१० आश्विन २०७८, आईतवार

निषेधाज्ञाले कोरोना सङ्क्रमण घटेन : उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू नै अन्योलमा



यमुना राना

२२ भाद्र, काठमाडौं । कोरोना सङ्क्रमण नियन्त्रणका लागि करिव ४ महिनासम्म गरिएको लकडाउन पश्चात काडमाडौं उपत्यकामा भाद्र ४ गतेदेखि निषेधाज्ञा जारी छ । एक साताका लागि गरिएको निषेधाज्ञाको समयावधि २ पकट थपियो । तेस्रो पटक थपिएको समय भाद्र २४ गते बुधबार सकिँदैछ । कोरोना सङ्क्रमण नियन्त्रणका लागि निषेधाज्ञा लागु गरिए पनि काठमाडौं उपत्यकामा भाइरस सङ्क्रमण दर देशभरकै उच्च छ ।

अन्तिम पटक थपिएको निषेधाज्ञाको समय सकिनै लाग्दा अबको रणनीति कस्तो हुने भन्ने सन्दर्भमा सरकारका सम्बन्धित निकायहरूबीच छलफल सुरू भएको छ । कोरोना रोकथामबारे सरकारको काम कारबाही अध्ययन उपसमितिले आइतबार सिंहदरबारमा गरेको छलफलमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राजधानी प्रवेश गर्ने नाकामा कडाई गर्न सेना परिचालन गर्नुपर्ने धारणा राखेका थिए ।

तर सोमबार भने प्रमुख जिल्ला अधिकारी दाहालले निषेधाज्ञा गरिए पनि सङ्क्रमण नरोकिएको भन्ने जनगुनासो रहेकाले अब सरोकारवालासँगको छलफल पछि मात्रै निष्कर्षमा पुगिने धारणा राखे । उनले भने, ‘निषेधाज्ञाको भरपर्दो विकल्प के हुनसक्छ भन्ने सन्दर्भमा छलफल भइरहेको छ ।’

आइतबारको छलफलमा तीनै प्रमुख जिल्ला अधिकारीहरूले आ–आफ्नो जिल्लाको स्थितिबारे रिपोर्टिङ गर्दै अब अगाडी के गर्ने भन्ने विषयमा धारणा राखेका थिए । यसअघि संयुक्त रुपमा निषेधाज्ञा जारी गरेका प्रमुख जिल्ला अधिकारीहरू यस पटक भने अन्यौलमा देखिएका छन् । निषेधाज्ञाले सङ्क्रमण चेनब्रेक गर्छ भनेर सुझाव दिएका विज्ञहरू पनि थप जोखिमपूर्ण नतिजा आएपछि अन्यौलमै देखिएका छन् ।

सङ्क्रमण दर नघटेपछि मारमा परेका जनतालाई विकल्प दिनुपर्ने आवाज उठ्न थालेको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले त्यस्ता व्यक्तिहरूको व्यवस्थापन हुनेगरी अर्को निर्णय गर्न सरोकारवालासँग छलफल सुरू गरिएको बताइन् ।

आइतबार दशैंसम्म निषेधाज्ञा लम्ब्याउनु पर्ने धारणा राखेका ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टबाट पनि अब के हुन्छ भन्ने सवालमा स्पष्ट जवाफ आएन । उनले आन्तरिक छलफलका क्रममा त्यस्तो भनाई राखेपनि यस विषयमा छलफल गर्न बाँकी रहेको स्पष्ट पारे । उनले भने, ‘अब स्थानीय निकाय र विज्ञहरूसँगको छलफलपछि मात्रै भन्न सकिन्छ ।’

सरकारले लकडाउन खुकुलो पार्ने रणनीति लागु गरेसँगै तराई लगायत अन्य जिल्लाबाट ठुलो संख्यामा मानिसहरू काठमाडौं भित्रिएपछि उपत्यकामा अस्वभाविक ढङ्गले सङ्क्रमण बढेको देखिन्छ ।

तर निषेधाज्ञा तन्काइरहने र सङ्क्रमण दर पनि बढिरहने हो भने बन्द कोठामा गुम्सीएका मान्छे रोगले भन्दा भोकले मर्ने अबस्था नआउला भन्न सकिन्न । यसकै उपज हुनसक्छ, अहिले रोजगारी, व्यापार, व्यवसाय गुमाएर समस्याको भुङ्ग्रोमा छट्पटिएकाहरू लकडाउन या निषेधाज्ञा मात्रै कोरोनाको समाधान होइन भन्ने आवाज उठाउन थालेका छन् । नेपालमा मात्र होइन विश्वका अन्य मुलुकका नारिकहरूले पनि स्वतस्फूर्त यो आवाज उठाइरहेका छन् ।

सरकारले कि त ज्याला, मजदुरीले कमाएको पैसाले दैनिक छाकको जोहो गर्ने वर्गको पेट भोको नहुने व्यवस्था मिलाईदिनु पर्छ । हैन भने बन्द कोठामा बसेर निषेधाज्ञा थप गरिएको विज्ञप्ति मात्रै सार्वजनिक गरिरहने हो भने समस्या थप बल्झिनेमा दुइमत छैन ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको