३१ आश्विन २०७८, आईतवार

एमाले उत्तेजक भए सदनमा एकीकृत समाजवादीले प्रतिवाद गर्ने



भदौ २३, काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसदमा आफ्नो सहभागिताप्रति एमाले संसदीय दलले आपत्ति जनाएको भन्दै सदनमा त्यसको जवाफ दिने निर्णय गरेको छ ।

एमालेले एकीकृत समाजवादीका १४ जना सांसदका रूपमा उपस्थित हुन नपाउने बताएपछि त्यसबारे सभामुखसँग समय लिएर जवाफ दिने निर्णय भएको सांसद विरोध खतिवडाले बताए ।

‘हामी १४ जनालाई निष्कासित गरिपाउँ भनेर उनीहरू सर्वोच्च अदालत गएका छन् । केपी ओलीलाई कानुन विधान संविधान लोकतान्त्रिक संस्कारसँग केही सम्बन्ध छैन । आफ्नो सत्ता गएको उन्माद छ । संसद चल्‍न नदिने कुरा त्यही उन्माद हो भन्ने विश्लेषण गरेका छौँ । हामीप्रति उठेका प्रश्नबारे सभामुखसँग समय लिएर प्रतिवाद गर्ने निर्णय भएको छ,’ खतिवडाले भने ।

संसद बैठकमा सत्ता पक्षमा संयमित रूपमा सहभागी हुने त्यस पार्टीको निर्णय छ । आफूहरूमाथि एमालेले उत्तेजक गतिविधि गरे त्यसको प्रतिवाद गर्ने एकीकृत समाजवादीले बताएको छ । ‘हामी सांसदकै हैसियतमा जाने हो । संसदीय मर्यादालाई अधिकतम पालना गर्छौं । हामीमाथि उत्तेजनात्मक गतिविधि भएमा त्यसको प्रतिवाद गर्छौं, खतिवडाले भने ।

बैठकले संसदीय दलको विधानलाई पारित गर्दै केन्द्रीय कमिटीमा पठाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको