१ आश्विन २०७८, शुक्रबार

भारतका जिउँदा मृतकहरूः ‘जग्गा हडप्न ज्युदालाई मृत्युको प्रमाणपत्र’




बिबिसी । छोरी र ज्वाइँको निधनपछि दुई नातिनातिना हुर्काइरहेका भारतको आजमगढका ७० वर्षीय पडेसर यादव त्यतिबेला छाँगाबाट खसे जब उनलाई सरकारी ढड्डामा आफ्नो मृत्यु दर्ता भइसकेको थाहा भयो ।

अचानक उनीमाथि आइलागेको नातिनातिना हुर्काउने र पढाउने दायित्वका लागि उनले आफू जन्मेको ठाउँमा रहेको पुर्ख्यौली जग्गा बेचेका थिए ।

तर बेचेको केही महिनामै जग्गा किन्ने व्यक्तिले पडेसरलाई फोन गरेर अचम्मको कुरा सुनाए ।

‘उनले त मलाई ठगीको उजुरी परेको कुरा पो सुनाए । मेरा छिमेकीले सबैलाई म मरिसकेको र कुनै ठगले मरेको व्यक्तिको जग्गा बेचेको भनिरहेका रहेछन् ।’

खबर थाहा पाउन साथ जब उनी कलकत्ताबाट हतारहतार उत्तर प्रदेशको आफ्नो गाउँ आजमगढ पुगे, गाउँलेहरू उनलाई देखेर अचम्म मानेजस्ता देखिए ।

‘उनीहरूले मलाई यसरी हेरिरहे की उनीहरूले भूत देखिरहेका थिए । उनीहरूले भने कि तिमी त मरिसक्यौ र काजक्रिया पनि भइसक्यो।’

उनका अनुसार गाउँमा बस्ने उनका भतिज उनीसँग निकै नजिक थिए ।

ती युवा हरेकपटक सहर आउँदा पडेसरलाई भेटेर मात्र फर्कन्थे ।

तर जब एक दिन उनले आफूले गाउँको जग्गा बेच्ने कुरा सुनाए, भतिजको आउजाउ अचानक बन्द भयो ।

भतिजले पडेसर मरिसकेको भनेर पैतृक सम्पत्तिमा हकदाबी गरेको उनले बल्ल थाहा पाए ।

अझै अनौठो के भयो भने भतिजले पडेसरलाई आफूले कहिल्यै नदेखेको र आफ्नो काकाको निधन भइसकेको बताए ।

‘म तिम्रो काका यहाँ जिउँदै उभिएको छु, कसरी चिन्दैनौ भनेँ,’ उनी सम्झन्छन् ।

तर भतिजको सामु उनको केही चलेन । उनी भन्छन्, केही दिन रोएरै बिताएपछि साहस बटुलेँ र मैले जिउँदै मृत बनाइएका व्यक्तिहरूको संस्था गुहारेँ ।

जीवित भएको प्रमाण जुटाउन अनेक जुक्ति

लाल बिहारी मृतक सन् २०१५ मा भाइद्वारा मृतक बनाइएका एक कृषकलाई भेट्दै
लाल बिहारी मृतक सन् २०१५ मा भाइद्वारा मृतक बनाइएका एक कृषकलाई भेट्दै

जिउँदा मृतकहरूको सङ्घ तीन पटकसम्म आफूलाई जिउँदो पुष्टि गर्न बाध्य पारिएका ६० वर्षीय लाल विहारी मृतकले नेतृत्व गरेका छन् ।

अति गरिब परिवारमा जन्मिएका विहारी सात वर्षको उमेरमै साडी बनाउने कारखानामा काम गर्न थाले ।

लेखपढ नजानेका उनले २० वर्षको उमेरमै छिमेकी सहरमा आफ्नै कपडा व्यवसाय सुरु गरे ।

व्यवसायका लागि बैङ्कबाट ऋण लिन उनले आफ्ना बुबाले जोडिदिएको पैतृक जग्गा धितो राख्ने योजना बनाए ।

जब उनी आजमगढकै खालिदावादको स्थानीय सरकारी कार्यालय पुगे, त्यहाँका लेखापालले जग्गाको कागजपत्रसँगै विहारीको मृत्यु दर्ता प्रमाणपत्र निकालेर देखाए ।

‘यो श्यामश्वेत कागजले भन्छ कि तिमी मरिसक्यौ,’ आफूलाई भनिएको कुरा उनी सम्झन्छन् । स्वयं हाजिर भएको कुरा मृत्यु दर्ता प्रमाणपत्र सामु फिक्का भयो ।

उनले आफ्नो मृत्यु दर्तासँगै बुबाले जोडेको पुर्ख्यौली सम्पत्ति सबै काकाको नाममा नामसारी गरिएको थाहा पाए । त्यो कुनै गल्तीले भयो वा उनका काकाले घोटाला गरे उनी अझै पनि निश्चित छैनन् ।

यही चक्करमा उनको व्यवसाय मात्र बन्द भएन उनको परिवारकै बिचल्ली भयो ।

तर उनले हार मानेनन् बरु भारतमा पुर्ख्यौली जग्गा हडप्न जिउँदै मृतक बनाइएका धेरैलाई सङ्गठित गरेर समस्याबारे उजागर गर्ने योजना बनाए ।

एक अनुमानका अनुसार उत्तर प्रदेशमा मात्रै करिब ४०,००० जिउँदै मृतक बनाइएका मानिसहरू छन् ।

आफू जस्तै समस्यामा परेकाहरूलाई सङ्गठित गरेर उनले आन्दोलन सुरु गरे र नाममा पनि विहारी सँगै मृतक थपे ।

आफूलाई जिउँदो साबित गर्न उनले राष्ट्रिय निर्वाचनमा उम्मेदवारी दिएर आफ्नो नाम मतपत्रमा मात्रै छपाएनन्, तीन पटकसम्म भोक हडताल गर्दा झन्डै ज्यानै गुमाए ।

मृत्यु दर्ताको १८ बर्सपछि जीवित पुष्टि

तिलक चन्द धाकड
तिलक चन्द धाकड

उनले एउटा उपाय निकाले । आफ्नै काकाका बच्चाको अपहरण गर्ने ।

गैरकानुनी काम गर्दा प्रहरीले उनलाई पक्राउ गर्नुपर्थ्यो र जीवित भएको स्वीकारिन्थ्यो । किनभने मरेको मानिस पक्राउ गर्ने कुरा हुँदैनथ्यो ।

तर उनको जुक्ति थाहा पाएको प्रहरीले यो मामलामा हात नै हालेन ।

आफू मृतक भएको १८ बर्सपछि विहारीले त्यही सरकारी निकायबाट न्याय पाए ।

उनको निकै रचनात्मक प्रयासपछि आजमगढका नयाँ जिल्ला म्याजिष्ट्रेटले यो विषय पुनः छानबिन गरे र उनी जिउँदो भएको पुष्टि गरिदिए ।

आफ्नो नाममै मृतक थपिसकेका विहारी जत्तिकै भाग्यमानी सबै मृतक बनाइएकाहरू हुन सकेनन् ।

उनका अनुसार कतिपयले आफूलाई जीवित पुष्टि गर्न नसकी आत्महत्या गरे भने कतिपयको मुद्दा टुङ्गो नलाग्दै प्राकृतिक निधन भयो ।

उनी आफ्नो संस्थाले हजारौँ यस्तो समस्यामा परेका मानिसहरूलाई सहयोग गरेको दाबी गर्छन् ।

यस्तै समस्यामा फसेका अर्का व्यक्ति हुन् ७० वर्षीय तिलक चन्द धाकड । उनी मध्यप्रदेशमा आफू हुर्किएको आफ्नै खेतलाई बाहिरबाट हेर्न बाध्य पारिएका छन् ।

सम्पत्ति हडप्न फर्जी मृत्यु दर्ता

लाल बिहारी मृतक
लाल बिहारी मृतक


राम्रो कमाइ र जीवनस्तरको खोजीमा खेत एक जोडीलाई भाडामा लगाएर युवा उमेरमा सहर पसेका उनी लामो समयपछि गाउँ फर्कँदा आफ्नो मृत्यु दर्ता भएर जग्गा समेत अर्कैको नाममा पुगिसकेको थाहा पाए ।

‘एक स्थानीय अधिकारीले म मरिसकेको भन्दा मेरो त सातो गएको थियो,’ उनी सम्झन्छन् ।

उनका अनुसार उनले भाडामा राखेका जोडीले नै उनी मरिसकेको भनेर दर्ता गराएका रहेछन् । र भाडावालकै श्रीमतीले आफू धाकडकी विधवा भएको दाबी गरेर जग्गा बेचिदिइछन् ।

आरोप लगाएका जोडीलाई बीबीसीले सम्पर्क गर्दा उनीहरूले यस विषयमा बोल्न नचाहेको बताए । रोगले थला पर्दै गएका धाकड अब फेरि गुमेको खेत हेर्न फर्कने आशा मार्न थालिसकेका छन् ।

जिउँदै मृतक बनाइएकाहरूको मुद्दा लड्दै आएका कानुन व्यवसायी अनिल कुमारका अनुसार आजमगढमा मात्रै करिब १०० जना जिउँदै छँदा मृत बनाइएका व्यक्ति छन् ।

उनका अनुसार कतिपय मानिसहरू गल्तीले मृतक बनाइएका छन् भने कतिपयको फर्जी मृत्यु दर्ता गराउन सरकारी अधिकारीहरूलाई घुस खुवाइएको छ ।

भारतीय सरकारका प्रवक्ता शैना एनसीले बीबीसीसँग वर्तमान सरकार भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानुनहरू कार्यान्वयनका लागि निकै मेहनत गरिरहेको बताउँछिन् ।

‘यति ठुलो विविधता भएको देशमा केही छुटफुट मामलाहरू होलान् जो बारम्बार आइरहन्छन् तर अधिकांश यस्ता मामलाहरू नरेन्द्र मोदीको सुशासन नीतिपछि समाधान भइसकेका छन्,’ उनले भनिन् ।

यस्ता समस्याको वकालत गरिरहेका अनिल भन्छन् ठगीकै लागि मृतक बनाइएकाहरूले न्याय पाउन निकै मुस्किल छ ।

उनले एक जना मानिसलाई जिउँदो प्रमाणित गर्न छ वर्ष आफूले मुद्दा लड्नुपरेको र मृतक बनाउने विरुद्धको मुद्दामा त्यसको २५ वर्षसम्म पनि अदालतबाट फैसला नआएको बताए ।

जिउँदो प्रमाणित भएको दिन हरेक वर्ष पुनर्जन्म उत्सव

लाल बिहारी मृतक
लाल बिहारी मृतक प्रत्येक वर्ष आफ्नो मृत्यु दर्ता खारेज भएको दिनलाई जन्मदिन जस्तै मनाउँछन्

लाल बिहारी मृतक प्रत्येक वर्ष आफ्नो मृत्यु दर्ता खारेज भएको दिनलाई जन्मदिन जस्तै मनाउँछन् ।

लाल विहारीलाई जिउँदै मृतक बनाइएको ४५ वर्ष पुगिसकेको छ भने उनले आफूलाई जीवित पुष्टि गरेकै दुई दशक कटिसकेको छ ।

त्यसयता उनले हरेक वर्ष आफू जिउँदो पुष्टि भएको हर्षमा पाहुनाहरू बोलाएर उत्सव मनाउने गरेका छन् ।

केकजस्तै आकृति सजाएको ठाउँमा पाहुनाहरू बसाएर उनी केक चाहिँ काट्दैनन् बरु यो समस्याबारे समाजमा छलफल गर्छन् ।

विहारी देशभरिबाट आफूलाई जिउँदो प्रमाणित गर्न उनको सल्लाह माग्दै फोनहरू आउने गरेको बताउँछन् ।

अब जिउँदै मृतक बनाइएकाहरूको संस्था चलाउन आफूसँग पैसा र ऊर्जा दुवै सकिएको बताउने ६६ वर्षीय विहारी संस्था हाँक्ने उत्तराधिकारी नपाएर उत्तिकै चिन्तित छन् ।

राष्ट्रिय सञ्चारमाध्यमले यस्तो समस्यामा परेकाहरूको कुरा नउठाएको र सरकारले घुस लिनेहरूलाई कारबाही नगरेकोमा भने उनको गुनासो छ ।

उनलाई आफूले सङ्घर्ष गरिरहेको लडाइँ पार नलाग्दै मरिने पीर उनी उत्तिकै छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको