५ कार्तिक २०७८, शुक्रबार

माओवादीले वडादेखि केन्द्रसम्मै निर्वाचनमार्फत नेतृत्व चयन गर्ने




असोज ५, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले वडादेखि केन्द्रीय समितिसम्म सबै तहका नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको छ ।

माओवादीले वडा, जिल्ला, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि बनाएको हो ।

माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । तल्ला कमिटीहरुका सम्मेलन राष्ट्रिय सम्मेलनअघि नै सकिएर नेतृत्व चयन हुने छ ।

माओवादी केन्द्रीय कार्यालय इञ्चार्ज एवम् स्थायी समिति सदस्य वर्षमान पुनले वडादेखि केन्द्रसम्म २ लाख ८५ हजार पदहरुमा निर्वाचनमार्फत नेतृत्व चयन गर्ने जानकारी दिए । निर्वाचन कार्यविधिमा पार्टी अध्यक्ष र पदाधिकारीको चयन पनि निर्वाचनबाटै गर्ने उल्लेख छ ।

अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेता पुनले सोमबार आयोजित केन्द्रीय निर्वाचन समितिको भर्चुअल अभिमूखीकरण बैठकमार्फत सबै तहको नेतृत्व निर्वाचन प्रक्रियाबाट चयन हुने भन्दै त्यसैअनुसार तयारीमा जुट्न मातहत कमिटीलाई निर्देशन दिए ।

बैठकमा केन्द्रीय निर्वाचन आयोग अध्यक्ष विष्णुपुकार श्रेष्ठले निर्वाचन नियमावली, कार्यविधि र आचारसंहिताबारे प्रशिक्षण दिएका थिए ।

बैठकमा १८० केन्द्रीय सदस्य, ६ भौगोलिक र ३ गैरभौगोलिक गरी १० प्रदेशका प्रदेश निर्वाचन समितिका ५÷५ जना सहभागी रहेको नेता पुनले जानकारी दिए । प्रदेश निर्वाचन आयोगले छिट्टै नगर तथा गाउँ र वडा निर्वाचन समिति गठन गरी निर्वाचन केन्द्रित काम अघि बढाउने उनले बताए ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विधि र पद्धतिसम्मत रुपमा पार्टी सञ्चालन गरिने बताए । अबदेखि पार्टीका सबै कमिटीका सदस्यदेखि पदाधिकारीसम्म निर्वाचनमार्फत चुनिने भन्दै उनले निर्वाचन आयोगको जानकारी र उपस्थितिबिना कुनै पनि कमिटीको निर्वाचन वा सम्मेलन नहुने स्पष्ट गरे ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको