२ कार्तिक २०७८, मंगलवार

ओलीजीको पार्टी एकता गर्ने चाहना हो भने मंगलबारसम्मको समय छः घनश्याम भुसाल



६ भदौं, काठमाडौं । नेकपा (एमाले) उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले साँच्चै पार्टी एकता गर्न चाहने हो भने मंगलबारसम्म अझैं समय रहेको बताएका छन्।

भुसालले ओली पार्टी एकता चाहनुहुन्छ कि विभाजन चाहनुहुन्छ भन्ने कुरा दुनियाँको सामु त्यसपछि अझै प्रष्ट हुने समेत बताएका छन् । उनले भने, ‘ओलीजीले १० बुँदे कार्यान्वयन गरेनन् भने योभन्दा ठूलो विद्रोह हुन्छ । मैले के गरुँला, हामी नौ जनाले के गरौंला त्यो फरक छ। तर १० बुँदे पनि लागू नगर्ने ओलीसँग मान्छे को रहन्छन्?’

यदि ओलीले १० बुँदे नमाने एउटा सामान्य स्वाभिमान भएको कार्यकर्ता कोही पनि ओलीसँग रहँदैन भन्ने जिकिर भुसालले गरे । उनले आफूहरू आइतबार नै बसेर मध्यावधि मूल्यांकन गर्ने बताए।

भुसालले पार्टी एकतामा आलटाल पनि ओलीले नै गरिरहेको दाबी गरे। उनले भने, ‘अहिले पनि उहाँले छिट्टै निर्णय गरेमा एमाले बचाउने ठाउँ चाहिँ छ। यसका लागि २०७५ जेठ २ अघिको अवस्थामा पार्टीलाई फर्काउनुपर्छ। त्यसका लागि १० बुँदेको अक्षरशः कार्यान्वयन हुनुपर्छ। फागुन २३ यता भएका सबै निर्णय खारेज गर्नुपर्छ। माधव नेपालसहित १४ जना सांसदमाथि भएको कारबाही अविलम्ब फिर्ता हुनुपर्छ ।’

माधव नेपालले नेकपा (एकीकृत समाजवादी)पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइ सकेका छन्। निर्वाचन आयोगले बुधबार सनाखतका लागि बोलाएको छ। १० बुँदे लागू नगरे आफूहरूलाई नै नेकपा (एमाले)मा बस्न गाह्रो हुने भुसालले स्पष्ट पारे। ओलीको व्यक्तिवादी सोचकै कारण पार्टी यो अवस्थामा पुगेको उनको ठहर छ।

भुसालले भने, ‘ओलीजीले अनधिकृत रूपमा पार्टी कब्जा गरेका छन्। त्यसले गर्दाखेरी ओलीजी समस्या समाधान गर्न चाहँदैनन् भन्ने देखिन्छ। उहाँ बाहेकको नेकपा एमालेको पूरा पंक्ति एकताको पक्षमा देख्छु।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको