२ कार्तिक २०७८, मंगलवार

अब वामदेवको बाटो के होला ?




९ भदौ, काठमाडौं । वामदेव गौतमले फेरि एक पटक नेकपा एमालेसँगको साइनो टुटाएका छन् ।

झण्डै २४ वर्षअघि २०५४ सालमा महाकाली सन्धिका विषयमा पार्टीभित्र आन्तरिक विवाद चुलिएपछि उनले एमाले छोडेका थिए । र, चार वर्षपछि २०५८ सालामा एमालेमै फर्केका थिए ।

अहिले उनको बहिर्गमन उतिबेलाजस्तो होइन । उतिबेला उनी एमाले विभाजन गर्नेमध्ये प्रमुख नेता थिए भने अहिले माधव नेपाल पक्षले पार्टी विभाजनको गरिसकेपछि बाहिरिएका छन् ।

अब उनी के गर्लान् ? एमालेवृत्त भित्र र बाहिर कौतूहलताको विषय बनेको छ । वामदेवसँग अब केही सीमित विकल्प मात्रै बाँकी छन् ।

एक, माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा जाने । उक्त पार्टीले एमालेले अंगिकार गर्दै आएको जनताको बहुदलीय जनवादलाई पार्टीको मार्गदर्शक सिद्धान्त माने समाहित हुने शर्त राखेका पनि छन् ।

उनीनिकट सहयोगी भन्छन्, “जबजलाई मार्गदर्शक सिद्धान्त मान्ने हो भने नेपाल नेतृत्वको एकीकृत समाजवादीमा जान अरू कुनै शर्त नराख्ने हामीसँग भन्नुभएको छ ।”

दोस्रो, आफ्नै नेतृत्वमा नया पार्टी गठन गर्ने । जसको सम्भावना ज्यादै न्यून छ । विगतमा एमालेका कुशल संगठक मानिएका गौतमसँग अहिले बेग्लै समूह खडा गरेर जाने ‘स्ट्रेन्थ’ देखिँदैन ।

तेस्रो, सक्रिय राजनीतिबाट बिदा हुने ।

यी तीनमध्ये उनले पहिलो रोज्ने सम्भावना अधिक छ । स्रोत भन्छ, “नेपाल नेतृत्वको पार्टीमा महत्वपूर्ण भूमिका लिने र सरकारमा पनि सामेल हुने उनको आकांक्षा छ । यसबीच उनले राजनीतिक अडान, सिद्धान्तभन्दा बढी पदीय आशक्तिलाई जोड दिएको देखियो । जसले उनको चरित्र ढुलमुले देखियो ।

कतिसम्म भने, उनले राष्ट्रिय सभाको सदस्य प्रधानमन्त्री हुनसक्ने प्रावधान राख्दै संविधान संशोधन गर्न पटक पटक लबिङ गरे । “समकक्षीहरू प्रधानमन्त्री भइसक्दा आफू उपप्रधानमन्त्रीबाटै राजनीतिक रूपमा ‘रिटायर्ड’ हुन नपरोस् भन्ने उहाँ चाहनु हुन्छ, हुन्थ्यो”, ती सहयोगी बताउँछन् ।

सायद त्यसकै लागि उनले विरोधका बाबजुद राष्ट्रिय सभा सदस्यको यात्रा तय गरे । पराजित भएको व्यक्ति जस्केलाबाट राष्ट्रिय सभा पुग्नु नेपाली राजनीतिमा नौलो नभए पनि गौतम सुहाउँदिलो सन्दर्भ थिएन ।

तर, उनी राष्ट्रियसभाबाटै प्रधानमन्त्री बन्न यसरी कस्सिएका थिए कि, कहिले माधव–प्रचण्ड समूहमा पुग्थे त कहिले केपी ओलीनिकट । पाँच दशक लामो राजनीतिक योगदान भएका गौतमले भूमिगत कालमा औधी दुःख गरेका थिए ।

संघर्ष गर्दै संगठन गरेको, हक्की स्वाभावका भएका र शारीरिक रुपमा खट्न सक्ने नेताको परिचय बनाएका थिए । खुला राजनीतिमा आएपछि पटक पटक मन्त्री हुँदै उपप्रधानमन्त्रीसम्म बनेका गौतम पछिल्लो समय अस्थिर देखिए ।

२०२६ सालदेखि कम्युनिष्ट राजनीतिमा लागेर ‘मुक्ति मोर्चा’, माले हुँदै एमाले, एमाले विभाजन गरेर माले, फेरि एमाले हुँदै अब कता जाने हुन् ? केही दिन सायद कुर्नु पर्नेछ । (नेपालभ्यु)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको