प्रदेश अस्पतालका निर्देशक डा. खड्काद्वारा ५० लाखको ‘प्रेम–माया’ अक्षयकोष स्थापना
असोज ६, सुर्खेत । प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काको परिवारले बुवा र आमाको सम्झनामा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा अक्षयकोष स्थापना गरेको छ । प्रदेश अस्पतालका प्रमुख डा. डम्वर खड्काले मंगलबार आयोजित कार्यक्रममा अक्षयकोष स्थापनाको घोषणा गरेका हुन् ।
बुबा प्रेमबहादुर खड्का र आमा मायादेवी खड्काको सम्झनामा प्रदेश अस्पतालमा ५० लाख रुपैयाँको ‘प्रेम–माया गरिव असहाय सहयोग अक्षयकोष’ स्थापना गरिएको प्रमुख खड्काले जानकारी दिए । अक्षय कोषको सेवा पाउनका लागि विरामीले अस्पतालको सामाजिक सुरक्षा विभागको सिफारिस लिनुपर्ने छ । ‘सामाजिक सुरक्षा विभागको सिफारिसका आधार उपचारको व्यवस्था मिलाइनेछ,’ डा. खड्काले भने, ‘अक्षयकोषमार्फत आउने ब्याजमार्फत प्रदेश अस्पतालमा उपचारका लागि आएका गरिव, असहाय र अशक्तहरुलाइै उपचारमा सघाउने गरेर मापदण्ड तयार गरेका छौं ।’
स्वर्गीय प्रेमबहादुर र मायादेवी खड्काका चार छोराहरु छन् । जेठा छोरा पूर्णबहादुर खड्का नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्व गृहमन्त्री हुन् भने माइला छोरा डा. डम्वर खड्का कर्णाली प्रदेश अस्पताल सुर्खेतका प्रमुख छन् । साइला छोरा विष्णुबहादुर खड्का कांग्रेसका युवा नेता एवम् व्यवसायी हुन् भने कान्छा छोरा किरण खड्का इन्जिनियर हुन् ।
डा. खड्काले कर्णालीजस्तो दुर्गम क्षेत्रका गरिव नागरिकहरुका लागि अक्षयकोषले महत्वपूर्ण सघाउ पु¥याउने विश्वास व्यक्त गरे ।
उनले कर्णाली प्रदेश अस्पतालमा आउने कतिपय विरामीहरुले औषधि किन्न नसक्ने, अस्पतालको बेड चार्ज तिर्न नसक्ने, विरामीका लागि लुगा किन्न नसक्ने, अस्पतालबाट डिस्चार्ज भएपछि घर जानका लागि खर्च नहुनेलगायतका समस्या आफूले देखे(भोगेकाले चार भाईको सल्लाहमा बुवा–आमाको सम्झनामा अक्षयकोष स्थापना गर्ने निर्णयमा पुगेको बताए । ‘५० लाख रुपैयाँको वार्षिक ६ लाखको हाराहारीमा व्याज आउँछ,’ उनले भने, ‘त्यहीँ व्याजमार्फत अस्पतालले दिनचाहेको सहयोग गर्नेछौं ।’