२ कार्तिक २०७८, मंगलवार

जुम्लाबाट १० महिनेको अपहरण, अभियुक्त सुर्खेतमा पक्राउ



६ भदौ, सुर्खेत । जुम्लाबाट १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका–३ का २५ वर्षीय दानबहादुर रोकाय रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार यहाँस्थित एयरपोर्ट चोकबाट उनलाई पक्राउ गरेको हो । जिप्रका निरीक्षक कनकबहादुर शाहीले रोकायले शिशुलाई आफूले लिएको स्वीकार गरिसकेको जानकारी दिए । अपहरित शिशु भने अपरिचित मानिसलाई दिएकाले अहिले आफूसँग नभएको बयान उनले दिएको प्रहरी निरीक्षक शाहीले बताए ।

जिप्रका जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जुम्ला हिमा–३ का १९ वर्षीया किशोरीले यही भदौ ३ गते रातिदेखि शिशु हराएको भनेर निवदेन दिएको जानकारी दिए ।

‘घटना निकै गम्भीर र संवेदनशील छ, थापाले भने, ‘अनुसन्धानका क्रममा भएकाले अहिले नै यो हो भन्न सकिन्न । हामीले विभिन्न दृष्टिकोणबाट अनुसन्धान गरिरहेका छौँ ।’

नाटकीय ढङ्गबाट बच्चाको अपहरण

रोकायको अवैध सम्पर्कबाट शिशु जन्मेको बताइएको छ । किशोरीले गत कात्तिक महिनामा शिशुलाई जन्म दिएकी थिइन् । पीडित किशोरीका बुवाका अनुसार किशोरीले यस वर्ष राहदेव मावि मोफ्लाबाट माध्यमिक शिक्षा परीक्षा दिएकी थिइन् । ‘छोरीलाई गाउँपालिकामा तालिम दिन्छु भनेर झुक्याएर दानबहादुरले जबर्जस्ती सम्बन्ध राख्यो’ किशोरीका बाबुले भने, ‘शिशु जन्मेपछि अपहरण समेत गर्‍यो । न्याय माग्न जिल्ला प्रहरी कार्यालय जुम्ला पुगेका छौँ ।’

किशोरीले आफूलाई झुक्याएर शिशु लगेको बताइन् । ‘यही भदौ ३ गते घर नजिकै पसलमा बसिरहेको थिएँ । राति ९ बजेतिर दानबहादुर त्यहाँ आएर मलाई भन्यो, तिम्रो आमालेले बोलाउनुभएको छ ।’ आमाले किन बोलाउनुभयो भनेर हतपत्त शिशुलाई पसलकै ओछ्यानमा राखेर हिँडे । ऊ (दानबहादुर) मसँग आएन । पछि आमाले नातिलाई किन छोडेर आइस्, छिटो यही लिएर आइज भनेर म पसल जाँदा शिशु त्यहाँ देखिनँ,’ उनले भनिन्, ‘शिशु हराएपछि करायौँ । स्थानीय प्रहरीलाई गुहार्‍यौँ । अहिलेसम्म शिशु भेटिएको छैन ।’

किशोरीले रोकायले नाटकीय तवरबाट आफ्नो शिशुलाई अपहरण गरेको आरोप रोकायमाथि लगाएकी छन् । उनले भनिन्, ‘मलाई झुक्याएर नाटकीय ढङ्गले शिशुको अपहरण गरियो ।’

किशोरीले दोषीमाथि कारबाही गरी आफ्नो शिशु सम्पर्कमा ल्याइदिन र आफूलाई न्याय दिन सरकारसँग आग्रह गरेकी छिन् । आरोपित युवा पक्राउ परिसकेकाले थप अनुसन्धानका लागि आज सम्बन्धित जुम्ला पठाइने सुर्खेत प्रहरीले जनाएको छ । (रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको