१ आश्विन २०७८, शुक्रबार

हाटसँगै मध्यपहाडमा घटेको आत्मनिर्भरता


चक्रबहादुर शाही
२० भाद्र २०७८, आईतवार

तिब्बती सिमानाका हुम्ला र मुगुका भोटेहरू समेत त्यो बेला नुनको व्यापार गर्दथे । वि.सं. २०११ सालसम्म पनि भोटहरूले हाम्रा गाउँघरहरूमा नुन ल्याइरहेका थिए । वि.सं. २००० सालसम्म ती ठाउँहरूमा १ पाथी चामल दिएर ४ पाथी नुन साँटिन्थ्यो । वि.सं. २००८ सालसम्म १ पाथी चामलले ३ पाथी नुन आउथ्यो । वि.सं. २०११ सालसम्म १ पाथी चामलले २ पाथी नुन साँटिन्थ्यो ।

नुन मानव शरिरका लागि अत्यावश्यक तत्व हो । नुन र मानिसको सम्बन्ध निकै पुरानो हो । हाम्रो देशमा सडक सञ्जालको विस्तारसँगै नुनको पहुँचमा सहजता भएको हो । सडक नपुगेका पहाडका वस्तीहरूमा अझै पनि नुनको सञ्चय गर्नु परिरहेको छ । तिब्बतको ताख्लाखर तीरबाट त्यहाँका भोटेहरूले आफ्ना भेडा तथा खच्चरहरूमा बोकाएर हाम्रो कर्णाली प्रदेशका गाउँवस्तीहरूमा उनीहरू नुनको व्यापार गर्दथे । तिब्बती सिमानाका हुम्ला र मुगुका भोटेहरू समेत त्यो बेला नुनको व्यापार गर्दथे । वि.सं. २०११ सालसम्म पनि भोटहरूले हाम्रा गाउँघरहरूमा नुन ल्याइरहेका थिए । वि.सं. २००० सालसम्म ती ठाउँहरूमा १ पाथी चामल दिएर ४ पाथी नुन साँटिन्थ्यो । वि.सं. २००८ सालसम्म १ पाथी चामलले ३ पाथी नुन आउथ्यो । वि.सं. २०११ सालसम्म १ पाथी चामलले २ पाथी नुन साँटिन्थ्यो ।

तिब्बतमा चिनले कब्जा जमाउन सुरु गरे पछि तिब्बतीहरू नेपालको बाटो हुँदै भारत तिर लागे । यसरी हिँडेका केही तीब्बती भोटहरूले नेपालमै व्यापार व्यवसाय गर्न थाले । चिनीयाँहरूका विरुद्ध प्रतिरोध गरेकाले यिनीहरूलाई दङ्गली (दङ्गल/प्रतिरोध) भोटे भनेर पनि भनिन्थ्यो । यिनीहरूले कर्णालीका पहाडी समुदाय र गाउँहरूमा नगदमा समेत नुन बेचे । दङ्गली भोटेहरूले एक रुपैयाँको ४ माना नुन दिए । यिनीहरूले मकै, चामल र गहुँसँग बराबरीमा नुन साँटे । कर्णाली प्रदेशमा दक्षिणतर्फको सामुन्द्रिक नुनको पहँचसँग नयाँ मुलुक भनिने दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर समेटिएको हाम्रो पश्चिम तराई र बेलायती साम्राज्यबाट स्वतन्त्रता पाएको भारतको इतिहास समेत जोडिएको छ । जंगबहादुर राणाले सन् १८५७ को इष्ट इण्डिया कम्पनी सरकार विरुद्धको सिपाही बिद्रोह दवाउन सहयोग गरे । यो सहयोगबाट प्रशन्न भएर ब्रिटिश इष्ट इण्डिया सरकारले सन् १८६० मा नेपालले सन् १८१६ को सुगौली सन्धी पश्चात् गुमाएको तराईको ठुलो हिस्साबाट पश्चिम नेपालको दाङ्ग, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाको भूभाग नेपाललाई फिर्ता गर्यो ।

ब्रिटिश इष्ट इण्डिया सरकारबाट यो भूमी फिर्ता पाए पश्चात् जङ्गबहादुर राणाले तत्कालीन सेनामा कार्यरत आफ्ना भाई भतिजा र भारदारहरू लगायतका नातेदारहरूलाई जागिरको ‘खान्गी’ (तलब/पारिश्रमिक) स्वरूप यो भूमी अन्र्तगतका मौजाहरू बितरण गरे । जङ्गबहादुर राणाले नै नेपालगञ्जलाई शहर/बजारका रूपमा स्थापना गराएका हुन् । यसरी इष्ट इण्डिया कम्पनी सरकारबाट फिर्ता आएको जमिन वितरण भए पछि मौजावालाहरूले आ-आफ्नो जमिन आवादी गर्न पहाडतीरबाट र अन्य ठाउँहरूबाट मानिसहरू ल्याई बस्तीहरू बसाउन थाले । योभन्दा अगाडी यी ठाउँहरूमा निकै कम सङ्ख्यामा यहाँका रैथाने जनजातीका मानिसहरूको बसोवास थियो । चुरे र महाभारत पहाड श्रृङ्खला बीचका नदी किनारका दुन, उपत्यका र बण्डालहरूमा भने पशुपालन र खेतीपातीसँगै केही बस्तीहरू आवाद भएका थिए । बिस्तारै तराईका फाँटहरूमा आवादी बढ्दै गयो । सन् १९४७ मा भारत स्वतन्त्र भए पश्चात् दुई देशहरूका बीच धेरै सहजता भयो । नेपाल भारत सिमा वारिपारी वसोवास भएका समान संस्कृती र जातीय पहिचान भएका मानिसहरूको एक अर्का मुलुकका गाउँ ठाउँहरूमा आवागमन हुन थाल्यो । पुस्तैनी रूपमा व्यापार गर्ने भारतीय बनियाँहरू नेपाल सरहद भित्रका ग्रामीण वस्तीहरूमा मालसमानहरू बेच्न आउन थाले । बिस्तारै भारतीय सीमा नजिकका धेरै ठाँउहरूमा स-साना छाप्राहरूमा पसलहरू खुल्न थाले । यी बजारहरूमा नै सर्वप्रथम नुन र मसलाहरू लगायत हातले घरेलु उद्योगहरूमा बनाइएका मालतालहरू बिक्रीका लागि राखिएका हुन् । साना साना छाप्राहरू र पालहरू टाँगेर मालतालहरू बेचविखन गरीने ठाँउहरूलाई भारतको लखनउ लगायतको अवध क्षेत्रमा हटिया भनेर भन्ने गरिन्छ । हाम्रो तराईमा अहिले पनि ठाउँ ठाउँमा लाग्ने यस्ता अस्थायी प्रकृतीका बजारहरूलाई हटिया/हाट बजार भनेर भन्ने गरिन्छ ।

हाम्रो कर्णाली प्रदेशको मध्य पहाडका केही ठाउँका मानिसहरू भैसीपालनका लागी भित्री मदेशका दुन, खोच र नदी किनार तथा चुरेका मैदानहरूमा निकै पहिले पुगिसकेका थिए । तर उनीहरू यी ठाउँहरूमा गर्मी र वर्षामासमा लाग्ने औलोका कारणले त्यहाँ हिउँदमा मात्र बस्ने गर्दथे र गर्मी सुरु हुन थाले पछि आफ्ना चौपायाहरू सहित पहाडतिर उक्लिने गर्दथे । नयाँ मुलुकका रूपमा तराई फिर्ता भई यहाँ खेतीपाती र बसोवासको सुरुवातसँगै पशुपालनका लागि हिउँदमा मात्र आउने केही मानीसहरू समेत बिस्तारै यतै बस्न थाले । हाम्रो कर्णाली प्रदेशमा आफ्ना लागि आवश्यक सामानलाई मालताल भन्ने गरिन्छ । बिस्तारै बिस्तारै तराईका यी ठाउँहरूमा जनजीवनका लागि आवश्यक पर्ने धेरै मालतालहरू पाइन थाले । यहाँको जमिन पनि पशुपालन र खेतीपातीका लागि निकै उर्वर, सहज र राम्रो थियो । यसैले यी विशेषताका कारण कर्णालीका मानिसहरूले यो ठाउँलाई माल/मदेश भनेर भन्न थाले । हिउँदमा भैसी पालनका लागि माल र मदेश झरेका उपल्लो पहाडका मानीसहरू गर्मी लागे पछि औलोज्वरोबाट बच्न र बर्खे खेती लगाउन आफ्नो मुल थलोतिर फर्किन्थे । यसरी यहाँबाट फर्के पछि उनीहरू यहाँका हाटहरूमा पाइने मालताल र हाटहरूको चर्चा आफ्नो मूल थलोमा गर्दथे । यसरी कर्णाली प्रदेशका गाउँवस्तीहरूमा माल र हाटको चर्चा र परिचय स्थापित हुँदै गयो ।

अव बिस्तारै उपल्लो पहाडका मानिसहरू सामुहिक रूपमा हिउँदमा नुन, मसला र त्यहाँ पाइने घर व्यवहारका अन्य मालतालहरूका लागि तराईका मैदानमा स्थापित भएका यिनै हटियाहरूमा आउन थाले । अवधि भाषाको हटियालाई उनीहरूले आफ्नो लवजको हाटमा रूपान्तरण गरे । नुन, मसला र अन्य मालसामानका लागि हाट आउने र हाटबाट फर्किनेहरूलाई त्यसै बेला देखी हटेरु भन्न थालीयो । नेपालको पुर्वदेखी पश्चिम तराईका धेरै ठाँउहरूमा यस्ता कयौं हाटहरू स्थापित हुँदै गए । पश्चिम नेपालमा दाङको कोईलावास, बाँकेको नेपालगञ्ज, बर्दियाको गोला, राजापुर, कैलालीको सत्ती, मुढा, पाताबाणी, कटाँसे, चिसापानी, कञ्चनपुरको टनकपुर/बम्हदेव लगायतका ठाउँहरूमा हटिया स्वरुपका स–साना बजारहरूको सुरुवात भयो । यसरी मालबाट पहाडतिर नुन उक्लिन थाले पछि अव भोटबाट माथिल्लो पहाडका बस्तीहरूमा भोटेहरूले नुन ल्याउन छोडे । पछि उनीहरू पनि नुनको व्यापारका लागि मालतिर नै आउन थाले ।

लगभग वि.सं. २००० साल पछिका हिँउदका पारिला दिनहरूमा मानिसहरू हाट आउने चलनको सुरुवात भएको पाइन्छ । यो त्यो समयको कुरा हो जुन समयमा नगद रुपैयाँ पैसा निकै दुर्लभ हुन्थ्यो । पहाडबाट घिउ, चिउरीको घिउ, चुक, मह, ऊन, अदुवा, अलैंची, सुठो, मास, भट्ट, सिमी, बोडी, बाज, कस्तुरी लगायतका उत्पादनहरू डोकाहरूमा बोकेर तल झर्न थाल्यो । मालबाट नून, मसला, गुण, गोट्टा, खाण, खिप, चेपाउ, रिबन, फलाम र कपडा बुन्ने धागो पहाड चढ्न थाल्यो । यी निकै सामान्य तर अहिलेको जिवनका आधार बस्तु (माल) थिए ।

पश्चिम सेती, बुढीगङ्गा, हिमा, तीला, कर्णाली, बबई, सुलीगाड, भेरी, मादी, झिम्रुक र राप्ती नदीका किनारै किनार र गडतिरै गडतीर माल/तराईमा रहेका बिभिन्न हाटहरूसम्म पुग्ने नयाँ नयाँ बाटाहरू पहिल्याइए । नयाँ नयाँ ठाउँहरूमा नदी तर्ने तारहरू प्रयोगमा आउन थाले । ती नदीहरूमा एक साथ धेरै मानिसहरू, उनीहरूका डोकाहरू र बथान भेडा तथा लुकालहरू अटाउने पटेला नाउहरू (दुई नाउ जोडेर बनाइएको) बन्न थाले । नेपालगञ्जमा राणाकालको अन्तिमतीर सरकारले नै दैलेखबाट आउने हटेरुहरूका लागि दैलेखी बंगला र सल्यानतीर बाट आउने हटेरुहरूका लागि सल्यानी बंगला नामका दुइटा ठुृला ठुला टहरा बनाई दियो । ती टहराहरूमा हटेरुहरू आफ्नो बगाल (समुह) को किनमेल र बेचबिखन नसकीएसम्म बस्दथे । हटेरुहरूको सुबिधाका लागि बनाइएका बंगला नामका टहराहरू पचासको दशकको सुरुवाती दिनहरूसम्म समेत अस्तित्वमा थिए ।


‘है क्या है जिरा फुल्याको छै क्या ……….।
ए है क्या राजापुर चम्क्याको छै क्या ।’

पश्चिममा कर्णाली नदीको तिरैतिर हुम्ला, मुगु, बाजुरा, जुम्ला, कालीकोट, दैलेख, अछाम र सुर्खेत जिल्लाका मानिसहरूको तीन पुस्ता (एक पिंढी) हाट गर्न भारतको तीकुनियादेखि राजापुर, कटासे हुँदै चिसापानीसम्म हाट गर्न आएको पाइन्छ । वि. सं. २००० साल देखि सुरु भएको यो हाट परम्परा करिब करिब २०५० को दशकको अन्तिमसम्म लगभग ६० बर्ष सम्म चलेको पाइन्छ ।

यो त्यही कालखण्डको लोक जिब्रो हो । हाट र हटेरुका कथा, व्यथा, हासपरिहास र पिरती भाव समेटीएका उनीहरूका कयौं यस्ता गाथाहरू सुन्ने सुनाउने परम्परामा अगाडी बढेर इतिहास कायम गर्दै लिपीबद्ध हुन नसकी अलिखित भई बिलुप्त भएर गए । पश्चिममा कर्णाली नदीको तिरैतिर हुम्ला, मुगु, बाजुरा, जुम्ला, कालीकोट, दैलेख, अछाम र सुर्खेत जिल्लाका मानिसहरूको तीन पुस्ता (एक पिंढी) हाट गर्न भारतको तीकुनियादेखि राजापुर, कटासे हुँदै चिसापानीसम्म हाट गर्न आएको पाइन्छ । वि. सं. २००० साल देखि सुरु भएको यो हाट परम्परा करिब करिब २०५० को दशकको अन्तिमसम्म लगभग ६० बर्ष सम्म चलेको पाइन्छ ।

पहाडका आफ्ना ठाउँहरूदेखि यी ठाउँहरूसम्म हाट आउन र जान निश्चित दिनहरू लाग्दथे । जाँदा र फर्किदा कुन कुन ठाउँमा बस्ने भन्ने कुरा तोकिएको हुन्थ्यो । हाट जान सुरु भए पछि एक अर्का ठाउँको बारेमा जानकारी हुन थाल्यो । कुन ठाउँको डोको कस्तो, कहाँको लुगा र भाषा कस्तो भन्ने जानकारी हुन थाल्यो । तराईमा आवादी बढ्दै गयो । बाटाघाटाहरू बन्दै गए । हाट बजारहरू पनि माथी माथी सर्दै जान थाले । राजापुरको हाट गोला गयो । गोलाको हाट पाताभाणी गयो । त्यो हाट त्यहाँबाट कटासे गयो । हाटलाई पनि हिड्नु पर्ने ! कटासेको हाट चिसापानी पुग्यो । सुर्खेत जुम्ला सडक बिस्तार भएसँगै चिसापानी पुगेको हाट त्यही बाट तीतरवितर भयो । चिसापानीबाट हाट तितरबितर भएसँगै पहिलो चोटी हाट आउने मानिसका लागि त्यहाँ मनाइने दैमाछ्या विधि र देउराली माईको गाथा समेत ओझेलमा पर्यो । पहिलो पटक हाट आउने दुई जना किशोरहरूलाई एकसाथ हल गोरु जस्तै नारेर चिसापानी कैलालीमा रहेको देउराली माईको मन्दिर परिक्रमा गराइन्थ्यो । यो विधिमा दैमाछ्यालाई विभिन्न ठट्टा र उटपट्टयाङका व्यवहार गरी उस्को पाका मानिसहरूसँगको यसपछिको व्यवहारलाई सहज बनाइन्थ्यो । विस्तारै मध्य पहाडका बस्तीहरूमा सडक सञ्जाल बिस्तार भई यातायातका साधनहरूबाट मालसमान ढुवानी सुरु भए पछि ठाउँ र यातायातको पहुँच पुगेसँगै क्रमशः हाट परम्पराले बिश्राम लिएको हो ।

हाटहरूमा बस्तु विनिमयमा (मालसँग माल/सामान सँग सामान) कारोबार हुन्थ्यो । मानिसहरूमा एकापसमा निकै आत्मियता, प्रेम र भाईचारा हुन्थ्यो । सामाजिक धर्म, परम्परा र स्थापित मूल्य तथा मान्यताहरू हरेक समाजका लागि नियम र कानुन हुन्थे । पहाडको सामाजिक जीवन निकै सवल र आत्मनिर्भर थियो । पहाडमा नपाइने र बनाउन नसकिने भनेकै नून थियो । यही नुनको आवश्यकता पुरा गर्न पहाड झर्दै, बण्डालहरू छिछोल्दै अनि नदीहरू तर्दै डोको बोकेर तराईका बिशाल मैदानमा ओर्लिएको निश्छल र निश्कपट पहाडी शैल मानवलाई मालभुमीले धेरै कुरा देखायो । सुरु सुरुमा पहाडमा आफैले परिश्रम गरेर उत्पादन गरेका चिजबिजहरू मालसम्म ल्याएर आफ्ना लागि आवश्यक नुन र मसला लगायत त्यो बेला भर्खर आएका केही सामान्य चिजबिजहरू साँटेर नगद धन समेत पहाडहरूमा पुग्यो ।

बिस्तारै मालमा भारतका बिभिन्न ठाउँहरूमा र यही खुलेका कलकारखानाहरूमा बनेका धेरै चिजबिजहरू पाइन थाले । अव एकातिर बस्तु साँटासाटको समय सकिएर नगद कारोबारको समय सुरु भयो भने अर्कोतिर घरेलु उत्पादनको ठाँउमा कलकारखाना र उद्योगहरूमा उत्पादिन सामानहरूले बजारमा बर्चश्व कायम गर्न थाले । यसपछि बिस्तारै मध्य पहाडका मानिसहरूको परनिर्भरता बढदै गयो । तराईबाट बाटो उँभो लागेर हाट हटेसँगै उनीहरूको स्वाबलम्बी अर्थतन्त्रको आत्मनिर्भरता समेत घटेर गयो ।

बिस्तारै मालमा भारतका बिभिन्न ठाउँहरूमा र यही खुलेका कलकारखानाहरूमा बनेका धेरै चिजबिजहरू पाइन थाले । यी चिजबिजहरूले पहाडका मानिसहरूलाई आकर्षित गर्दै लगे । मानिसहरूले नयाँ–नयाँ चिजबिजहरू उपयोग र प्रयोग गर्न थाले । अब पहाडका मानिसहरूले ल्याउने आफ्ना उत्पादनले उनीहरूलाई चाहिने मालका मालतालहरू साँट्न नसकिने भयो । बिस्तारै उनीहरूका आफ्ना मालबस्तुहरू सस्ता र मालका मालतालहरू महँगा हुँदै गए । यहिबाट पहाडको घाटाको व्यापार सुरु भयो । अव एकातिर बस्तु साँटासाटको समय सकिएर नगद कारोबारको समय सुरु भयो भने अर्कोतिर घरेलु उत्पादनको ठाँउमा कलकारखाना र उद्योगहरूमा उत्पादिन सामानहरूले बजारमा बर्चश्व कायम गर्न थाले । यसपछि बिस्तारै मध्य पहाडका मानिसहरूको परनिर्भरता बढदै गयो । तराईबाट बाटो उँभो लागेर हाट हटेसँगै उनीहरूको स्वाबलम्बी अर्थतन्त्रको आत्मनिर्भरता समेत घटेर गयो ।

कर्णालीको तीरैतिर राजापुर, कटासे, बणचौण र चिसापानी हाट आउने हुम्ला, मुगु, बाजुरा, जुम्ला, कालीकोट, दैलेख, अछाम र सुर्खेत जिल्लाका मानिसहरू हाट आउने दिन साईत हेराएर आउने गर्दथे । एक गाउँ वा एक टोलका मानिसहरू एक साथ हाटका लागि प्रस्थान गर्दथे । बाटोका लागि सामल, पकाउने भाँडाकुडा, कपडा र खाजा बोकेरै लैजानु पर्दथ्यो । बाटोका लागि खानमा पोषिला, बोक्नमा हलुका खाद्यान र दालका लागि छिटो पाक्ने फाणो (मासको पिठो) तथा तरकारीका लागि गुन्द्रुक र अन्य सुख्खा तरकारी पनि साथमा लैजाने गरिन्थ्यो ।
घरमा उत्पादन भएको घ्यू हाट जाने अघिल्लो दिन तामाको ठूलो खड्कुलोमा उमालेर सफा बनाइन्थ्यो । उमाले पश्चात् घिउलाई जम्नका लागि छोपेर खुल्ला आकाश मुनी राखिन्थ्यो । यस पछि यो घ्यूलाई पन्युले चोईला काटेर मालुको पोकामा राखी हाट लैजाने डोकामा राखिन्थ्यो । हाट लैजाने डोकाहरूको आकार, प्रकार र स्वरुप अन्य प्रयोजनमा आउने डोकाहरूको भन्दा फरक हुन्थ्यो । डोकाको घेराभन्दा माथीसम्म सामान अटाउन र सामान खस्न नदिनका लागि डोरीले बनाएको जेलो (जाल) लगाइएको हुन्थ्यो । मानिसको पिठ्युँमा पर्ने डोकाको भित्री भागमा काठको फलेक अडकाइएको हुन्थ्यो । अहिलेको ब्याकप्याक झोला बोके जस्तै गरी डोको बोक्न झोलाका फित्ता जस्तै खकन्ना लगाइएका हुन्थे । डोकामा बरियो र लाम्पातो हुन्थ्यो जस्ले टाउकोमा बोक्न सजिलो हुन्थ्यो । पिठ्युँमा भेडाको ऊनबाट बनेको पाखी राखिन्थ्यो । यो पाखीले डोकाको भारबाट ढाड खुइलिनबाट बचाउथ्यो र रातीमा ओढ्न प्रयोग हुन्थ्यो । प्रत्येक हटेरुका हातमा टेक्ने लौरी हुन्थ्यो । सबै हटेरुको एउटा अगुवा हुन्थ्यो त्यो अगुवालाई माझी भनिन्थ्यो । माझी कै निर्देशनमा हटारुहरूको फौज चल्ने गर्दथ्यो । ठाउँ अनुसार यी शब्दावलीहरू फरक हुन सक्छन् तर प्रयोजन उही हुन्थ्यो ।

हटेरुका बाटाका दिनहरू पनि निकै रमाइला हुने कुराहरू बुढापाहरूका कथनबाट थाहा हुन्छ । हटेरुहरूलाई बाटोमा कुनै हतार हुँदैन । पहिल्यै निर्धारित बासहरूमा साँझ छिटै बास बस्ने र बास बसेको ठाउँबाट बिहानको खाना खाएर हिड्ने गरिन्थ्यो । बाटोमा खसी ढालिन्थ्यो । सकभर आफ्नै बगालले नभए एक ठाउँमा बसेका अन्य ठाउँका मानिसहरू समेत खसीमा साझेदारी गर्दथे । एकापसमा भान्सा मिल्नेहरूको भान्सा एउटै हुन्थ्यो । एक गाउँका सबै जातका मानिसहरू एक साथ गएका बेला जातीगत रूपमा भान्साको काम समेत बाँडिएको हुन्थ्यो । हाट अवधिभरी बाटोमा चुल्हा लगाउने र भाँडाकुडाहरू सफा गर्नेहरूले तारको (नदी तरेको) र मासु खाएको पैसामा दामासाही लाग्दैन थियो । खाना पकाउनका लागि प्रत्येकको रासन भर्ने, तिउन, अचार र फाँको (दिउँसोको खाजा) बाँड्ने काम एकथरीहरू मध्येबाट गर्दथे । यीनको पनि बाटोको तारको र मासु खाएको पैसा लाग्दैन थियो । त्यसैगरी दैमाछ्याको पनि तारको र मासु खाएको पैसा लाग्दैनथ्यो । यिनीहरू सबैको तार खर्च र मासुको पैसा माझी पगणी, डण्डी ठोकाउनीको पैसाबाट मिलाइन्थ्यो । नपुगेको पैसा सबै फौजले दामासाहीले तिर्ने गर्दथ्यो ।

घ्यू बेच्ने ठाउँमा घ्यूका सबै भारी जोखेपछि सबैको भुक्तानी दिनु अगाडि घ्यूको जम्मा तौल र धाईको सङ्ख्या हेरेर घ्यू खरिदकर्ताले ‘डण्डी ठोकाउनी’ भनेर केही पैसा थपेर दिने चलन थियो । त्यसैगरी धागाका पिण्डी (हाते तानमा ठिटुवा कपडा बुन्ने धागोका डल्ला) किन्ने ठाउँमा सबैले आवश्यक धागो किनी सके पछि धागो व्यापारीले पनि ‘माछा खानी’ भनेर केही पैसा दिन्थ्यो । यसैगरी कपडा किन्ने पसलको व्यापारीले पनि ‘माझी पगणी’ भनेर माझीका (अगुवा÷नाईके) लागि एक जोर कपडा र दैमाछ्याका लागि एकजना मात्र भए एक जोर कपडा र धेरै जना भए केही पैसा दिने गर्दथ्यो । नुन किन्ने ठाउँमा प्रत्येकले लिने नुन जोखी सके पछि ‘भस्सी मुठो’ भनेर एक एक अञ्जुली नुन त्यत्तिकै लिनेदिने गरिन्थ्यो । भाँडाकुडा किन्ने ठाउँमा पनि माझी र दैमाछ्याका लागि भनेर व्यापारीबाट एक एक वटा थाल वा बटुको लिने चलन थियो । कसैले थाल बटुकाको बदला पैसा पनि दिन्थे । यसैगरी फलाम लगायत अन्य आवश्यक सामान किन्दा पनि केही न केही जिन्सी सामान वा पैसा व्यापारीहरूले हटेरुका माझीलाई दिने चलन थियो । यति मात्र नभएर व्यापारीहरूले यी हटेरुहरू अर्को वर्ष पनि आफ्नै पसलमा सामान किनबेच गर्न आउन भनेर हटेरुलाई तार खर्च भनेर पनि केही रकम दिन्थे ।

यसरी डण्डी ठोकाउनी, माछा खानी, तार खर्च, माझी पगणी, दैमाछ्या पगणी र भस्सी मुठो लगायत व्यापारीले सित्तैमा दिएका जिन्सी तथा नगदी माझीले एक ठाउँमा जम्मा गर्दथे । माझी पगणीमा आएको एक जोर कपडा र भाँडो माझीलाई दिने गरिन्थ्यो । त्यसैगरी दैमाछ्या पगणी र भाँडो दैमाछ्यालाई पनि दिने गरिन्थ्यो । आफुसँग पर्याप्त पैसा नभएर थोरै नुन किनेको आफ्नो धाईको (समुह) मानिसलाई भस्सी मुठोबाट आएको नुन दिएर भारी उसलाई आवश्यक नून पुर्याइन्थ्यो । यो सबै गरी सके पछि बचेको नगदीबाट बाटोमा खसी खाँदा, तार तर्दा र दही खाँदा लागेको पैसा तिर्ने गरिन्थ्यो । यी खर्चमा नपुगेको पैसामात्र दामासाहीका दरले सबै हटेरुहरूबाट उठाउने गरिन्थ्यो ।

हाट र हटेरुका कुरा किस्सा र कहानी भइसके । हाट र हटेरुका कुरा अहिलेको पिढीका लागि किस्सा र कथामा मै रहे पनि यी कुृरा हाम्रा पुर्खाका गौरब गाथा हुन् । अहिलेको समाज यीनै परिश्रमका गाथाहरूको जगमा उभिएको छ । खुट्टामा लगाउने जुत्ता जुराप (मोजा) देखी रङ्गीबिङ्गी कपडा, उज्यालोका लागि मट्टितेल, स्वादका लागि बिभिन्न मसला र मिठा पिपलमेट डोकोमा बोकेरै माथिल्ला पहाडमा पुर्याउने ती हटेरु पुस्ताका सबै हजुरबा, बाबा, काका, आमा र फुफुहरूको पुस्तालाई सतत नमन छ ।

त्यो बेला हाट जाने छोरा र लोग्ने मानिस नभएका घरका छोरी र आइमाईहरू समेत हाट जान्थे । ईष्ट र कुल परम्परा मगमगाएको त्यो बेला हाट जाँदा आउँदा नै पिरती लगाएर घरबार जोरेका कथाहरू समेत सुन्न पाइन्छन् । बाटोमै न्याय निसाफ छिनेका कयौं उदाहरणहरू पछिसम्म समाजका लागि नजिर पनि बनेका पाइन्छन । अब हाट र हटेरुका कुरा किस्सा र कहानी भइसके । हाट र हटेरुका कुरा अहिलेको पिढीका लागि किस्सा र कथामा मै रहे पनि यी कुृरा हाम्रा पुर्खाका गौरब गाथा हुन् । अहिलेको समाज यीनै परिश्रमका गाथाहरूको जगमा उभिएको छ । खुट्टामा लगाउने जुत्ता जुराप (मोजा) देखी रङ्गीबिङ्गी कपडा, उज्यालोका लागि मट्टितेल, स्वादका लागि बिभिन्न मसला र मिठा पिपलमेट डोकोमा बोकेरै माथिल्ला पहाडमा पुर्याउने ती हटेरु पुस्ताका सबै हजुरबा, बाबा, काका, आमा र फुफुहरूको पुस्तालाई सतत नमन छ ।

(शाही कर्णालीका लोक संस्कृतिका विविध पाटासम्बन्धी अध्येता हुन् ।)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको