२ कार्तिक २०७८, मंगलवार

एमालेमा बनाउन सबैभन्दा धेरै योगदान माधव नेपालको छः पृथ्वीसुब्बा गुरुङ



७ भदौं, काठमाडौं । नेकपा (एमाले) का सचिव एवम् गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एमाले निर्माणमा माधवकुमार नेपालको सबैभन्दा बढि योगदान भएको बताएका छन् ।

कान्तिपुर दैनिकसँग नेता गुरुङले भनेका छन्, ‘अहिले भएका नेताहरूमा सबैभन्दा धेरै माधव कमरेडले पार्टीमा पसिना बगाउनु भएको हो। २०२५ सालको पोलिटब्युरो सदस्य हो उहाँ। २०५० देखि २०६४ सालसम्म उहाँले पार्टीको नेतृत्व गर्नुभयो। पार्टीका तर्फबाट प्रधानमन्त्री हुनुभयो। धेरै पटक विपक्षी दलको नेता हुनुभयो। नवौं महाधिवेशनमा उहाँले हार्नुभयो, केपीले जित्नुभयो। त्यसपछि माओवादीसँग एकता भयो। यो सबै कुरालाई हेर्नुपर्‍यो नि। केपी भने २०५६ देखि २०७१ सालसम्म पार्टीभित्र प्रतिपक्षी नेताका रूपमा रहनुभयो, पार्टी विभाजन गर्ने कुरा त गर्नुभएन। माधव कमरेड पनि त्यसरी लाग्नुपर्दथ्यो। तर, उहाँ हतारिनुभयो।’

गुरूङले भनेका छन्, ‘फागुन २८ यता जति पनि बैठक र निर्णय भए, ती सबै अदालतले खारेज गरिदियो। त्यसपछि दसौं केन्द्रीय कमिटीको बैठकले पनि ती बैठक र निर्णयको औचित्य छैन भनेर निर्णय गरिसकेको छ। त्यसकारण फागुन २८ को कुरा उठाउनु असान्दर्भिक हो। एकताका लागि दसबुँदेभन्दा बाहिर गएर दुई अध्यक्षको प्रस्ताव गर्‍यौं, त्यो प्रस्ताव मैले नै अगाडि सारेको थिएँ। कुनै न कुनै दिन उहाँको विचारले विजय प्राप्त गर्न सक्थ्यो। तर, उहाँ हतारिनुभयो। धेरै कुण्ठा पाल्नुभयो। पार्टीमा कहिले भनेको जस्तो हुन्छ, कहिले हुँदैन। उहाँमा धैर्यता देखिएन।’

नेता गुरुङले भने, ‘पार्टी अध्यक्षले दसबुँदे सहमति कार्यान्वयन गर्नुहुन्छ, यदि त्यो कार्यान्वयन भएन भने पार्टी एकता बलियो हुँदैन । त्यहाँ अप्ठ्यारो कुरा के छ र ? दसबुँदेभन्दा बाहिर गएर ११ औं बुँदाका रूपमा अर्को अध्यक्ष पनि स्वीकार गरिसक्नुभएको हो। दसबुँदेभन्दा दायाँबायाँ कुरा उहाँले गर्नुहुन्छ भन्ने लाग्दैन।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको