१६ फाल्गुन २०७७, आईतवार

चिडियाघरमा कोलाहल



यो ठाउँ तिनीहरूको होइन
यहाँ तिनीहरू उदास छन्
तिनीहरू आफ्नै प्रारब्धमाथि
रोइरहेका छन् ।

एक हुल मानिसहरू साङ्ग्ला र बन्दुकसहित
तिनको घरमा पसे
तिनलाई खोसेर लगे तिनको अभयारण्यबाट
र मानिसहरूको ठाउँमा
रुखपात नभएको
पानीका नदी र तलाउहरू नभएको
सिमेण्टको सुख्खा पर्खालहरूका साना ढोकाबाट
विरानो ठाउँमा
भित्र हुलिदिए
तिनीहरु मानिसहरू देखेर तर्सेका छन्
तिनको आत्मा तिनका शरीरबाट झिकेर
भेटरेनरी डाक्टरको चक्कुसँग बसेको छ
काटिनका लागि तयार भएर ।

तिनका आफन्तहरू सबै जङ्गलमा छन्
तिनको भोक जङ्गलमा छ
तिनको तीर्खा र अस्पष्ट सपनाहरू जङ्गलमा छन्
तिनको आरोग्य जङ्गलमा छ
तिनको औषधी जङ्गलमा छ
तिनको ऋतुदान गर्ने उत्तम ठाउँ जङ्गलमा छ
तिनीहरू बाँझिदैछन्
तिनको वीर्य सुकिसकेको छ ।

वास्तवमा तिनीहरू जङ्गल फर्कन चाहन्छन्
यति धेरै मानिसहरूले तिनलाई जिस्काएको मन परेको छैन
तिनीहरू रिसाएका छन्
खाना दिन आउने चिडियाघरको कर्मचारीलाई पनि
उनीहरू चिन्दैनन्
ठूलो, शीतल, शान्त जङ्गलमै तिनको वास छ
तिनको ज्ञान, तिनको स्वाभिमान जङ्गलमा छ ।

मानिसको मायाले होइन तिनीहरू मानिस छेउ आएको
तिनीहरू केवल बाँच्ने निहुँमा यता हेरिरहेका हुन्
वास्तवमा तिनीहरूले मानिसको नियत सुँघिरहेका हुन् ।
तिनीहरूले आफ्नै प्रारब्ध बुझिरहेका छैनन्
र जङ्गलको मायाले रोइरहेका छन् ।
चिडियाघरको सुनसानभित्र
तिनको भयानक कोलाहल सुनिन्छ ।

(वरिष्ठ प्रगतिशील कवि श्यामल हाल राष्ट्रिय समाचार समितिको अध्यक्ष छन् । यो कविता उनले सन् १९८८ जुन महिनामा सिङ्गापुरको चिडियाखाना घुम्दा लेखेका हुन् ।)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु