१ आश्विन २०७८, शुक्रबार

हुम्लाको लाप्चा पुग्यो सरकारी सीमा अध्ययन टोली




दौ, २८ सुर्खेत । सरकारले नेपालको सीमा चीनले मिचेको भन्दै सीमा स्तम्भ अध्ययन टोली हुम्लाको नाम्खा गाउँपालिकाको लाप्चामा पुगेको छ । शनिबार हुम्ला सदरमुकाम पुगेको टोली सोमबार लाप्चातर्फ गएको हो ।

सरकारले नेपाल–चीन सीमा विवादका बिषयमा अध्ययन गर्न जयनारायण आचार्यको नेतृत्वमा उमेशराज जोशी, किशोरकुमार श्रेष्ठ, प्रदीपकुमार पाल, सुशील डंगोल, दयानन्द जोशी र कपिल कटवाल रहेको नेपाल–चीन सीमा विवाद अध्ययन टोली गठन गरेको थियो ।

लाप्चाबाट पैदल हिँडेर टोलीले पाँच हजार मिटर अग्लो स्थानमा रहेका सीमा स्तम्भहरूको स्थलगत अध्ययन गर्ने प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।

चीनले हुम्लाको नाम्खा गाउँपालिकाको लाप्चासँगै रहेको लोलुङ जोङमा बनाएको भौतिक संरचना नेपाली भूमिमा रहेको भन्दै नेपाल सरकारले सीमा अध्ययन टोली गठन गरेको थियो ।

लाप्चामै चीनले एकतर्फी रूपमा १२ नम्बर पिलर पुनर्निर्माण गरेको र टोलीले सम्भव भएसम्म हुम्ला खण्डमा पर्ने १५ वटै सीमा स्तम्भहरू पुग्ने जनाएको छ ।
हुम्लाको नाम्खा गाउँपालिका(६ को टाकुलेमा रहेको ११ नम्बर र लाप्चा क्षेत्रमा सीमास्तम्भ नम्बर १२ पर्छन् । सीमास्तम्भ नम्बर ५ (१) र (२), ६ (१) र (२), ७ (१) र (२), ८ (१) र (२), ९ (१) र (२), नाम्खा-५ को हिल्सा र किट क्षेत्रमा पर्छन्।

त्यस्तै, नाम्खा(५ कै यारीभित्रको ह्याङ्सी क्षेत्रको याङ्जो भज्याङमा ३ नम्बर सीमा स्तम्म ठाउँको नुमुच्चैमा ४ नम्बर सीमा स्तम्भ रहेको छ ।

तर, नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामा भने चीनले सीमा नमिचेको भन्दै आएका छन् । राजनीतिकरण गरेर सीमा मिचिएको भन्दै अध्यक्ष लामाले त्यसलाई अस्वीकार गरे । ‘नाम्खा गाउँपालिका-५ र ६ वडाका १२ नम्बर पिलर र त्योभन्दा २७ किमी पर रहेको ११ नम्बर पिल्लरका बारेमा विवाद गरिएको छ’, उनले भने, ‘पानी ढलोलाई सीमा मानिएको छ, १९६२ को नक्सा र अहिलेको स्थान हेर्दा पनि कुनै फरक छैन, चीनले आफ्नै भूमिमा संरचना बनाएको छ ।’

यसभन्दा पहिला पनि धेरै पटक अध्ययन भएको अहिले किन फेरि सीमा मिचियो भनेर परराष्ट्र मन्त्रालयले समिति गठन गरे पनि त्यसको विषयमा आफू जानकार नभएको अध्यक्ष लामाले बताए ।

उनले भने, ‘सरसर्ती हेर्दा र नक्सासँग जुधाउँदा कुनै विवाद गर्नुपर्ने देख्दिनँ तर सरकारको काम हो, गरेर केही प्रतिवेदन त देला । यो मुद्दा अलि बढी नै राजनीतिकरण गर्न खोजिएको छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको