४ आश्विन २०७८, सोमबार

कथा स्टेशन : रिभल्भर (भाग–१)



म एउटा गीतकार प्लस कवि हुँ ।
हैन यसो भनूँ
साथीहरूले कभि कभि कवि कवि पुकार्दा पुकार्दा गरेर साँच्चिकै कवि भएँ कि भन्ने भ्रमात्मक अनुभूतिको अनुभवी हुँ ।
जे होस् सामाजिक् संजालमा म यहि कारण यस्सो कविताजस्तै केहि लेखिटोपल्छु ।

तर आज म तपाइँहरुलाई कथा सुनाउने मुडमा छु।
लौ सुन म भन्छु मेरो राम कहानी
त्यो एक दिनको घाम सयौँ दिनको पानी

सेप्टेम्बर २
अघिल्लो रात मैले ‘लंगडाको साथी’ पढेको कुरा सत्य हो । लैनसिंह वाङ्देलको त्यो पुन्टे उपन्यासले मेरो मन एण्ड तनलाई बडो उद्विग्न बनाइदियो । भारी मन लिएर म त्यो उपन्यासको कुकुरजस्तै गुँडुल्किएको थिएँ मेरो वन एण्ड अन्लि खाटमा ।

खाट एण्ड घाट ।
क्या गज्जबको राइमिङ् वर्ड्सहरू

साला ! के रैछ् र जिन्दगानि रु
खाट देखि घाट सम्मको कहानी !
यस्तै केहि सोच्दा सोच्दै म कसैलाई पनि ु‘गुड् नाइट’ विश नगरिइ सुकला भैगएँ ।

बिहान् बिहानै मान्छेहरूको कल्याङमल्याङले म ब्युँझिनु पर्ने भो । म ब्युझिएँ ।
ब्युजिदा म चकित मात्रै हैन् चित पनि खाएँ किनकि म खाटमा हैन घाटमा थिएँ, त्यो पनि चिता नम्बर चारमाथी । म छक्क मात्र हैन हक्क न बक्क भएँ ।
यो रियल हो कि सर्रीयल मलाई खुट्याउन साह्रो पर्यो ।

छेउमै टुक्रुक्क बसेर खुकुरि चुरोट सल्काउदै गरेको घाटेलाई सोधेँ : बाजे म कसरि यहाँ आइपुगेँ ?
घाटे : खोइ कसरि चैँ थाहा पत्तो भएन तर मैले बिहानै देख्दा तिमी यो चिता नम्बर चारमा कुकुर जस्तै गुडुँल्किरहेका थियौ ।
ज्यान तन्काउदै र अनुहार खुम्च्याउदै मैले सोधेँ : कुकुरजस्तै ?
घाटे : कुकुर जस्तै ! ठ्याक्कै लंगडाको कुकुरजस्तै !

मलाई रिंगटा लागेजस्तो भो । वान्तै पो आउला कि भन्ने भो । म जर्याक जुरुक् उठेर चैतको हुरी जस्तै हान्निएँ डेरातिर ।
पछाडि उसको आवाज आएजस्तै लाग्यो
‘यो तिम्रो एक महिनादेखिको दिनचर्या हो’

डेरामा आइपुगेँ ।
ढोका भित्रैबाट ‘लक’ थियो । यो ‘लक’ मलाई बडो ‘ब्याडलक’ फील भएर आयो ।
अब क्यार्नी ?
चुरोट सल्काउने !
चुरोट सल्काएँ र एकलट तानेँ । चुरोटको स्लिम बडि झिर्र गर्यो। चुरोटले भने जस्तो लाग्यो ।
‘हेर् कवि ! तँ मलाई सिध्याउछस्, म तँलाई सिध्याउँछु । हिसाब किताब फच्चे भो ।’
मलाई अन्तिमको त्यो ‘फच्चे’ले छोइहाल्यो ।
मेरो दिमागमा त्यसको राइमिङ वर्ड्स घुम्न थालिहाले ।
फच्चे…सच्चे…कच्चे

तर बच्चे ! मलाई तनाव् अर्कै थ्यो । ढोका भित्रबाट ‘लक’ थियो । भित्र पस्नु पर्ने ।
क्यार्नि होला ?
उपाय सुझेन ।

उठेँ…ढक्ढक्याएँ…खुलेन…बसेँं
उठेँ…ढक्ढक्याएँ…खुलेन…बसेँ

फेरि उठेँ,
यो पटक आफ्नै नाम पुकारेर ढोका ढक्ढक्याएँ
उल्कै भो ! ढोका खुल्यो ।
बडो आनन्द भो ।

भित्र छिरेँ
भित्तामा हेरेँ, बजिया घडिले नौ बजाउदै थियो । डिस्टर्ब गरिन ।

बुक र्याकमा हेरेँ, ‘कर्नाली ब्लुज’ ‘सगरमाथाको गहिराइ’लाई अङ्गालेर निदाइरहेको थियो । ब्युँझाउन मन लागेन ।

टेबलमा हेरेँ, मुला ‘लंगडाको साथी’ मेरो एस्ट्रेमा ढल्केर कुकुरजस्तै गुँडुल्किएको थियो । उठाएर डस्टबिनमा मिल्काउँ कि ? भो छोड्दिीउँ ।

खाटमा..तनक्क तन्किएको तन्नाले के भनेर पट्यायो कुन्नि, मै हुँ भन्ने ब्याङ्केट पनि थपक्क ज्ञानी भएर बसेको छ । मैले यि दुइको माया प्रितिमा बाधा गरेर कुनै किर्ति राख्नु थिएन, तेसैले गरिन । लौ गरिखाओ !

ह्याङ्गरमा : मेरो ‘हरियो स्विटर’ त्यसरि झुण्डिरहेको थियो जसरि झुण्डिएको थियो सुशान्त सिँह राजपुत आफ्नै अपार्टमेन्ट भित्रै । ‘रेस्ट इन् पिस’ भन्दिएँ ।

मलाई लाग्यो, दशैँ तिहारको एक महिनाको बिदापछि आजै फर्कि आएको हुँ, कोठामा ।
अनायासै म साँच्चै के भएको थियो भनि हिजोदेखिका घटनाहरू सम्झिने कोसिस गरेँ । अहँ ! पटक्कै सकिन । यस्तो लाग्यो केहि भएकै थिएन ।
टन्टै साफ भो ।
“मनुष्यलाई टेन्सन भनेको जे कुरा पनि सम्झेर हुने हो । केहि नसम्झिनुस्, आनन्दै हुन्छ ।”
ओशो/सद्गुरू टाइपको फिलोसोफी आयो कि क्याहो म भित्र ? म मख्खै परेँ ।

किचेनमा गएँ, चिया बनाएँ ।
प्राय मेरो दिमागमा राइमिङ् वर्डहरु खाली घरमा छुचुन्द्रा दगुरे जस्तै दगुरिरहेका हुन्छन् ।
अब हेर्नुस् न ! चिया…छिया…दुनियाँ…दिमागमा बज्न थालिहाल्यो ।

दुइ लाइन् लेखिहालेँ ।

जसरि चिनी बिना चिया फिक्का हुन्छ
त्यसरि तिमि बिना दुनियाँ फिक्का हुन्छ

वाह ! क्या दामी चीज आयो ।
दोहोर्याइ दोहोर्याइ पढेँ र आफै ‘मखलेल’ भएँं ।
मखलेल भन्दा मैले खगेन्द्र संग्रौलालाई सम्झेँ । “साँच्चै के गर्दै होलान् सिरुबारी जस्तै सेताम्मे कपाल भएका छुच्चा लेखक संग्रौला ?”

फिलिमतिर बलियो गुन्डालाई लुरे हिरोले ‘ठाउँमै’ हानेर पुर्लुक्कै लडाएजस्तै, साना कदकाँठिका ‘कुन्साङ् काका’ सत्ताका मठाधिशहरूका ‘ठाउँमै’ हिर्काउथे तीखा–तीखा शब्दहरूले ।
आजभोली, उमेरको खोली उँधो बगेपछि होला, ‘चाबेलका चाउरे’ घरबिश्राममा होलान् । लौ जय होस् काकाको ।
खासमा कथामा केहि नयाँ कुरो आएकै छैन, त्यो अलि भरेतिर आउछ ।
त्यसैले यस्सो गफ गरूम् न त, यत्रो लामो दिन काट्नु जो छ, जिउदै छु भनेर आफुलाई ढाँट्नु जो छ ।
ट्याम् पास गरूम् ।।

कोठा बढारेँ, सिनित्त पारेँ ।
कपडा धोएँ, सिनित्त पारेँ ।
दाल भात तरकारी पकाएँ, खाएँ, सिनित्त पारेँ ।
खिच्रीङमिच्रीङ काम गरेँ, जिन्दगी सिनित्त पारेँ ।
खासमा हाम्रो जिन्दगीको र्याक य स्तै खिच्रीङमिच्रीङ कथा, ब्यथाका कितावले भरिएको छ ।
सधै एउटै कन्टेन्ट् । सधै एउटै फर्म । नो थिङ् न्यु ।।
लाइफ कैले ‘मास्टरपिस् एपिक्’ बन्ने हो बरिलइ !!

कहानी सुनाउँछु भनेर गन्थन् सुनायो भन्नुभइरहेको होला, हैन ?
अब क्यार्नि त ?
फिलिम बनाएँ भन्छन्, हेर्न गयो गन्थन् बाहेक केहि छैन ।
कविता लेखेँ भन्छन्, सुन्यो, गन्थन् बाहेक केहि छैन ।
गीत गाएँ भन्छन्, सुन्यो, गन्थन् बाहेक केहि छैन ।
अरे यार ! म चै कौन सा मंगल ग्रहको प्राणी हुँ र ? गन्थन् नगर्न ?
तर धैर्य गर्नुस्, मसँग खास्साको कहानी छ, तँपाइहरूलाई सुनाउन ।
लौ सुन म भन्छु मेरो राम कहानी
त्यो एक दिनको घाम सयौँ दिनको पानी
!!

दिनलाई ढल्नु थियो, ढल्दियो !
रातलाई पर्नु थियो, पर्दियो !
कुन्नि कस्लाई सम्झेँ मैले आज अचानक्
आँसुलाई झर्नु थियो, झर्दियो !!

मलाई रातको समय बडो खतरनाक तरिकाले मन पर्छ। रात भन्ने नामै बडो रहस्यमयी छ ।
रातको समयमा नै त हो हामी प्रायजसोको जिउको बिउ रोपिएको ।।
रातको समयमा नै त हो धेरै मानिस खाटबाट घाटमा पुगेको ।।
अब हेर्नुस्,
रातको समयमा मोटरसाइकलको कान बटार्दै छिटो छिटो काममा पुग्नु पर्दैन ।
रातको समयमा जा !! गिर !! भन्दै गिर्नु पर्दैन ।।
रातको समयमा आफ्ना रियालिटिहरूलाइ कुनै आवरणले ढाकिराख्नु पर्दैन ।।
जस्तै हेर्नुस्, ऐले म पुरै निर्वस्त्र छु ।।
जे होस् रात पर्यो ।
मैले रात पर्नुअगावैका सबै नित्यकर्म सिनित्त पारिसकेको हुँदा, रात बडो उज्यालो अनुहार लगाउदै मेरो डेरामा छिर्यो ।
मेरो डेरा, डेरा भित्रको साँघुरो घेरा लाई ग्वाम्लाङ्ग् अङ्गालिदिएर मलाई धन्य बनाईदियो ।

मैले कोठाका बत्तिहरुलाई छुट्टि दिएँ, उनिहरु सुतिगए ।
मोबाइलको घाँटी निर्मम तरिकाले थिचिरहेँ, मोबाइल परमधाम गमन भयो ।
ल्यापटपलाई ब्युझाएँ, उसको तिघ्रा फट्याएँ, अनि एउटा कविता लेखि टोपलेँ ।

माझी औँला

म जन्मिदा मेरा दुबै हातमा गरेर दशवटा औँला थिए !
ती मध्ये
मैले माझी औँला आफ्नै जिन्दगिलाई देखाइ दिएँ !!
मजा आयो !
फेरि पढेँ, झन् मजा आयो !
अब, मलाई मजा नआइकन मेरा पाठकहरुलाई खाक् मजा आउछ त ?

लौ सुन म भन्छु मेरो राम कहानी
त्यो एक दिनको घाम सयौँ दिनको पानी
यो रिङटोन बजेपछि म झस्केँ, किनकि बजेको मेरै मोबाइल थियो । भर्खरै मैले नै घाँटी थिचेर हत्या गरिएको मोबाइल् बज्यो चै कसरि ? चकितै परिगएँ ।
ट्वाँ परेर मोबाइल उठाएँ ।

उता : फलानो नाम गरेको कवि हैन ?
यता : हजुर हो त
उता : तैँले भर्खर ‘माझी औँला’ शिर्षकको कविता लेखिस् हैन ?
यता : हो लेखेँ
उता : त्यस्तो वाहियात कविता लेख्ने अनुमति तँलाई कसले दियो ?
यता : …….
उता : फोन् राख् । मैले तँलाई सजाय दिइसकेको छु । बिचार गरेस् ।

फोन काटियो ।
हैट्, डर लागेजस्तो पो भो ।
ल्यापटपको अधुरो मधुरो प्रकाशमा हेरेँ, मेरा दुबै हातका माझी औँला थिएनन् ।
जिन्दगीमा अलि अलि बचेको सातो यहिँनेर उड्यो ।
अरे यार ! कसैले किन मेरो माझि औँला लैजान पाउछ बिनसित्तिमै ?
मलाई टेन्सन् भयो ।
क्यार्नि ?
चुरोट सल्काउने ।
चुरोटसँग हिसाब फच्चे गर्दै म मेरा अति प्रिय माझी औँलाहरू सम्झेर सोचमग्न शोकमग्न भैगएँ ।

१२ बजेर १७ मिनेट

ढोकामा ढकढक गर्यो
यस्तो राती ?
को हुन सक्छ ? मेरो ढोका ढक्ढ्क्याउने ?
मलाई फेरि डर लाग्ला लाग्ला जस्तो भो ।

ढकढक् गर्न छोड्दैन त !
गएर बिस्तारै ढोका खोलेँ । बाहिर कोही थिएन । अलि पर कोहि छाता ओढेर गैरहेको जस्तै भान भो । यस्तो हिउँदको चकमन्न रातमा पानी नपर्दापनि कोहि किन छाता ओढिहिड्छ ?
ताज्जुब् लाग्यो । आस्चर्य लाग्यो । झट्ट ओलि बा को याद पनि आएजस्तै भो ।
बडो अक्क न बक्क भएर ढोका बन्द गर्नै लागेको थिएँ, एउटा पार्सल् मेरो आँखामा पर्यो ।
पार्सल ? त्यो पनि मेरै नाममा ? एत्ति राति ?
हैट् !! यो मेरो सानो दुनियामा के भैरहेको छ ?

त्यहाँ उप्रान्त हे पाठक बृन्द ! मैले त्यो पार्सल उठाउदा भयाँ, ढोका बन्द गर्दा भयाँ, बत्तिलाई ब्युँझाउदाँ भयाँ अनि बडो यत्नसाथ त्यो पार्सललाई खोल्दा भयाँ ।

पार्सल भित्र एउटा किताब् थियो ।
किताबको कालो छालामा बडो अनौठो नाम् थियो “मृत्युको जन्म”
नाम बडो बिचित्रको थियो, मेरो मौन स्वभाव जस्तै ।

तर पार्सल भित्र अर्को पनि चीज थियो । मैले पार्सल को कपडा खोल्दै…खोल्दै… खोल्दै गएँ ।
म तपाइँहरू जस्तै चकित् परिगएँ
किनकि तपाइँहरूले जे देख्नु भो मैले पनि त्यहि देखेँ ।।
मेरो हातमा रिभल्भर आइपुगेको थ्यो, नाइट् गिफ्ट् को रुपमा ।
‘अ मिस्टिरिअस् मिड नाइट् गिफ्ट्’ क्रमस…


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको