइन चढ्न डर लागे पनि अन्य विकल्प भने छैन । कार्यालयमा आवासको व्यवस्था भइनसकेको कारण घरबाटै उनी कार्यालय आउजाउ गर्दै आएका छन् ।

उनीसँगै छिप्रा गाउँ स्थायी घर भएका गाउँपालिका अध्यक्ष कर्णबहादुर रावल पनि तुइनकै भरमा कार्यालय पुग्छन् । उनले निर्वाचनमा विजयी भएदेखि सोही तुइनबाट गाउँपालिका र घर ओहोरदोहोर गर्दै आएका छन् । (देशसंचार)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको