१ आश्विन २०७८, शुक्रबार

भ्वोइसका फाइनलिस्ट ज्वाला राइको नयाँ गीत युट्युव ट्रेन्डिङ्गमा (भिडियोसहित)



२६ भाद्र, काठमाडौं । भ्वोइस अफ नेपाल सिजन–३ उत्कृष्ट प्रतिस्पर्धी ज्वाला राइको नयाँ गीत ‘शितल–शितल’ सार्वजनिक भएको छ । शुक्रबार ज्वालाको आफ्नै आधिकारिक युट्युव च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो ।

हिजो सार्वजनिक भएको ज्वालाको गीत आजै युट्युव ट्रेन्डिङ्गमा परेको छ । रारापाटीसँग कुरा गर्दै उनले छोटो समयमै गीत ट्रेन्डिङ्गमा परेको देख्दा निक्कै खुशी लागेको बताए । ‘गीतलाई बुस्ट गरेको छैन, दर्शकले यति धेरै माया गरेर हाम्रो गीतलाई ट्रेन्डिङ्गमा ल्याइदिनुभएको छ । अझै धेरै माया गरिदिनु हुनेछ भन्ने अपेक्षा लिएको छु’, उनले भने ।

ज्योती राईको शब्द रचनामा र सुरज तामाङ्ग संगीत भरेका हुन् । आफ्नै स्टुडियोमा रेकर्ड गरिएको गीत ‘शितल–शितल’ संगीत संयोजन र ध्वनी सम्पादन समेत देवेश राइले गरेका हुन् । गीतको भिडियोमा ब्याकराउण्ड स्कोर भने विषम आचार्यले गरेका छन् ।

ज्वालाको साथमा भ्वोइसकै एक प्रभावशाली प्रतिस्पर्धी अफ्रिता खड्गी र गीतका संगीतकार समेत रहेका सुरज तामाङ्गको अभिनय हेर्न सकिन्छ । स्कुटर मर्मत गर्न आएकी अप्रितालाई ग्यारेजमा काम गर्ने ज्वालाले मन पराएको कथावस्तु भिडियोमा समेटिएको छ । तर औँठी र फुलको गुच्चा लिएर घरमै भेट्न गएका ज्वाला अफ्रिता विवाहित भएको थाहा पाएपछि निराश भएर घर फर्किएका छन् ।

गीतको भिडियो छायाँकन विशाल थापा र सम्पादन सनम मगरले गरेका हुन् । भिडियोको कथावस्तु र निर्देशन समेत संगीतकार सुरज तामाङ्गले नै गरेका हुन् । गएको एक दिनमा युट्युवमा भ्यूज, लाईक र कमेन्ट हेर्दा दर्शकले गीत मन पराएको देखिन्छ ।

गीतको भिडियो हेर्नुहोस्ः


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको