२ कार्तिक २०७८, मंगलवार

एमाले एकताका लागि माधवकुमार नेपालका नयाँ प्रस्ताव



७ भदौं, काठमाडौं । निर्वाचन आयोगमा प्रस्तावित नेकपा (एकिकृत समाजवादी) का संयोजक माधवकुमार नेपालले नेकपा (एमाले) सँगको आफ्नो विभाजनलाई रोकी पार्टी एकता बचाउनका लागि केहि महत्वपूर्ण प्रस्तावहरू गरेका छन् । उनले एमाले नेता सोमप्रसाद पाण्डेसँगको भेटघाटमा यस्तो प्रस्ताव राखेका हुन् ।

नेता सोमप्रसाद पाण्डेले प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा भने, ‘भोली विहानसम्म एकताको निम्ति समय बाँकी रहेको छ । माधव नेपालसँग मैले भट्दा अहिले पनि केपी शर्मा ओलीले मिल्ने खालको प्रस्ताव अगि सार्दा पार्टीलाई एकतावद्ध बनाउन सकिन्छ भन्नुभएको छ । उहाँ लगायत १४ जनालाई जव कारवाहीको पत्र गयो त्यसपछि नयाँ खालको सोच राख्नु भएको हो । अँझै पनि उचित वातावरण बनेमा एकताका लागि उहाँ तयार हुनुहुन्छ ।’

पाण्डेका अनुसार नेता नेपालले पहिलो आफूहरूलाई गरिएको कारवाही फिर्ता, दोस्रो २–२ पटकको प्रतिनिधि सभा विघठनका विषयमा धारणा, तेस्रो पुनःबहाली भइसकेको संसदलाई बाँकी समय टिकाउने कुराको ग्यारेण्टी, चौथो १० बुँदे सहमतिलाई अक्षरशः पालना गर्नुपर्ने र पाँचौं उचित जिम्मेवारी दिने कुराको ग्यारेण्टी भएमा अहिले पनि पार्टी एकतालाई जोगाउन प्रस्ताव राखेको बताए ।

टेलिभिजन अन्तरवार्तामा पाण्डेले भने, ‘माधव नेपाललाई एकताका लागि विश्वास हुने खालको प्रस्ताव आउँछ भने अहिले पनि उहाँ एकताका लागि तयार हुनुहुन्छ । तर छलछाम, तिकडम, फट्याई नगरी पवित्र भावनाका साथ कम्युनिस्ट आन्दोलनलाई जोगाउनका लागि आउनु पर्यो भन्ने उहाँको धारणा छ ।’

नेकपा (एमाले) कोे एकता पक्षधर नेता सोमप्रसाद पाण्डे नाताले नेकपा (एकिकृत समाजवादी) का संयोजक माधवकुमार नेपालका सम्धी पनि हुन् । उनले पछिल्लो पटक क्याप्टेन रामेश्वर थापाका घरमा नेपाल र ओली बीच भेटवार्ता गराउने कुरामा महत्वपूर्ण भूमिका गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको