२ कार्तिक २०७८, मंगलवार

हुम्लाका तीनवटा पिल्लरमै नपुगी फर्कियो अध्ययन टोली




असोज ६, हुम्ला । चीनसँग सीमा विवाद रहेको भनिएको हुम्लाका सीमा क्षेत्र पुगेर गृह मन्त्रालयको अध्ययन टोली काठमाडौं फर्किएको छ ।

तर उक्त टोली हुम्लामा १५ वटा पिल्लर रहेकोमा ३ वटा पिल्लरमा भने पुगेन ।

हुम्लामा ३ नम्बर पिल्लरदेखि १२ नम्बरसम्म १५ वटा पिल्लर छन् । ५ नम्बरदेखि ९ नम्बरसम्म दुई÷दुई वटा पिल्लर पर्छन् ।

‘धेरै उचाइमा रहेका तीनवटा पिल्लरमा अनेक कोशिस गर्दा पनि पुग्न सकिएन । हेलिकोप्टरबाट जान सकिन्छ कि भनेर पनि कोसिस गरेको हो । तर मौसमले साथ दिएन’, टोलीका एक सदस्यले भने, ‘हामी पुग्न नसकेका पिल्लरमा सशस्त्र प्रहरी केही समयअघि मात्रै पुगेर फर्किएको रहेछ, त्यहाँ समस्या छैन ।’

गृह मन्त्रालयका सहसचिव नेतृत्वको ७ सदस्यीय टोली भदौ २६ गते हुम्ला पुगेको थियो । टोलीमा तीन जना नापी विभागका कर्मचारी समेत संलग्न थिए ।

स्थलगत अध्ययनमा जानुपहिले सदरमुकाम सिमकोटमा राजनीतिक दलहरुसँग छलफल गरेको थियो । छलफलमा राजनीतिक दलहरु दुई धारमा विभाजित भएका थिए ।

नेकपा एमाले र माओवादीले चीनसँग सीमा समस्या नरहेको बताएका थिए । नेपाली कांग्रेसका प्रतिनिधिले सीमामा समस्या रहेको बताए ।

‘दुईथरि कुरा आएको छ, राजनीतिक दलका नेताहरु पनि समस्या छ कि छैन भन्ने कुरामा दुईथरि कुरा गर्नुभएको छ । त्यही भएर वास्तविक के हो त भनेर सरकारले हामीलाई पठाएको हो, हामी सबै कुरा अध्ययन गरेर प्रतिवेदन बुझाउँछौँ’, ती अधिकारीले भने ।

एक हप्तासम्म स्थलगत अध्ययन गरेर फर्किएको टोलीले अहिले चीनसँगका सन्धि सम्झौता, नापीका तथ्यांक र अन्य तथ्यांक अध्ययन गरिरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको