१९ फाल्गुन २०७७, बुधबार

बिहानी माहात्म्य (कविता)



समयका पल्लव बिहानहरू
सधैँ नयाँ हुन सक्छन्
तर हुन सक्दैनन् –
सुहागरातले रंगाएकाेे प्रेमिल बिहानजस्तो !

बरू हुन सक्लान्
चखेवाचखेवीको विरहवेदना चुहिएको
चीसो शिरेटोको बिहान !

सबै बिहानहरू यसरी नहाँस्लान्
जसरी हाँसेको हुन्छ –
कतारको मरूभूमिबाट आएको मिसकल मायाको रिसिभर मन !

अथवा,
सायदै हाँस्दो हो बिहान
लालीगुराँस ओइलाएको कंक्रिट पहाडमा
फुस्रे दुःखका धूलिकाले
पुतलीका सेता पखेटा मैलाउँदै
अँध्यारा दिनको कोसेली दिनुपर्दा,

सबै बिहानहरू !
सहरिया बिहान हुन नसक्लान्
किनकि खेतबारीका पाटागह्राहरूले
कोरल्नुपर्छ-
अन्नअनाजका सुकोमल चल्लाहरू !

सबै बिहानहरूले नपाउलान्
सूर्यका रक्तिम स्पर्शहरू
बरू पाउन सक्लान्-
क्रोधग्रस्त आकाशका अँध्यारा अनुहारहरू
जसका गिज्याइले चसक्क घोच्ला मुटू
फक्रिँदै गरेकाे बैंसालु वैधव्यकाे

समयका पल्लव बिहानहरू
सधैँ नयाँ हुन सक्लान्
तर हुन सक्दैनन् –
सुहागरातको जोगिएको लाज हाँसेको बिहानजस्तो !


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु