मङ्गलबार ९०२ कोरोना सङ्क्रमित थपिए, २२८७ डिस्चार्ज
२३ भाद्र, काठमाडौं । पछिल्लो २४ घण्टाभित्र मुलुकभर ९ सय २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर विभिन्न प्रयोगशालमा भएको परिक्षणमा उल्लिखित संख्यामा सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
आज मात्रै काठमाडौं उपत्यकामा ३९६ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३००, ललितपुरमा ३८ र भक्तपुरमा ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
आज थपिएकासहित हालसम्म सङ्क्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ । त्यस्तै देशका विभिन्न अस्पतालमा उपचाररत २ हजार २ सय ८७ जना कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ३२ हजार ९ सय ६४ पुगेको छ । हाल जम्मा सक्रिय सङ्क्रमितको संख्या १४ हजार ८ सय ६८ रहेको प्रवक्ता डा. गौतमले बताएका छन् ।
आज देशभर ६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो संख्यासहित मृतकको संख्या ३ सय ६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा १० हजार ६ सय ११ जनाको पिसिआर परिक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।