१ आश्विन २०७८, शुक्रबार

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले वरिष्ठ संस्कृतिविद् जोशीलाई विद्यावारिधि उपाधि दिने



२१ भदौं, काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले वरिष्ठ संस्कृतिविद् शताव्दी पुरुष सत्यमोहन जोशीलाई मानार्थ विद्यावारिधि उपाधि दिने भएको छ । वरिष्ठ संस्कृतिविद् जोशीलाई उनको नेतृत्वमा कर्णालीको ऐतिहासिक सिञ्जा क्षेत्रको संस्कृति, भाषा, भूगोल, जनजीवन र मानवशास्त्रीय अध्ययन गरे वापत विद्यावारिधि उपाधि दिन लागिएको हो ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहका अनुसार विश्वविद्यालयको प्राज्ञिक परिषद्को स्थायी कमिटीको बैठकद्वारा संस्कृतिविद् जोशीलाई मानार्थ विद्यावारिधिको उपाधिद्वारा सम्मानित गर्न लागिएको हो ।

उपकुलपति प्रा.डा. सिंहले भने, ‘वि. सं. २०२७ सालमा तत्कालिन नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानबाट संस्कृतिविद् जोशीको नेतृत्वमा ५ जना विभिन्न विधाका प्राज्ञिक व्यक्तित्वहरूले कर्णालीको सिञ्जामा क्षेत्रगत अध्ययन गरी कर्णालीको भाषा, संस्कृति, जनजीवन, भूगोलका विषयमा गहन अध्ययन गरी कर्णालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ठुलो योगदान वापत सम्मान स्वरूप उहाँलाई विद्यावारिधिको उपाधि दिने निर्णय गरिएको हो । कोभिडको प्रभाव कम हुने वित्तिकै उहाँलाई विश्वविद्यालयमा आमन्त्रण गरी यहि वर्षभित्र उपाधि दिने योजना रहेको छ ।’

वि.सं. २०२७ सालमा वरिष्ठ संस्कृतिविद् जोशीको नेतृत्वमा स्थीर जङ्गबहादुर सिंह, विहारीकृष्ण श्रेष्ठ, चूडामणि बन्धु र प्रदीप रिमालले सिञ्जा खोलामा करिव पाँच महिना बसेर क्षेत्रगत अध्ययन गरेका थिए । यी पाँचै जना प्राज्ञहरूले लोक संस्कृति, भाषा, भूगोल, जनजीवन र मावशास्त्रीय अध्ययनका विषयमा गरिएको क्षेत्रगत अध्ययनलाई सम्पादन गरी प्रज्ञा प्रतिष्ठानले ५ वटै भाग किताब प्रकाशन गरेको थियो । यी पाँच वटै किताबलाई वि.सं. २०२८ सालको ‘मदन पुरस्कार’ प्रदान गरिएको थियो । यी ५ वटा कृतिको लागि कुनै प्रतिस्पर्धा नै भएको थिएन । १०१ वर्षिय वरिष्ठ संस्कृतिविद् जोशी ३ पटक ‘मदन पुरस्कार’ प्राप्त गर्ने एक मात्र नेपाली स्रष्टा हुन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको