२ कार्तिक २०७८, मंगलवार

चार वर्षदेखि पानी नपरेपछि कीराफट्याङ्ग्रा खानुपर्ने बाध्यता




बीबीसी । म्याडग्यास्कर जलवायु परिवर्तनका कारण उत्पन्न संसारकै पहिलो भोकमरीको सँघारमा पुगेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

राष्ट्रसङ्घका अनुसार चार वर्षदेखि वर्षा नभएकाले त्यहाँ हजारौँ मानिसहरू अहिले नै डरलाग्दो भोक र खाद्यान्न असुरक्षाबाट प्रभावित भएका छन् ।

यो चार दशकको सबैभन्दा नराम्रो सुक्खा हो । यसबाट देशको दक्षिणी भेगमा बस्ने खेतीपाती गर्ने समुदाय नराम्ररी प्रभावित भएका छन् । उनीहरू बाँच्नका लागि कीराफट्याङ्ग्रा खान बाध्य भएका छन् ।

‘यो भोकमरीजस्तो अवस्था हो अनि यो द्वन्द्वबाट नभएर जलवायु परिवर्तनका कारण आएको हो,’ राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीकी शेली ठकरालले भनिन् ।

अहिले ३० हजार मानिसले पाँचौँ तह अर्थात् सबैभन्दा नराम्रो तहको खाद्य असुरक्षा खेप्नुपरेको राष्ट्रसङ्घको आकलन छ । खेती सुरु गर्ने र बालीनाली भित्र्याउने बेलाबीचको अभाव हुने समय सुरु भएपछि म्याडग्यास्करमा प्रभावित मानिसको सङ्ख्या ह्वात्तै बढ्ने चिन्ता व्याप्त छ ।

‘यो अभूतपूर्व हो । यी मानिसहरूले जलवायु परिवर्तन गराउन त्यस्तो केही गरेका छैनन् । उनीहरू जीवाश्म इन्धन बाल्दैनन्… तर पनि उनीहरूले जलवायु परिवर्तनको आघात खप्नुपरेको छ,’ ठकरालले भनिन् ।

भर्खरै एम्बोआसरी जिल्लाको दुर्गम फ्यान्डिओभा गाउँमा गएको डब्ल्यूएफपीको टोलीलाई मानिसहरूले आफूले टिपेर खाने गरेका कीराफट्याङ्ग्राहरू देखाएका थिए ।

‘म यी कीरालाई सकेसम्म राम्ररी सफा गर्छु तर पानी छँदै छैन,’ चार सन्तान भएकी एक महिला टामारियाले भनिन् ।

‘मेरा बच्चा र मैले आठ महिनादेखि प्रत्येक दिन यही खाइरहेका छौँ किनभने खानका लागि अरू केही छैन अनि पानी नपरेकाले हामी रोपेको कुरा फलाउन सक्दैनौँ,’ उनले भनिन् ।

‘आज हामीसँग सिउँडीको पातबाहेक अरू खानेकुरा केही छैन,’ सुक्खा माटोमाथि बसेकी अर्की महिला बोलले भनिन् । उनका तीन सन्तान छन् ।

उनका अनुसार भोककै कारण उनका पति केही समयअघि बिते । छिमेकीको पनि भोककै कारण मृत्यु भएकाले तिनका दुई बालबच्चालाई खुवाउने जिम्मा पनि आफूलाई आइपरेको उनले बताइन् ।

‘म के भन्न सक्छु र ? खान र बाँच्नका लागि हाम्रो जीवन बारम्बार सिउँडीको पात खोज्दै बित्छ ।’

म्याडग्यास्करमा बेलाबेलामा सुक्खा परिरहन्छ तथा एल नीन्योका कारण उत्पन्न मौसमी अवस्थाका कारण प्रायः विभिन्न खालको प्रभाव परिरहन्छ । यद्यपि विज्ञहरू अहिलेको सङ्कट जलवायु परिवर्तनसँग सोझै सम्बन्धित भएको हुनसक्ने ठान्छन् ।

‘आईपीसीसीको नवीनतम प्रतिवेदन आएसँगै हामीले म्याडग्यास्करमा सुक्खा बढेको देखेका छौँ । अनि जलवायु परिवर्तन भइरहने हो भने यो बढ्ने अपेक्षा छ ।’

‘यसलाई धेरै रूपमा मानिसहरूले आफ्नो शैली फेर्नुपर्ने एउटा बलियो तर्कका रूपमा हेर्न सकिन्छ,’ दक्षिण अफ्रिकाको यूनिभर्सिटी अफ केप टाउनमा कार्यरत म्याडग्यास्करका वैज्ञानिक डा. रोन्ड्रो बारिमलालाले भने ।

क्यालिफोर्नियास्थित सान्टा बार्बरा यूनिभर्सिटीमा वायुमण्डलसम्बन्धी सोही तथ्याङ्क हेर्दै क्लाइमट हज्यार्ड्स सेन्टरका निर्देशक क्रिश फङ्कले म्याडग्यास्करको सङ्कटको वायुमण्डल तात्नुसँग सम्बन्ध भएको पुष्टि गरे ।

उनले म्याडग्यास्करका अधिकारीहरूले जल व्यवस्थापनमा सुधार गर्नुपर्ने औँल्याए ।

‘छोटो समयमै धेरै कुरा गर्न सकिन्छ भन्ने हामीलाई लाग्छ। हामी प्रायः सामान्यभन्दा बढी वर्षा हुने भविष्यवाणी गर्न सक्छौँ अनि त्यो सूचना प्रयोग गरेर किसानहरूले आफ्नो उत्पादन बढाउन सक्छन् । जलवायु परिवर्तन भए पनि हामी शक्तिहीन छैनौँ ।’

अहिले सुक्खाको प्रभाव दक्षिण म्याडग्यास्करका ठूला सहरहरूमा पनि देखा पर्न थालेको छ। त्यहाँ धेरै बालबालिकाहरू सडकमा खानेकुरा माग्दै हिँडेको देखिन्छ ।

टोल्यानारोमा सीड नामक एउटा सामाजिक संस्थामा कार्यरत शीना एन्डोर भन्छिन्, ‘बजारमा मूल्य बढिरहेको छ, तीन–चारगुनाले । मानिसहरू खानेकुरा किन्न आफ्नो जग्गाजमिन बेचिरहेका छन् ।’

उनका एक सहकर्मी लोम्बा हासोएभानाका अनुसार उनी तथा अरूहरू भोकबाट व्याकुल मानिसले आफूले खेती गरेको कसावा नचोरून् भनेर खेतमै सुत्न थालेका छन् । तर त्यसो गर्नु खतरनाक भएको उनले बताए ।

‘तपाँईको ज्यान पनि जान सक्छ । मलाई गाह्रो हुँदै गएको छ किनभने दिनदिनै मैले आफू र परिवारलाई के ख्वाउने भनेर सोच्नुपर्छ,’ उनले भने ।

‘अहिले मौसमबारे केही कुरा भन्न सकिँदैन । यो एकदमै ठूलो प्रश्न हो भोलि के हुन्छ ?’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको