एकीकृत समाजवादीका २९ सांसद र ५५ केन्द्रीय सदस्यले आयोगमा सनाखत गर्ने
८ भदौं, काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) दल दर्ताका लागि २९ सांसद र ५५ जना केन्द्रीय कमिटी सदस्यहरूको निर्वाचन आयोगमा गई सनाखत गर्ने भएका छन् ।
नेकपा (एमाले) बाट विभाजित सो दल दर्ताका लागि बुधबार निर्वाचन आयोगमा एमालेका २९ सांसद तथा ५५ जना केन्द्रीय कमिटी सदस्यले सनाखत गर्ने जानकारी प्राप्त भएको छ। आयोगमा पठाइएको ३१ जना सांसदको नामावलीमध्ये २९ जनाको मात्रै सनाखत हुनेछ । आयोगमा पठाइएको निवेदनमा नेता झलनाथ खनालको पनि नाम भएता पनि निवेदनमा हस्ताक्षर नभएकोले आयोगले सनाखत गर्न नमिल्ने बताएको छ ।
यस्तै, केन्द्रीय कमिटीमा ५७ जनाको निवेदन परेता पनि ५५ जनाको मात्र सनाखत हुने आयोग स्रोतले जनाएको छ। दल विभाजनसम्बन्धी अध्यादेशमा पार्टीको संसदीय दल वा केन्द्रीय कमिटी मध्ये कुनै एकमा २० प्रतिशत पुर्याउनु पर्ने प्रावधान राखिएको छ।
यस प्रावधानअनुसार संसदीय दलमा २० प्रतिशत नपुगे पनि केन्द्रीय कमिटीमा भने पुग्ने भएकोले नेपालले नयाँ पार्टी दर्ताको लागि दिएको निवेदन प्रमाणीकरण हुने र नयाँ दलको मान्यता पाउने देखिन्छ।