२ कार्तिक २०७८, मंगलवार

गणेशमान सिंहको स्मृति दिवस : बिभिन्न कार्यक्रम गरी मनाइँदै




असोज २, काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २४ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

नेता सिंहको २४ औँ स्मृति दिवसका अवसरमा आज कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गर्दैछन् । कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर कार्यक्रम आयोजना गरिने कांग्रेसले जनाएको छ ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मेका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको थियो ।

खानदानी परिवारका उनले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल थिए । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए ।

राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनीलगायतलाई तत्कालीन सरकारले जेल हाल्यो । विसं २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल भएका जोशिला तन्नेरी उनी प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको