१ आश्विन २०७८, शुक्रबार

इतिहास एउटा भद्दा मजाक गरिरहेको छ


टंक कार्की
२८ भाद्र २०७८, सोमबार


भनिन्थ्यो, पार्टीहरू सामाजिक मिशनमा बनेका हुन्छन् र त्यसको निम्ति तिनले तीसँग मेल खाने आफ्ना विशिष्ट सिद्धान्त, विचार र मुल्य बोकेका हुन्छन् । यो पनि भनिन्थ्यो, सत्ता त फगत मिशन प्राप्तिको साधन मात्रै हो । सत्तालाई साध्य बनाउने हर्कतले मिशन माथि अन्तरघात गर्छ र सिद्धान्त, विचार र मुल्यको हुर्मत लिन्छ । कम्तिमा आधुनिक नेपाली राजनीतिको झन्डै ६०/७० वर्ष यसै भन्दै आईएको हो । त्यसै अनुरुप आ–आफ़्ना झण्डा रंगायौं पनि– कसैले प्रजातन्त्रको जलप लगायौं, कसैले समाजवादको त अरु कसैले साम्यवादसम्मकै । प्रणालीको रूपमा त लोकतान्त्रिक गणतन्त्रभन्दा अर्को उपयुक्त विकल्प छैन भन्छन् कम्तिमा राजनीतिक शास्त्रीहरू । हाम्रा इनादिनाका अनुभव भन्छन्, कोशी उल्टो बगेको छ । स्वच्छ, पारदर्शी शासन, शक्ति पृथकीकरण, जवाफदेही सरकार सब बकबास– फगत भित्तामा झुण्ड्याइएको पोस्टर । कम्तिमा सत्ता राजनीतिले सदाचारलाई होइन भ्रष्टाचारलाई विभूषित गरेको आँखै अगाडी झलझल्ति देख्न पाइएको छ । जसको लहरो यति लामो छ भनि साध्ये छैन, जो आफै मलिलो पहरोमा उम्रेको छ । यहाँ जे भइरहेको छ त्यो देखेर रुसोको ‘सामाजिक सम्विदा’ अरण्य रोदन गर्दछ, मार्क्सको ‘राज्यले नागरिक समाज कज्याउने होइन, नागरिक समाजले राज्यलाई नियमन गर्नु पर्दछ’ भन्ने भनाईको उल्टो शृङ्खला चलनचल्तीमा छ ।

राम्रो प्रणाली चाहिन्छ, यसको निम्ति लडिएकोमा कुनै भुलचुक भएको होइन । तर त्यो आफैमा पर्याप्त हुँदो रहेनछ, कुरो त उत्तिकै जरुरी प्रणालीसँग मेल खाने संरचना (विचार, संस्था र संस्कृति) पनि चाहिँदो रहेछ । देखिँदा भीमकाय संरचना छन् तर ती कामकाजी छैनन्–‘देख्नेमे भारी भरकम अन्दर से खोकला’ । ती न हाम्रो सामाजिक तथा भौगोलिक यथार्थलाई प्रतिविम्वित गर्दछन् न त आफैले घोषणा गरेको सामाजिक मिशन प्रति इमान्दार छन् । यस्तो अधिष्ठता छ जसलाई न लाज छ न त्रास ।

यहाँ कार्य सम्पादन भन्नु नै तुष्टीकरण भएको छ– प्रभुुको अघिल्तिर लम्पसार पर, आशक्तहरुलाई झुठोपुरो चटाऊ र ‘रक्षिता’हरूलाई सताऊ । आखिर कमि कहाँ नेर भयो ?! ‘संक्रमण काल’मा यस्तै हुन्छ भनेर यस्तो भएको हो ?! कतै होईन । १०/१२ बर्षसम्म पनि कोही सुत्केरी हुन्छ ?! कहीं नभएको जात्रा । आँखिर यो सब भयो कसरी ? राम्रो प्रणाली चाहिन्छ, यसको निम्ति लडिएकोमा कुनै भुलचुक भएको होइन । तर त्यो आफैमा पर्याप्त हुँदो रहेनछ, कुरो त उत्तिकै जरुरी प्रणालीसँग मेल खाने संरचना (विचार, संस्था र संस्कृति) पनि चाहिँदो रहेछ । देखिँदा भीमकाय संरचना छन् तर ती कामकाजी छैनन्–‘देख्नेमे भारी भरकम अन्दर से खोकला’ । ती न हाम्रो सामाजिक तथा भौगोलिक यथार्थलाई प्रतिविम्वित गर्दछन् न त आफैले घोषणा गरेको सामाजिक मिशन प्रति इमान्दार छन् । यस्तो अधिष्ठता छ जसलाई न लाज छ न त्रास । यस्तो लाग्छ, राष्ट्रको वैभवलाई हरहालत उसले बपौति बनाउनु पर्दछ र यसैमा उसको पसिना बगेको छ ।

२५०० वर्ष अघि नै बुद्धले त भनेकै हुन् मोक्ष घोषणाले होइन प्रज्ञा, शील र समाधिको अखण्ड र समवेत संगतिले हुने हो । न प्रज्ञा न शील न समाधि । अनि हुने के ? उहीं दुःखको पुनरुत्पादन । अहिलेको नियति नै यहीं हो ।

कार्की चिनका लागि पूर्व नेपाली राजदूतका साथै नेकपा (एमाले)का केन्द्रीय सदस्य हुन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको