२ कार्तिक २०७८, मंगलवार

देउवा प्रधानमन्त्री भएको ७३ दिन: मन्त्रीमण्डललाई पूर्णता दिन अझै समय लाग्ने



७ असोज, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरउवहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको दुई महिना वितिसक्दा पनि मन्त्रीमण्डलले अझै पूर्णता पाउन सकेको छैन । सत्तारूढ गठबन्धनले मन्त्रिपरिषदलाई पूर्णता दिन बारम्बार छलफल गरे पनि मन्त्रिपरिषदले पूर्णता पाउन अझै केही दिन समय लाग्ने भएको छ ।

बुधबार र मंगलबार सत्तारूढ गठबन्धनका शीर्ष नेताले प्रधानमन्त्री देउवाको उपस्थितिमा बालुवाटारमा मन्त्रिपरिषद पूर्णता दिनेमा केन्द्रित रहेर छलफल गरेका थिए । छलफलमा प्रधानमन्त्री देउवाले अब मन्त्रिमन्डल विस्तारमा ढिला गर्न नहुने भएकोले तत्कालै मन्त्रीहरूको नाम दिन भनेका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तार नगर्दा आलोचना भइरहेकोले अब ढिला गर्न नहुने बताएका थिए । तर जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने पहिले दल विभाजनसम्बन्धी अध्यादेशलाई पहिले निस्कृय बनाएर मात्रै मन्त्रीमण्डल विस्तार गरिनुपर्ने अडान दोहोर्याएका छन् ।

यस्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरूविरूद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतमा मुद्दा दिएकोले त्यो किनारा लागेपछि मन्त्रिमन्डललाई पूर्णता दिन आग्रह गरेका थिए ।

छलफलमा सहभागी कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले भने जतिसक्दो छिटो मन्त्रिमन्डललाई पूर्णता दिनेमा छलफल केन्द्रित रहेको जानकारी दिए । उनकाअनुसार मन्त्रिपरिषद विस्तार, संसद सञ्चालन र संसदमा पेश भएका विभिन्न विधेयकबारेमा बुधबारको सत्तारूढ गठबन्धनको बैठकमा छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपाल, कांग्रेस महामन्त्री खड्का, माओवादीका नेता नारायणकाजी श्रेष्ठ, कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत सहभागि थिए।

मन्त्रिमन्डल विस्तार हुँदा दलहरूले पाउने मन्त्रालयबारे पनि छलफल भएका छन् । जसअन्तर्गत कांग्रेसले सात, माओवादीले ६, जसपाले ४ र नेकपा (एकीकृत समाजवादी) ले पाँच मन्त्रालय पाउने गरी छलफल भइरहे पनि निर्णय भइसकेको छैन । साथै तीन राज्यमन्त्री बनाउने पनि तयारी छ ।

सत्तारूढ गठबन्धनको बैठक आज अपरान्ह फेरि बस्ने तयारी छ ।

देउवाले बुधबार नारायण खड्कालाई परराष्ट्र मन्त्री बनाएका थिए । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री तथा माओवादीबाट दुई जना मन्त्री सरकारमा छन् ।

नेपाली कांग्रेसका सभापति देउवा असार २९ मा प्रधानमन्त्री नियुक्त भएका थिए । देउवा प्रधानमन्त्री बनेको ७३ दिन वितिसक्दा पनि मन्त्रीमण्डल विस्तार हुन नसक्नुले सरकारको कार्यक्षमता माथि नै प्रश्न उठेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको