२ कार्तिक २०७८, मंगलवार

एप्पल कम्पनीका प्रमुख कार्यकारी टीम कुकलाई ७५ करोड अमेरिकी डलर बोनस




बिबिसी । एप्पल कम्पनीको प्रमुख कार्यकारीका रूपमा १० वर्ष पूरा गरेका टीम कुकले ५० लाख कित्ता शेयर प्राप्त गरेका छन् ।

यूएस सेक्यूरीटीज एन्ड एक्सचेन्ज कमीशनमा शेयर कारोबारको जानकारी दिने एक कम्पनीका अनुसार कुकले तीमध्ये अधिकांश शेयर लगभग ७५ करोड अमेरिकी डलरभन्दा बढी रकममा बेचेका छन् ।

उनलाई दिइएको शेयर एप्पलका संस्थापक स्टीभ जबबाट कम्पनीको नेतृत्व सम्हाल्दा गरिएको सहमतिअनुसार भएको बताइएको छ ।

सहमतिमा उनलाई एप्पलको शेयरले अन्य ठूला कम्पनीको प्रतिस्पर्धामा गरेको प्रगतिको आधारमा शेयर दिइने उल्लेख थियो ।

एप्पलका अनुसार गत तीन वर्षमा कम्पनीको शेयर मूल्य १९१.८३ प्रतिशतले वृद्धि भएका कारण उनले सो सङ्ख्यामा शेयर प्राप्त गरेका हुन् ।

एप्पलको शेयर मूल्य सन् २०११ मा उनी प्रमुख कार्यकारी हुँदाको तुलनामा १,२०० प्रतिशतले बढेको छ ।

आईफोन, आईप्याड र म्याकबुक निर्माता कम्पनीको कुल मूल्य अहिले लगभग २५ खर्ब अमेरिकी डलर बराबर छ ।

गत साल कुकले सन् २०२६ को अन्त्यसम्मका लागि नयाँ तलब सुविधाको विषयमा सहमति गरेका थिए ।

यूएस सेक्यूरीटीज एन्ड एक्सचेन्ज कमीशनमा प्रस्तुत कागजातमा कुकले यो साता करिब एक करोड अमेरिकी डलर बराबरको शेयर परोपकारी संस्थालाई दान गरेको लेखिएको छ । प्रापक संस्थाको नाम भने उल्लेख छैन ।

सन् २०१५ मा कुकले मृत्युअघि आफ्नो सबै सम्पत्ति दान गर्ने बताएका थिए । उनी परोपकारी कार्यमा करोडौँ दान गर्ने व्यक्तिमध्ये पर्छन् ।

उनको अहिले कूल सम्पत्ति एक अर्ब ५० करोड अमेरिकी डलर रहेको ब्लुमबर्ग अरबपति सूचीमा उल्लेख छ ।

उनले भाषणहरूमा एचआईभी÷एड्स, जलवायु परिवर्तन, मानव अधिकार र समानताका विषयमा बोल्ने गर्छन् ।

सन् २०१० मा माइक्रोसफ्टका संस्थापक विल गेट्स र अरबपति वारेन बफेटले गिभिङ प्लेज सुरु गरेर अरबपतिहरूलाई कम्तीमा आफ्नो आधा सम्पत्ति दान दिन आह्वान गरेका थिए ।

यो वर्षको सुरुमा बफेटले थप चार अर्ब अमेरिकी डलरभन्दा बढी दान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको