कंगनालाई शिव सेनाको धम्की, केन्द्र सरकारले दियो भिआइपी सुरक्षा
२२ भाद्र, काठमाडौं । बेलाबेलामा केहि न केहि कारणले विवादमा तानिरहने चर्चित भारतीय अभिनेतृ कंगना रनावत विवादका केन्द्रमा छिन् । सत्य कुरा बोल्दा कसैले केहि भनिहाल्ला कि भनेर पटक्कै हेक्का नराख्ने कंगना एकपटक फेरी विवादमा तानिएकी हुन् ।
पाकिस्तानको अधिनमा रहेको काश्मिरसँग मुम्बइको तुलना गरेकी कंगनाले अभिनेता सुशान्तसिंह राजतपुतको हत्याको निष्पक्ष छानवीन नगरेको भन्दै मुम्बई प्रहरीको समेत कडा आलोचना गरेकी थिइन् ।
लगत्तै शिवसेनाका सांसद सञ्जय राउत र मुम्बई महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले कंगनाको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए । फेरी कंगनाले एक भिडियो सन्देशमार्फत शिवसेनाले आफुलाई धम्की दिएको आरोप लगाएकी थिइन् ।
कंगनाका अुनसार शिवसेनाले उनलाई मुम्बई नआउन र आएमा आफ्नो महिला समुहले कारबाही गर्ने चेतावनी दिएको थियो । प्रतिउत्तरमा कंगनाले आफू मुम्बई आउने र रोकेर देखाउन शिवसेनालाई चुनौति दिएकी थिइन् ।
सोही भिडियो सार्वजनिक भएपछि भारतको केन्द्र सरकारले कंगनालाई ‘वाई श्रेणी’ को सुरक्षा उपल्ब्ध गराउने निर्णय गरेको छ । यो भिआइपि अर्थात् अति महत्वपूर्ण व्यक्तिहरूलाई उपलब्ध गराइने सुरक्षा व्यवस्था हो । यसमा ११ जना सुरक्षाकर्मीको घेरामा २ जना कमाण्डो र २ जना पीएसओ रहन्छन् ।
केन्द्र सरकारले उपलब्ध गराएको सुरक्षा व्यवस्थाका लागि कंगनाले आभार प्रकट गरेकी छिन् । उता मुम्बइको अपमान गर्ने व्यक्तिलाई केन्द्र सरकारले सुरक्षा उपलब्ध गराएकोप्रति महाराष्ट्रका गृहमन्त्री देशमुखले असन्तुष्टि प्रकट गरेका छन् ।